समाजवादका लागि पुँजीवादको विकास

नेपाली समाजको फेसनको दुनियाँमा राजनीतिक फेसन निकै प्रसिद्ध र जरो गाडेको पेसा पनि हो । सिद्धान्तमा भन्दा फेसनका लागि लेख्ने, बोल्ने ,संगठन गर्ने र वेला वेलामा राष्ट्रिय ख्याति प्राप्त व्यक्तिले केही नारा छोडिदिने प्रचलन यो फेसनमा छ । फेसनको ख्याल गरेनौँ भने राजनीतिक दोकान नचल्ने हुनाले पनि चाहेर नचाहेर बाध्यतावस पनि यस्तै गरिन्छ । बौद्धिक वर्ग पनि यही फेसनको वरपर बौद्धिक कसरत गर्न पाए आफू पनि फेसनको दुनियाँमा कतै स्थान बनाउन सकिन्छ कि भनेर यसैमा रमाइरहेका हुन्छन् । आफूलाई फेवर नगर्नेप्रति राम्रै भए पनि नाक खुम्च्याउने र आफ्नो पक्षको छ भने आकाश पाताल जोडेर प्रभुबाट आजै पो केही झरिहाल्छ कि जस्तो पार्ने फेसनेवलहरू काठमाडौंमा धेरै छन् । संस्थापन पक्षप्रति जहिले पनि नकारात्मक बन्यो भने मात्र सही भइन्छ र वाहवाहीका साथै आफ्नो दोकान पनि चल्छ भन्ने अवधारणा नै नेपाली राजनीति र बौद्धिक क्षेत्रको फेसनको मूल ध्येय हो ।

यतिवेला नेपालमा चलेको राजनीतिक फेसन बनेको छ समाजवाद । नेपाली राजनीतिको यतिवेला मियो बनेको वामगठबन्धनले आफ्नो अर्थराजनीति समाजवाद उन्मुख हुने भन्ने घोषणा गरेपछि नै यो फेसनको राप चढेको छ । कम्युनिस्ट सरकारले ल्याएको यो नारा हो तसर्थ, यसको कुनै न कुनै रूपमा विरोध गर्नुपर्छ भन्ने फेसन होस् वा आफ्नो पक्षको पार्टीले दिएको नारा हो भनेर होस् समाजवादबारे विचार गोष्ठी, अन्तत्र्रिmया वा लेखहरूमा केही नकेही चर्चा परिचर्चा भइरहेका छन् ।

हुँदाहुँदा पुँजीवादलाई गालीगर्ने र समाजवादलाई एक अमूर्त विषय बनाउने काम पनि समाजवादकै नाममा हुन थालेका छन् । यहाँसम्म कि नेपालको मौलिक समाजवाद भनेको एउटा दुहुुनो गाई एकहल गोरु प्रत्येक किसानको घरमा पु¥याउनुपर्छ भन्ने बिपीको सिद्धान्त हो, भन्ने पनि नाम कहलाएका नेता र बुद्धिजीवीले पनि भन्न थालेका छन् ।

फेसनका कुरा नगर्ने हो भने समाजवाद भनेको समाज विकासको एउटा चरणमा अनिवार्य रूपमा अपनाउनुपर्ने राजनीतिक, आर्थिक र सामाजिक प्रणाली हो । मूलतः यो राजनीतिक पद्धति नै हो । नेपालमा मात्र होइन विश्वमा नै सय करोडाँै वर्ष अघिदेखि समाजवादका थरीथरीका व्याख्या गरिँदै आएका छन् । तर, माक्र्सले प्रतिपादन गरेको समाजवाद नै आजको दुनियाँको आधिकारिक र वैज्ञानिक समाजवाद हो । माक्र्सले प्रतिपादन गरेको समाजवादको भविष्य र टीका टिप्पणी पनि करोडाँै प्रकारका भइसकेका छन् ।

त्यसलाई अपभ्रंश गरेर सामाजिक प्राणीका समाजमुखी क्रियाकलाप नै समाजवाद हो भन्नेसम्म तल ओर्लेर समाजवादको व्याख्या पनि गरिएको छ । तर, समाजवादको सरल परिभाषामा सम्पूर्ण उत्पादनका साधन सरकारको अधिनमा राखेर नागरिकलाई योग्यताअनुसारको काम दिने र सोही कामअनुसारको दाम अर्थात् उपभोग सुविधा दिने प्रणाली हो भन्ने कुरा नै माक्र्सवादीहरूले मान्दै आएका छन् । समाजवादी प्रणाली किन ? भन्ने कुराको ठोस आधारभूत कारण पनि माक्र्सवादले दिएको छ ।

माक्र्सको युगमा पुँजीवादले विगत सामन्तवादी आर्थिक प्रणालीको तुलनामा आर्थिक र प्राविधिक विकास यति तीव्र रूपमा ग¥यो कि, त्यसले एकातिर मुठ्ठीभर पुँजीपतिहरूले सम्पूर्ण उत्पादनका साधन पुँजी, श्रम, जमिन, कच्चापदार्थ र कारखाना सबै सबै आफ्नो कब्जामा पारे । अर्कातिर लाखौँ मानिस उत्पादनका साधनविहीन बनेर तिनै पुँजीपतिका लागि सस्तोमा श्रम बेचेर जीवन धान्न विवश भए । उनीहरू नांगा सर्वहारा भए । लाखाँै यस्ता सर्वहाराको जीवन अमानवीय अवस्थाबाट गुज्रन थाल्यो ।

पुँजीपतिले नाफाका लागि कमाउने प्रतिस्पर्धामा हजारौँ लाखाँै मानिस युरोपका गल्लीमा भोकै पनि मरे । यसरी केही सय पुुुँजीपतिले लाखाँै मानिसको जीवनमा खेलवाड गर्दा पनि त्यहाँको सरकारले जनताका लागि केही गरेनन् किनभने, ती पुँजीपतिकै भरौटेहरूले बनाएका सरकार थिए । यस स्थितिमा माक्र्सले समाज विकासको क्रममा पुँजीवादले जुन अद्भूत विकास गरेको छ, त्यसको उपयोग केवल पुँजीपतिहरूको नाफाका लागि मात्र हुन थालेकाले बहुसंख्यक मानिस एकातिर कंगाल सर्वहारा बन्ने र अर्कातिर मुठ्ठीभर पुँजीपति धनाढ््य, सम्पन्न हुने स्थितिको अन्त्य गरेर फेरि समाजलाई अझ उन्नत र विकसित तुल्याउन सम्पूर्ण उत्पादनका साधन सरकारको मातहतमा राखेर सबैलाई योग्यता क्षमताअनुसारको काम दिने व्यवस्था नै उत्तम विकल्प हो भन्ने सिद्धान्त प्रतिपादन गरे ।

उनले समाजवादको परिकल्पना परोपकारको दृष्टिले होइन कि, पुँजी लगानी गरेर नाफालिनका लागि पुँजीवादीले जुन अत्यधिक आधुनिक उत्पादन पद्धतिको प्रयोगबाट प्रतिस्पर्धा जित्न र नाफालिन थाल्दछन् त्यसका कारण उत्पन्न अस्वस्थ प्रतिस्पर्धाले पुँजीवादी पद्धति नै अगाडि चल्नै नसक्ने स्थिति आउँछ र त्यसको एक मात्र समाधान समाजवाद मात्र हुन्छ भनेर समाज विकासको अवरुद्ध बाटो खोल्ने उपाय पनि दिएका हुन् । उनले कुनै पुँजीपतिको रिसले, कसैको सम्पत्ति खोस्न यस्तो सिद्धान्त प्रतिपादन गरेका पनि होइनन् । तर, स्वाभाविक थियो माक्र्सको यो सिद्धान्तप्रति पुँजीपतिहरू असहमत मात्र होइन् आक्रोशित पनि बने ।

तिनले त्यसैवेलादेखि यो सिद्धान्त र यसका प्रतिपादकहरूलाई जरैदेखि निर्मूल पार्ने प्रयास पनि सुरु गरे । निर्मूल पार्न नसकेपछि यसमा भ्रम छर्ने र जनतालाई दिग्भ्रमित बनाएर सही विचारलाई कमजोर पार्ने प्रयास पनि सुरु गरे । यता माक्र्स र उनका उत्तराधिकारीहरूले पनि यसका लागि संगठित प्रयासबाट सरकार हत्याए पछि मात्र समाजवाद लागू गर्न सकिने रहेछ भन्ने अनुभवका आधारमा सर्वहारा अधिनायकत्वको सिद्धान्त प्रस्तुत गरेका हुन् ।

त्यसपछिका दिनमा माक्र्सको भविष्यवाणी जसरी नै पुँजीवाद संकटमा फस्यो । विश्वयुद्ध भयो । अनि पुँजीवादी देशहरू आफ्नो देशको पुँजीको थैली बोकेर कतै परोपकारी भेषमा कतै सहकार्यको नाममा पुँजीको विकास नभएका सामन्ती उत्पीडन भएका बर्बर शासकहरू भएका देशमा लगानी गरेर त्यहाँको नाफाले आफ्नो देशमा मध्यम वर्गको विकास गराउने र पहिलेको एकातिर करोडपति मुठ्ठीभर पुँजीपति र अर्कातिर लाखौँ सर्वहारा भएको विषंताको अवस्थालाई रोकेर आफ्नो किल्ला सुरक्षित राख्ने रणनीतिमा लागे । अहिले हुँदाहुँदा त्यस्ता पछौटे देशमा पनि पुँजी र प्रविधिको विकास हुँदै गएको छ ।

पुँजीवादी देश ती देशलाई साधनको रूपमा प्रयोग गरेर संकट टार्दै बसेका छन् । समस्या परे तिनै देशलाई पर्छ आफूलाई छुँदैन भन्ने तिनको विश्वास छ । तर, यसबाट पछि परेको समाज र देशमा पनि क्रमशः पुँजीवाद विकसित भइरहेछ र नै त्यहाँ पनि समाजवादका चर्चा हुने गरेका छन् । त्यस्तै चर्चामध्ये हाम्रो देशमा अहिले समाजवाद चर्चाको विषय मात्र होइन फेसनको विषय पनि बन्दै गएको छ । तर, युरोपमा जतिवेला पुँजीवाद विकसित भएर संकटमा फस्दै समाजवादविना समाज नै अगाडि बढ्न नसक्ने स्थिति थियो । त्यो स्थिति अविकसित देशहरू जसमा नेपाल पनि पर्छ, अझै आएको छैन ।

यहाँ जुन दःुख हामी भोगिरहेछौँ त्यो हामीकहाँको पुँजी र प्रविधिको विकासबाट अधिक उत्पादन र अतिरिक्त श्रमको अधिक शोषण विरोधाभासबाट भन्दा पनि हाम्रो परम्परागत सामन्तवाद र त्यसले विश्वको पुँजीवादी मुखियाको दलाली गरेका कारणले भएको हो ।

हामी कहाँ अहिले समाजवादलाई अपव्याख्या गर्ने, फेसनको रूपमा चर्चा गर्ने जुन परिपाटी बसेको छ त्यो चाहिँ पश्चिमा पुँजीवादबाट प्रभावित बौद्धिक वर्गले वैज्ञानिक समाजवादलाई दिग्भ्रमित पार्ने प्रायोजित अभियानकै अंग हो । उनीहरू सामन्तवादी देशका बुर्जुवा बुद्धिजीवी र यहाँसम्म कि, धर्मगुरुहरूलाईसमेत धन खर्च गरीगरी पुँजीवादलाई गाली गर्न लगाउँछन् र समाजवादको आफ्नै मौलिक मोडलको विकास गर्नुपर्छ भन्दछन् ।

पुँजीवादको विकास ग¥यो भने अशान्ति बढ्छ, परम्पराको रक्षा गर्नुपर्छ, ठूला मेसिन भएका आधुनिक कारखाना खोल्न हुँदैन, ठूला एयरपोर्ट र ठूला बिल्डिङ् बनाउन हुँदैन, भरसक पैदलै हिड्नुपर्छ, खेतीमा यान्त्रिकीकरण गर्न हँुदैन आदि भन्दछन् । आफूहरू चाहिँ मनग्य भौतिक विकास गरेर आफ्ना सम्पदाले नपुगेर हाम्रा सम्पदासमेत चोर्दै लगेर सभ्य बनेर बस्ने अनि अरूलाई विकासले विनाश निम्त्याउँछ भन्ने पुँजीवादीहरूले यसरी हाम्रो दयाले, हाम्रो गौरवको रक्षाका लागि भनेका होइनन् बरु आत्मरक्षाका लागि भनेका हुन् । वास्तवमा पुँजीवाद सामन्तवादभन्दा धेरै प्रगतिशील र आधुनिक विकासको ढोका खोल्ने व्यवस्था हो ।

यसको निन्दा होइन प्रशंसा गर्नुपर्दछ र हामीले पनि पुँजीवादकै विकास गर्नुपर्दछ । हरेक वाद वा प्रणालीका आआफ्ना विशेषता र चरण हुन्छन्, त्यहाँ पुगेपछि सरकार र समाजले, राजनीतिले नयाँ पद्धतिको प्रयोग गर्न सक्नुपर्दछ । पुँजीवादको विकासको चरण पार गरेपछि मात्र वैज्ञानिक समाजवाद लागू गर्न सकिन्छ, यो कसैको लहडले आउने व्यवस्था होइन । समाजवादका लागि पुँजीवादको विकास अनिवार्य छ ।

प्रतिक्रिया