हरि लम्साल
‘शिक्षा एक निरन्तर तथा जीवनपर्यन्त सिकाइको प्रक्रिया हो ।’ शिक्षा एउटा त्रिकोणात्मक प्रक्रिया हो, जहाँ शिक्षक, विद्यार्थी र समाजबीच सिकाइ, सक्षमता अभिवृद्धि र सामाजिकीकरणका लागि निरन्तर अन्तक्र्रिया भइरहेको हुन्छ । शिक्षण सिकाइ क्रियाकलापले एउटा व्यक्तिको व्यक्तित्व र नेतृत्व विकास तथा जीविकोपार्जनका लागि पेसा व्यवसाय तथा उद्यम छनौटमा गहिरो प्रभाव पार्छ । शिक्षा आर्जन केवल विद्यालय तथा विश्वविद्यालयको कक्षाकोठामा मात्र हुँदैन । यो त व्यक्ति र समाजको हरेक गतिविधि र क्रियाकलापबाट हुन्छ । शिक्षालय एक माध्यम हो, जहाँ हरेक व्यक्तिलाई व्यक्तिगत विकास, सामाजिकीकरणको अभ्यास र संस्कृतिको परिपालक, जीवन निर्वाहको एउटा विज्ञान तथा कला र सामाजिक रूपान्तरणको प्रगतिशील साधनको ज्ञान, सीप तथा संस्कारको आर्जन, अनुभूति तथा अभ्यास गराइन्छ ।
नेपालको संविधानको धारा ३१ ले सबै नागरिकलाई आधारभूत तह कक्षा ८ सम्मको शिक्षा निःशुल्क तथा अनिवार्य र कक्षा १२ सम्मको शिक्षा निःशुल्क पाउने आधारभूत मौलिक हकको रूपमा स्थापित गरेको छ । यसको अर्थ हुन्छ, कक्षा १२ सम्मको माध्यमिक शिक्षा सबै नागरिकलाई उपलब्ध गराउन र उनीहरूको गुणस्तरीय शिक्षामा समान पहुँच स्थापित गर्नु राज्यको दायित्व र जिम्मेवारी हो ।
एसएलसीलाई पहिला विद्यालय शिक्षाको फलामे ढोका भनिन्थ्यो । एसएलसी परीक्षा उत्तीर्ण गरेपछि मात्र उच्च शिक्षाको बाटो खुल्थ्यो । विद्यालय शिक्षाको पुनर्संरचनापछि अब एसएलसी एसइईमा परिणत भएको छ । विद्यार्थी र अभिभावकको मनोविज्ञानमा नकारात्मक प्रभाव नपरोस् भन्नका लागि एसइई परीक्षाको मूल्यांकनमा अक्षरांकन पद्धति लागू गरिएको छ । विद्यार्थीको रुची, क्षमता र आर्थिक अवस्थाका आधारमा विषय छनौट गर्नुपर्छ । तर, हरेक विषय पढ्नका लागि न्यूनतम मापदण्ड पूरा गरेको हुनुपर्छ ।
ग्रेडिङस्टिम लागू गरेपछि एसइईमा कोही फेल नै हुँदैनन् भनिए पनि डी प्लसभन्दा कम जिपीए ल्याउने फेलसरह नै हुन्छ । एसइईपछिको ११ र १२ कक्षा उच्च शिक्षाका निम्ति हुने पूर्वतयारीको कक्षा हो । पछि आफू के बन्ने हो, कुन क्षेत्रमा करियर बनाउने हो भन्ने निर्णय गरी विषय छनौट गर्ने पनि यही वेला हो । एसइईपछि ११ कक्षामा भर्ना हुन चाहने विद्यार्थीहरूले शिक्षालयको भौतिक पक्षभन्दा प्राज्ञिक पक्षलाई हेर्नुपर्दछ । योग्य शिक्षक, व्यवस्थित शिक्षण, विगतको शैक्षिक उपलब्धि, प्रविधिको प्रयोग, विद्यार्थीमैत्री वातावरण, उपयुक्त पुस्तकालय, प्रयोगशाला, चमेनागृह र अतिरिक्त क्रियाकलापको सुनिश्चितता र उचित शुल्कजस्ता पक्षतिर ध्यान दिनु उचित हुन्छ ।
नेपालमा अहिले हरेक कार्यालय, विकासका क्षेत्रहरू, सार्वजनिक निकाय, संघ–संस्था, स्थानीय सरकार तथा उद्योग–कलकारखानमा असल व्यवस्थापक, लेखापाल, प्रशिक्षक, शिक्षक, सामाजिक परिचालक, सहजकर्ता, योजनाकार, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, वकिल तथा विभिन्न क्षेत्रका प्राविधिकहरूको खाँचो छ ।
हामीसँग ३५ हजार विद्यालय, ३६ हजार प्रारम्भिक बाल विकास केन्द्र, १ हजार क्याम्पस, ४० हजार सामुदायिक वन, ४० हजार सामुदायिक संघ÷संस्था, ४५ हजार सहकारी, ६० हजार उपभोक्ता समिति, २२ हजार बाल क्लब, १० हजार युवा क्लब, ४० हजार आमा समूह तथा महिला निगरानी समूह, पाँच हजार मेलमिलाप केन्द्र, २५ सय सामुदायिक सिँचाइ केन्द्र, १० हजार कुखुरा पालन केन्द्र, ४ हजार कृषि सेवा केन्द्र, एक हजार साना–मझौला जलविद्युत् केन्द्र, ६ हजार ७ सय स्थानीय सरकार अन्तर्गत वडा समितिहरू, ५ सय अस्पताल तथा ५ हजार स्वास्थ्य चौकी, २ हजार छापाखाना, २ हजार पत्रपत्रिका केन्द्र, ५ सय एफएम रेडियोहरू, पचासौँ टेलिभिजन, ४० हजार घरेलु उद्योग, ३० हजार रेस्टुरेन्ट र १० हजार होटल तथा अन्य लाखौँ व्यवसायमा रोजगारीका अवसरहरू यत्रतत्र छन् ।
यी हरेक श्रम बजारले ज्ञान र सीप मात्र खोज्दैन, श्रम बजारले त कामदारको व्यक्तित्व, सञ्चार शैली, मनोवृत्ति, सामुदायिक भावना र नेतृत्व गुणलाई खोजिरहेको छ । केवल विद्यार्थीलाई सिकाइको भोक जगाउन आवश्यक छ । हरेक विषय र क्षेत्रमा योग्य, सक्षम, जिज्ञासु र सहकार्यमा विश्वास गर्ने जनशक्तिको खाँचो छ । त्यसैले यसतर्फ ध्यान दिई एसइईपछिको छनौट गर्नुपर्दछ कि ?
अहिले एसइई गरेका र उच्च अंक ल्याएका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक शिक्षामा आकर्षण गर्न सकियो भने समृद्ध नेपाल बनाउन कुनै कठिनाई नपर्ने महसुस गरिँदै छ । जबकि, प्राविधिक शिक्षा आवश्यक छ भनेर स्वीकारिएको जम्मा ३० वर्ष (२०४५ सालदेखि सुरु गरिएको) भयो । वास्तवमा प्राविधिक विषय निःशुल्क पढ्न पाउनुपर्छ । अन्य मुलुकमा नौ कक्षा पास भएका र १५ वर्ष पूरा गरेका विद्यार्थीलाई उद्योगले पढाइदिन्छ । उद्योगसँग सहकार्य नगर्दासम्म प्राविधिक शिक्षामाथि उठ्न सक्दैन । सिटिइभिटीका सदस्य–सचिव पुुष्परमण वाग्लेले भने, ‘एसइई परीक्षा पूरा गरेका विद्यार्थीले प्राविधिक शिक्षा अध्ययन गर्न चाहन्छन् भने डिप्लो तहमा कृषि, इन्जिनियरिङ, स्वास्थ्य, होटल व्यवसाय र अन्य सरोकारका विषयमा ४० वटा पाठ्यक्रम छ ।
यी शैक्षिक कार्यक्रम देशभरि नै सञ्चालन हुन्छन् । त्यसैगरी त्यस्ता विद्यार्थीलाई टिएसएलसी गर्न कृषि, इन्जिनियरिङ, स्वास्थ्य, होटल व्यवसाय र अन्य सरोकारका विषयमा २५ वटा पाठ्यक्रम छन् । सिटिइभिटी आंगिक विद्यालय ३४ वटा छन् । साझेदारी स्कुल पाँच वटा र १ सय ८५ सामुदायिक विद्यालयमा प्राविधिक विषय सञ्चालित गर्दै आइरहेका छौं । ४ सय २९ वटा निजी विद्यालय–संस्थालाई सम्बन्धन प्रदान गरिएको छ । नर्सिङ काउन्सिलले नर्सिङमा महिलाहरूले मात्र अध्ययन गरिरहेकोमा १५ प्रतिशत पुरुषले पनि अध्ययन गर्न पाउने भनेर निर्णय गरेको छ । प्राविधिक शिक्षा पढेपछि रोजगारी पाउने सुनिश्चित रहन् ।’ यसर्थ, प्राविधिक तथा व्यावसायिक शिक्षा दिई विज्ञान विषयमा अध्ययन गराउनभन्दा यसतर्फ जोड दिनुपर्दछ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) का अध्यक्ष रमेश सिलवालले भने, ‘विद्यार्थीलाई नियमित पढाइका साथै उभित्र लुकेको प्रतिभा प्रस्फुटन गराउने शैक्षिक संस्था रोज्नु उत्तम हुन्छ । विद्यार्थीलाई भविष्यमा कुनै सीप सिकाएर जीवन निर्वाह गर्न सिकाउने शिक्षा अहिलेको आवश्यकता हो । राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्यालले भनिन्, ‘कक्षा ११ मा भर्ना भएका विद्यार्थीमध्ये ४५ प्रतिशतको हाराहारीमा विद्यार्थी शिक्षा विषयतिर, ३० प्रतिशत विद्यार्थी व्यवस्थापनतिर तथा विज्ञान विषय विद्यार्थी १४ प्रतिशत छन् । बाँकी विद्यार्थी मानविकी र समाजशास्त्रतिर भर्ना भएको देखिन्छ ।’ नेपालय कलेजका प्रिन्सिपल मनोज थापाले भने, ‘व्यवस्थापन यस्तो विषय हो, जसले जागिरसँगै रोजगारीसमेत सिर्जना गर्छ ।
व्यवस्थापन पढेका मानिस जागिरसँगै रोजगारी सिर्जना गर्न पनि क्षमतावान् हुन्छन् ।’ कान्तिपुर सिटी कलेजका एक्टिभ प्रिन्सिपल राजु कट्टेलले भने, ‘पछिल्लो समय सूचना प्रविधिमा विद्यार्थीको आकर्षण बढेको छ । अहिले आएर सरकारी कार्यालय, निजी संस्थादेखि व्यापारिक फर्ममा समेत सूचना प्रविधि विज्ञको खोजी हुनुले यसको महत्वलाई दर्शाउँछ । सफ्टवेयर कम्पनी र सरकारी अफिसहरूमा ठूलो स्कोप रहेको छ ।’ यसैले अहिले एसइईको नतिजासँगै रुचीको विषयसँगै विभिन्न तर्क–वितर्कमा छलफल गरी शिक्षालाई निरन्तरता दिनेतर्फ ध्यान दिनु जरुरी छ ।
प्रतिक्रिया