‘गीताको निचोडमा लेखिएको छ, महाभारतको युद्ध सकिएपछि कृष्णले युधिष्ठिरलाई बोलाएर भने, ‘अब जो–जो बन्धुबान्धव मारिए उनीहरूको मृत्युसंस्कार गर्नु’, युधिष्ठिरले सोधे, लडाइँमा मारिनेहरू सिधै स्वर्ग जान्छन्, उनीहरूको काजकिरिया गर्नु पर्दैन भनेर तपाईंले भन्नु भएको होइन ? यो प्रश्नको जवाफ दिँदै कृष्णले भने, ‘कर्मकाण्ड भनेको लोकाचार हो, तिमी अहिले राजा छौ, राजाले संस्कार बचाउँछन् भन्ने सन्देश दिएर लोकलाई अनुशासनमा राख्नका लागि तिमीले यो काम गर्नुपर्छ’
केही दिनअघि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युरोपेली मुलुक र दक्षिण एसियाली मुलुकहरूको तुलना गरे । युरोपेली मुलुकहरूको जिडिपी विश्वमै सबैभन्दा बढी छ तर, दक्षिण एसियाली मुलुकहरूको जिडिपी विश्वमै कम छ।
युरोपेली मुलुकहरूले भौतिक पूर्वाधार विकासका काम धेरै पहिले सम्पन्न गरिसकेका छन्। ती देशहरूमा जनताका आधारभूत आवश्यकता पूरा गर्ने जिम्मेवारी सरकारले लिन्छ । तर, दक्षिण एसियाका मुलुकहरूले भौतिक पूर्वाधार विकासको काम १० प्रतिशत पनि सम्पन्न गरेका छैनन् ।
आफ्नो आधारभूत आवश्यकता पूरा नभएकै कारण दक्षिण एसियाका जनता आपसी द्वन्दमा होमिएका छन् । हावापानी, प्राकृतिक स्रोत तथा जनशक्तिको कुरा गर्ने हो भने युरोपेली मुलुकहरूको तुलनामा दक्षिण एसियाली मुलुकहरू कयौँ गुणा धनी छन् ।
दक्षिण एसियाली मुलुकहरूमा वर्षभरि नै खेती हुनसक्ने हावावानी तथा उब्जाउशील माटो छ । तर, युरोपेली मुलुकहरूमा वर्षको ६ महिना मात्रै खेती हुनसक्ने हावापानी छ। दक्षिण एसियाली मुलुकहरूमा श्रम गर्नसक्ने जनसंख्या ६० प्रतिशतभन्दा माथि छ तर युरोपेली मुलुकहरूमा श्रम गर्नसक्ने जनसंख्या ३० प्रतिशत भन्दा कम छ।
दक्षिण एसियाली मुलुकमा उपभोग्य सामान खपत हुने निकै ठूलो बजार छ तर जनसंख्या अत्यन्त कम रहेकाले युरोपेली मुलुकहरूमा बजार छैन । प्राकृतिक स्रोत साधन तथा हावापानी र मौसममा ठगिएका युरोपेली मुलुकहरू त्यति धेरै माथि पुग्नु र सबैखालको स्रोत तथा अनुकूल मौसम तथा हावापानी रहेको दक्षिण एसिया यति धेरै तलपर्नुको कारण के होला ?
भन्ने सन्दर्भमा वेलाबखत चर्चा हुने गर्दछ तर विभिन्न स्वार्थका कारण सत्य कुरा बोल्न कुनै नेता तयार नहुने अवस्था छ । तर, पूर्वप्रधानमन्त्री डा. भट्टराईले तितै भए पनि सत्य कुरा बोले । उनले भने, ‘युरोपेली मुलुक त्यतिअघि पुग्नु र हामी नेपाली यतिविधिपछि पर्नुको मुख्य कारण हो, धर्मका नाममा हामीले अंगालेको कुसंस्कार । जबसम्म यस्ता कुसंस्कारबाट हामी मुक्त हुन सक्दैनाैँ, तबसम्म हाम्रो अवन्नति जारी रहन्छ ।’
यो सत्य कुरा बोलेबापत यतिवेला मुलुकको एउटा तप्काले डा. भट्टराईमाथि ‘क्रिस्चियनको डलर खाएर हिन्दू धर्म संस्कृति मास्न खोजेको, आरोप लगाउँदै गाली गलौज सुरु गरेको छ। रूढीवादी परम्परा र कुसंस्कारलाई धर्मको नाम दिएर सामन्तहरूले शताब्दीऔंदेखि जनतामाथि शोषण गर्दै आए । मुलुकमा अहिले सामन्तवादी प्रणाली हटेर लोकतन्त्र आएको छ तर रूढीवादी परम्परा तथा कुसंस्कार हटाउन सकिएको छैन्।
अझै पनि नेपाली समाजको एउटा तप्का कुसंस्कारको पक्षमा दरोसँग उभिएको छ । जातिय विभेद, लैंगिक विभेदलाई कानुनतः हटाइएको छ तर संस्कारमा हटाउन सकिएको छैन। अझ सबैभन्दा धेरै समय त कर्मकाण्डका नाममा खर्च भइरहेको छ । मान्छे जन्मेदेखि मृत्यु पछिसम्म ११ वटा संस्कार गर्नुपर्छ । यी संस्कारका लागि यति धेरै समय र आर्थिक स्रोत खर्च भइरहेको हुन्छ, त्यसको लेखाजोखा छैन ।
संस्कार जोगाउनु पर्छ तर संस्कार जोगाउने नाममा समय र आर्थिक स्रोतलाई फजुल खेर फाल्नु हुन्न । उदाहरणका लागि यतिवेला चर्चामा आएको मृत्यु संस्कारकै कुरा गरौँ । मृत्युपछि १३ दिन काजकिरिया गर्ने हाम्रो संस्कार छ । पहिले–पहिले यातायातको सुविधा थिएन, सञ्चारको सुविधा पनि थिएन । बन्धुवान्धव, नातागोता, इष्टमित्रहरू सीमित रूपमा भेला हुन्थे । यसरी भेला हुनका लागि ५÷७ दिनको समय चाहिन्थ्यो ।
तर, पनि सीमित मान्छे जम्मा हुन्थे । थोरै मान्छेको मात्रै समय खर्च हुन्थ्यो । तर, अहिले यातायात तथा सञ्चारको प्रचुरताका कारण सबै बन्धुबान्धव तुरुन्तै भेला हुन्छन् । उनीहरूको पनि १३ दिनसम्मको समय खर्च हुन्छ । घरबाट टाढा रहेका छोराछोरीका लागि पनि उतिवेला १३ दिनको समय सान्दर्भिक थियो । पैदल हिँडेर आउनु पथ्र्यो ।
एउटा छोराले किरिया गर्दै गर्ने र बाँकी छोराहरू ९ दिनभित्र सामेल भएपनि हुने विधि अपनाइएको थियो । तर, अब पनि त्यही १३ दिने मृत्यु संस्कारलाई निरन्तरता दिएर समय खेर फाल्नु जरुरी छ, र ? भन्ने प्रश्न उठ्नु स्वाभाविकै हो । अमेरिका, अस्ट्रेलियाबाट समेत दुई दिनमा आउन सक्ने अवस्था छ । एक मिनेटमा खबर पुग्ने अवस्था छ । मृत्युसंस्कार त एउटा उदाहरण मात्रै हो । अब तिज आउन करिब दुई महिना बाँकी छ ।
तर, अहिलेदेखि नै राजधानीका प्राय पार्टी प्यालेसहरू साउन र भदौका लागि बुक भइसकेका छन् । तिजको मौलिकता हराउँदै गएको छ तर कुसंस्कार बढ्दै गएको छ । रूढीवादी तथा कुसंस्कार धर्म होइन, शास्त्रहरूको पूजन र अन्धभक्ति पनि धर्म होइन, शास्त्रका दृष्टान्त र मर्मलाई समयसापेक्ष व्यवहारमा उतार्नु चाहिँ धर्म हो ।
शास्त्रले परोपकार गर्नेलाई पुण्य मिल्ने र परपीडकको दुःखद अन्त्य हुने पापीको दृष्टान्त दिएको छ । उदाहरणका लागि सबैभन्दा लोकप्रिय धर्मग्रन्थ महाभारतलाई लिन सकिन्छ । महाभारतमा दुईपक्ष छन्, परपीडक पक्ष कौरव र परोपकार पक्ष पाण्डव । कौरव पक्षमा त्यस युगका विद्वान्, गुरु, महात्मा, परिवारका सर्वश्रेष्ठ व्यक्ति र ज्ञानीहरूको साथ थियो । पाण्डवका पक्षमा केवल कृष्णको साथ थियो ।
त्यस पारिवारिक द्वन्द्वमा पाण्डवहरूले जतिसुकै लचकता देखाएपनि कौरव पक्षले त्यसको सम्मान नगरेपछि युद्धको घोषणा भयो । जुन युद्ध १८ दिनसम्म चलेको थियो । त्यस युद्धले एउटा युगकै अन्त्य गरेको पनि मानिन्छ । त्यस युद्धका तीन महत्वपूर्ण पात्र हुन्, ‘अर्जुन, कर्ण र कृष्ण ।’ सुद्रपुत्र (सूर्यपुत्र हुन् भन्ने कृष्ण र कुन्तीबाहेक अरूलाई थाह थिएन) भएका कारण सर्वत्र अपमान भोग्ने गरेका महाज्ञानी, महादानी, धनुर्धर कर्ण, दुर्योधनको सानो सद्भावका कारण कौरव पक्षबाट युद्धमा सामेल भए ।
दुर्योधनको घमण्ड, अन्याय, छल र पापसँग उनको आत्मा कहिल्यै सहमत हुँदैनथ्यो । तर, उनी जबरजस्ती आफ्नै आत्माको आवाजलाई चुप लगाउँथे । कतिपय अवस्थामा उनको हृदय पग्लिन्थ्यो, शरीरमा कम्पन उठ्थ्यो, आँखाबाट आँसु बर्सिन्थे तथापि, मौन रहन्थे । संस्कृतमा श्लोक नै छ, ‘मौनम् स्वीकृत्य लक्षणम् ।’ एक सर्वश्रेष्ठ धनुर्धर योद्धा कर्णको अन्त्य उनी निशस्त्र भएका बखत मात्र सम्भव थियो ।
तमाम पापका कार्यमा मौनतापूर्वकसाथ दिएर पापको भागीदार भएका कारण धर्मयुद्धको नियम पालना नगरेरै पनि कर्णको अन्त्य गर्नु आवश्यक छ भनी अर्जुनलाई बुझाउन कृष्णलाई निक्कै हम्मे परेको थियो । कर्णको आत्मा जहिले पनि सही बोल्थ्यो । तर, उनी निर्णय लिन गल्ती गर्थे । पापमाथि पापको बोझ थपिरहेका थिए । कृष्णले अर्जुनलाई भनेका छन् कि, कर्णको पवित्र आत्मालाई थप पापको भार नबोकाउन र गरेका पापको भारबाट मुक्ति दिलाउन उनीमाथि प्रहार गर्नैपर्छ ।
द्रौपदीलाई राजसभामा सारी खोलेर अपमान गर्ने दुर्योधनको जाङ तोडेर निस्किएको रगतबाट द्रौपदीको कपाल धोएर अपमानको बदला दिइएको थियो महाभारतमा । त्यस कृतिलाई सत्य स्थापनाका खातिर गरिएको सही निर्णय भनी धर्मग्रन्थका रूपमा ८१ प्रतिशतभन्दा बढी हिन्दूहरू भएको हाम्रो देशमा दिनरात पूजा गरिन्छ, श्रद्धा गरिन्छ, ढोगिन्छ । तर, यहाँ अहिले द्रौपदीमाथि भन्दा घोर जघन्य अपराध महिलामाथि भइरहेको छ ।
द्रौपदी प्रकरण भनेको महिलामाथि अन्याय नहोस् जसले अन्याय गर्छ, उसले कौरवको नियती भोग्नु पर्छ, भन्ने सन्देश हो । कर्णको सन्दर्भले दिने शिक्षा हो जातिय विभेद नगर । महाभारतको कथा पढिन्छ, किताब पूजिन्छ तर सन्देश ग्रहण गरिन्न । महाभारतको एउटा खण्ड हो श्रीमद्भागवत् गीता । गीता पढ्ने र पूज्ने कतिपय व्यक्ति नै यतिवेला कुसंस्कारका संरक्षक बनेका छन् ।
गीताको निचोडमा लेखिएको छ, महाभारतको युद्ध सकिएपछि कृष्णले युधिष्ठिरलाई बोलाएर भने, ‘अब जो–जो बन्धुबान्धव मारिए उनीहरूको मृत्युसंस्कार गर्नु’, युधिष्ठिरले सोधे, लडाइँमा मारिनेहरू सिधै स्वर्ग जान्छन्, उनीहरूको काजकिरिया गर्नु पर्दैन भनेर तपाईंले भन्नु भएको होइन ?’ यो प्रश्नको जवाफ दिँदै कृष्णले भने, ‘कर्मकाण्ड भनेको लोकाचार हो, तिमी अहिले राजा हौ, राजाले संस्कार बचाउँछन् भन्ने सन्देश दिएर लोकलाई अनुशासनमा राख्नका लागि तिमीले यो काम गर्नुपर्छ ।’
सबै धर्मग्रन्थको फेद भनेको वेद हो भनिएको छ । वेदले सूर्य, चन्द्र, धर्ती, अग्नि, वायु, वर्षा जस्ता यावत कुराहरूलाई पूज्न सिकाउँछ, जुन सम्पूर्ण जीवहरूको जीवनको स्रोत हुन् । तर, कँही पनि वेदले मानवीय भेदभावलाई प्रश्रय दिएको छैन । यो कुरा हाम्रा पण्डितहरू किन आम मानिसलाई बुझाउन सक्दैनन् ? समयको कालखण्डहरूमा विभिन्न व्यक्ति वा समूहको निहित फाइदाका लागि यस्ता वर्ग विभाजनहरू गरिएको कुरा किन उनीहरू बुझाउन सक्दैनन् ?
कि उनीहरूले आफू पनि बुझेका छैनन् ? जबसम्म धर्मका यी ठेकेदारहरूले यस्ता कुराहरू आफू बुझ्दैनन् र समाजलाई बुझाउन सक्दैनन् तबसम्म समाजको युगान्तकारी परिवर्तन हुन सक्दैन । वास्तवमा धर्मगुरुहरूका लागि पनि यो सुनौलो अवसर हो, हिन्दू धर्मलाई पुनर्भाषित गरौँ, सामाजिक कुसंस्कार र सामाजिक विभेदलाई निर्मूल पारौँ अनि मात्र नयाँ नेपाल बन्छ ।
प्रतिक्रिया