‘माक्र्सलाई पुँजीपतिहरूले नराम्रो भन्थे र भन्छन् पनि । रुसमा जारहरू र साम्राज्यवादीहरूले लेनिनलाई नराम्रो भन्थे । चाङकाइसेकले ‘माओत्सेतुङलाई नराम्रो भन्थे ।’ आज त्यसैगरी नेकपाका अध्यक्ष सरकारका प्रधानमन्त्री ओलीलाई नराम्रो भनी प्रमाणित गर्न प्रयत्न गरिरहेका छन् ’
आनन्दप्रसाद पोखरेल निरंकुश निर्दलीय व्यवस्थाको विरुद्ध राजनीतिक शक्तिहरू एक्लाएक्लै लडे, पञ्चायतले ३० वर्ष शासन गर्यो । ०४६ सालमा नेपालका वाम प्रजातान्त्रिक शक्ति संयुक्तमोर्चा बनाएर संघर्ष गरे । यसकै, प्रतिफल स्वरूप पञ्चायत ढल्यो । यसैगरी ०६२÷६३ को संयुक्त आन्दोलनको बलमा राजतन्त्र पनि ढल्यो ।
संविधानसभाको निर्वाचनमार्फत नयाँ संविधान बन्यो । तीन तहको निर्वाचन सम्पन्न भई नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा संघीय संसद्मा एकल बहुमत प्राप्त गरी हाल फोरमसहित दुईतिहाइ बहुमतको सरकार सञ्चाल भइरहेको छ ।
कांग्रेसको नीतिगत पराजय
०७४ मंसिरमा भएको निर्वाचनमा नेपाली कांग्रेस नराम्रोसँग पराजित भयो । नेपाली कांग्रेसले बोकेको राजनीतिक विचार सिद्धान्त र निर्वाचन घोषणापत्रलाई जनताले अस्वीकार गरे, भने नेपाल कम्युनिस्ट पार्टीको नीति, सिद्धान्त र निर्वाचन घोषणापत्रलाई जनताले समर्थन गरे । इतिहासमा कांग्रेस पहिलोपटक पूर्ण विपक्षमा गयो । नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो ।
वर्गीय रूपमा उसको जनाधार देशी–विदेशी कम्युनिस्ट विरोधी शक्ति, सामन्ती दलाल नोकरशाही पुँजीवाद, बिचौलिया र मध्यम वर्ग हुन् । वित्तीय पुँजीवाद र नव उदारवादी विचार बोक्ने शक्तिको नजिकको मित्रको रूपमा नेपाली कांग्रेस उभिएको छ र उनीहरूको नीति नेपालमा लागू गर्न सहयोगी भूमिका निर्वाह गर्दछ।
ब्रुजुवा पुँजीवादको सिद्धान्त मान्ने अन्तर्राष्ट्रिय राजनीतिको मित्र शक्ति नेपाली कांग्रेस बनेको छ। राष्ट्रियता लोकतन्त्र र जनजीविकाको प्रश्नमा सम्झौता प्रस्तुत ढुलुमुले नीति बोकेको नेपाली कांग्रेसले इतिहासमा धेरै गम्भीर गल्तीसमेत गरेको छ । जसका कारण पञ्चायतको उदय भएको हो।
भारतीय शासकको गुटको हस्तक्षेपलाई कांग्रेसले मौन समर्थन गर्नाको कारण नेपाली राजनीति भारतीय पक्षको सूक्ष्म व्यवस्थापनको क्रीडा थलो बनिरहेको छ। नेपाली कांग्रेसको नीतिकै कारण नेपालले दूरदशा भोगिरहनु परिरहेको छ । ०४६ सालको राजनीतिक परिवर्तनपछि यो २९ वर्षमा कसको गल्तीको कारण र कसको राजनीतिक सिद्धान्त र कार्यक्रमका कारण नेपालको आर्थिक राजनीतिक सामाजिक र विकासले गतिलिन सकेन ?
भन्ने प्रश्नको एउटै उत्तर हो, नेपाली कांग्रेस । कांग्रेसकै कारण मुलुक आर्थिक रूपले परनिर्भर भयो, विकासको गति अवरुद्ध भयो, सुशासनको अभाव र भ्रष्टाचारले जरो गाड्यो । नेपाल सबै ढंगले असफल राष्ट्रको कोटीमा जान बाध्यता र खतरा बढ्यो । यसको पूर्ण जिम्मेवार कांग्रेस भएका कारण पहिलो चोटि नेपाली जनताले उसलाई विपक्षमा धकेलिदिए ।
‘नेकपा’को लोकप्रियता
जनचेतना, राष्ट्र–राष्ट्रियताप्रतिको प्रतिवद्धता, आर्थिक समृद्धि, सुशासन, विकास र सुखी नेपालीको चाहनालाई आत्मसात् गरेका कारण निर्वाचनमा ‘नेकपा’ले विजयप्राप्त गर्यो । दुईतिहाइको बहुमतको सरकार सञ्चानल गरेको ५ महिना बित्दै छ । ‘नेकपा’को एकल बहुमतको सरकारले नेपाल र नेपालीको आवश्यकता, राष्ट्रको चाहना सुशासन र विकासको मुद्दालाई कार्यान्वयन गरी समृद्ध र सुखी नेपाली बनाउने पूर्व घोषित प्रतिवद्धतालाई कार्यान्वयन गर्न भर्खरै सुरु गरेको छ ।
राष्ट्रियता, लोकतन्त्र, जनजिवीका, सुशासन, लोककल्याणकारी विकासका नारासहित निर्वाचित सरकार निर्माण गरेको पार्टीको काँधमा जनताका मुद्दा कार्यान्वयन गर्नु थियो । घोषित लक्ष्य पूरा गर्ने चाहना अडानकासाथ केपी ओली नेतृत्वको सरकारले व्यवस्थित कार्ययोजनाअगाडि बढाइ आफ्नो कामलाई सूत्रीकरण गर्दै लगेको छ ।
विधिको शासन, अर्थतन्त्रको पुनःनिर्माण, सर्वव्यापी भ्रष्टाचारको अन्त्यसहित शान्ति सुरक्षाको बहाली, मितव्ययिता तथा सदुपयोगको सिद्धान्त र छिमेकीसँग सन्तुलित सम्बन्धमार्फत राज्यसत्ताको सञ्चालन गर्ने बाटोमा सरकार अघि बढिरहेको छ। मुलुकमा शान्ति अमनचयन विकास आर्थिक वृद्धि र समन्यायिक समतामूलक वितरणको नीति बोकेर जब सरकारअगाडि बढ्यो, जनतामा नयाँ आशाको सिर्जना गर्यो, चौतर्फी सरकारको लोकप्रियता बढ्यो तब, कांग्रेस अत्तालियो ।
विरोध प्रधानमन्त्रीको मात्र होइन !
अहिले सरकारको आलोचना गर्ने र सरकारलाई असफल भएको देख्न चाहने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसलगायतका देशी÷विदेशी प्रतिक्रियावादीहरू मोर्चाबन्दी गरी मैदानमा उत्रेका छन् । नेपालका कतिपय सञ्चार माध्यम, सामाजिक सञ्जालमा सरकारको आलोचना सुरु भएको छ । सरकारको कमी कमजोरीको गणना गर्दै प्रहार सुरुवात भएको छ । जतिवेला म कम्युनिस्ट सिद्धान्तप्रति आकर्षित हुँदै थिएँ।
अध्ययन गर्दै थिएँ, त्यतिवेला माओत्सेतुङको ‘रेड बुक’ पढ्दै थिएँ, । पार्टी र कार्यकर्ता मूल्यांकन र जाँच पड्ताल कसरी गर्ने ? भन्नेबारे उहाँको शिक्षा थियो,‘ कम्युनिस्ट पार्टीको विचार नीति सिद्धान्त कार्यक्रमकाबारेमा अघि बढ्दा साम्राज्यवादी दलाल नोकरशाही तथा त्यसका पृष्ठपोसकले तिम्रो विचारको बारेमा विरोध गरेनन् भने तिम्रा विचारहरूले प्रतिक्रयावादीको सेवा गर्दछ । राष्ट्रियमुक्ति आन्दोलन र आमूल परिवर्तनको नेतृत्व गर्न सक्दैन।
जनवादी क्रान्ति पूरा हुँदैन । त्यसैले, प्रतिक्रियावादीले कम्युनिस्ट सिद्धान्तको विरोध गर्नु पर्दछ । कार्यक्रम र नेतृत्वको विरोध गर्नुपर्दछ । अनि मात्र तिमी राष्ट्र, जनता र परिवर्तनका पक्षमा दृढताकासाथ उभिएका छौ भन्ने कुराको प्रमाणित हुन्छ । तिनका विचार सिद्धान्त र तिम्रा क्रियाकलाप शत्रुहरूले प्रशंसा गर्नथाले भने तिमीले प्रतिक्रियावादीकै सेवा गरेको ठहर्छ ।’ ‘माओत्सेतुङ’का यी भनाइको प्रकाशमा यो सरकारको वर्तमान कार्यशैली र काम नेपाली कांग्रेसलाई मन परेको छैन ।
राष्ट्रिय ढुकुटीमा पहुँच बनाउने ,सरकारी नीति तथा मुद्दालाई दलाल नोकरशाहीको र विचौलियाका कब्जामा राखेर राष्ट्रलाई कंगाल बनाउने चाहना राख्ने विगतकाजस्तै जनद्रोही ताकतलाई यो मन नपर्नु स्वाभाविक हो । नयाँ संविधान विरोधी, संघीयता, धर्म निरपेक्ष, लोकतान्त्रिक गणतन्त्र र आर्थिक समृद्धिलाई मन नपराउने, मुलुकलाई स्वाधिन र आत्मनिर्भर देख्न नचाहने तत्वहरू आज सरकारको विरुद्धमा एकपछि अर्काे गर्दै जाई लागेका छन्। माक्र्सलाई पुँजीपतिहरूले नराम्रो भन्थे र भन्छन् पनि।
‘रुसमा जारहरू र साम्राज्यवादीहरूले लेनिनलाई नराम्रो भन्थे ।’ चांकाइसेकले माओत्सेतुङलाई नराम्रो भन्थे । आज त्यसैगरी ‘नेकपा’को अध्यक्ष सरकारका प्रधानमन्त्री ओलीलाई नराम्रो भनी प्रमाणित गर्न प्रयत्न गरिरहेका छन् । भारत, चीन भ्रमणपछि प्रधानमन्त्री ओलीको बढेको उचाइलाई निस्तेज गर्न र नेपाल कम्युनिस्ट पार्टीलाई कमजोर बनाउन गरिएको प्रचारले यो कम्युनिस्ट पार्टीको सरकारले छोटो समयमा आफ्नो गन्तव्यको दिशा पकडेको प्रमाणित भएको छ।
राष्ट्रियता, लोकतान्त्रिक गणतन्त्र, विधिको शासन, स्वाधिन, आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी सुखी नेपाली सवृद्ध नेपालको निर्माण गर्ने सरकारको सपना पूरा गर्न बाटामा वर्तमान सरकारअगाडि बढेको कुरा स्थापित सत्य हो । तथापि, कतिपय मन्त्री र मन्त्रालयको कमीकमजोरी र समन्वयको अभावमा केही नकारात्मक प्रचार भएका छन् ।
यसका बाबजुद यो, सरकारले नीतिगत रूपमा राम्रो काम गरिरहेको छ । विपक्षहरूसँग अब राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक विकास र समृद्धिका मुद्दामा आलोचना गर्ने ठाउँ छैन ।
विपक्षीको सिद्दान्त सकिएको हो ?
उनीहरूको आलोचनाको विषय भनेको गैर राजनीतिक छ, भन्ने कुरा विपक्षी नेपाली कांग्रेस र यसका समर्थकले सदन र सडकमा उठाएका मुद्दाबाट उदांगो हुन्छ । अहिले कांग्रेस र यसका सहयोगी विपक्षीहरू र मुठ्ठीभर केही नागरिक अभियान्ताका नाममा उठाइएका मुद्दाहरू गैर राजनीतिक हुन् ।
डा. गोविन्द केसीको चिकित्सासम्बन्धी विधेयक, गंगामाया अधिकारीको अनशन प्रकरण, देउवा सरकारले निर्वाचन आचारसंहिता विपरीत गरेका राजनीतिक नियुक्तिको खारेजी, निषेधित क्षेत्रको विस्तार, सेन्डिकेटको खारेजी, निर्माण कम्पनी अर्थात् ठेकेदारलाई कडाइ, अनावश्यक विदेश भ्रमणमा रोकलगायतका सरकारी निर्णयले विपक्ष आतंकित भएको छ ।
कथित मनोगत मुद्दा उठाइ विपक्षी कांग्रेस र यसका भातृ संगठनले सडकमा र सांसदहरूले संघीय संसद्मा, संसद् अवरुद्घ गरेर संघर्षका नौटंकी रचिरहेका छन्। यी मुद्दालाई विश्लेषण गर्ने हो, भने यसको विषय राजनीतिक छैन । आर्थिक र नीतिगत अवधारणा पनि छैन । यी मुद्दाहरू विगत सरकारका पालादेखि नै समाधान नभएका मुद्दाहरू हुन् ।
गोविन्द केसीले उठाएका चिकित्सा विज्ञान क्षेत्र सुधारका मुद्दा ओली विरोधको बहाना मात्रै हो। यो प्रायोजित र चिकित्सा विषयको पढाइमा नेपाली पुँजीको विदेशमा पुर्याउने षड्यन्त्र हो । यसबाहेक उनले उठाएका जाहेज माग सबैले समर्थन गरेका छन् । सरकारले पनि पटकपटक पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिरहेको छ । गंगामाया अनशन प्रकरण शान्ति प्रक्रिया र जनयुद्धसँग सम्बन्धित छ ।
भर्खरै उनले भनेको अभियुक्त छविलाल पौडेल पक्राउ परिसकेका छन्। निषेधित क्षेत्र र माइतीघर मण्डला काठमाडौंको पहिचान र मानिसले खुला स्थानमा एकछिन आनन्द लिने थलो हो । अब सरकारले विरोध र विरोध प्रदर्शनलाई व्यवस्थित गर्नै पर्छ । अहिले राजनीतिक मुद्दा र अधिकारको आन्दोलन समाप्त भएको छ । अबको आन्दोलन आर्थिक समृद्धिको हो । अब बन्द हड्ताल प्रदर्शनलाई सभ्य मुलुकको पहिचानको रूपमा प्रतिकात्मक बनाउनु पर्छ ।
प्रजातान्त्रिक संस्कृतिको निर्माण गरी सभा प्रदर्शनका लागि विशेष क्षेत्र छुट्ट्याउने सरकारको नीति नराम्रो होइन । आचारसंहिता विरुद्धका नियुक्ति खारेजी, सत्तामा भएर निर्वाचन प्रभावित गर्न विगतको नजीरको खारेज गरी आउँदा दिनमा काम चलाउ सरकारले यस्तो हरकत दोहोर्याउन नदिन थालेको सही कदम हो । यो सबै सरकारले गर्ने कामको निरन्तरता हो । त्यसैले, यी मुद्दामा नेपाली कांग्रेस बहकिनु भनेको अब उसँग कुनै राजनीतिक आर्थिक सांस्कृतिक मुद्दा उठाउन बाँकी रहेनछ भन्ने प्रमाणित हुनु हो ।
आफैँ सरकारमा हुँदा समाधान नगरेको मुद्दालाई समातेर मात्र सडकमा उत्रिने हैसियतमा कांग्रेस पुग्नु राजनीतिक रूपले दुर्भाग्य हो । त्यसैले, कांग्रेससँग लोकतान्त्रिक सांस्कृतिक मूल्य मान्यता छ भने आफ्नो राजनीतिक आर्थिक मुद्दा समातेर नयाँ जनमत तयार गरोस् । संयम र रचनात्मक भूमिकामा कांग्रेस देखिनु पर्दछ । अनुत्पादक मुद्दामा बहकिएर केटौलेपन प्रदर्शन गर्ने काम कांग्रेसले नगरोस् ।
मुलुकलाई थाहा छ कांग्रेस कहिल्यै पनि सत्ताबाहिर रहन सक्दैन । अब के गर्ने ? संसदीय हैसियत संवैधानिक बाध्यताले ऊ पाँच वर्ष सत्तामा जान सक्दैन । अलिअलि असजिलो होला तर पनि लेखकको चाहना रचनात्मक क्रियाशील र एकताबद्ध प्रतिपक्षको भूमिका निर्वाह गरी नयाँ संविधान कार्यान्वयनमा सहयोगी भूमिका खेल्न र सरकारको खबरदारी गरी दबाब सिर्जना गरोस् भन्ने हो ।
मुलुकलाई समृद्धिमा लान सरकारको सञ्चालनमा व्यवस्थित प्रतिपक्षको धर्मनिर्वाह गरी व्यवस्थित दबाबको सिर्जना गरी आफ्नो मुद्दालाई स्थापित गर्न लाग्नुमा नै कांग्रेसको भलो हुन्छ र सरकारलाई पनि दबाब पुग्छ ।
अबको कार्यभार
अहिले सरकार सञ्चालनमा र पार्टी परिचालनमा जेजस्ता ग्याप देखापरेका छन् यो, सबै विचार , संगठन र सिद्घान्तबीचको क्रमभंगता हो । किनभने, भर्खरै पार्टी एकता भएको छ । कतिपय मन्त्रीहरूले संसदीय व्यवस्था प्रधानमन्त्रीय पद्धति हो भन्ने नबुझेको पनि देखिएको छ । प्रधानमन्त्रीभन्दा आफू स्थापित हुन सेलीब्रेटी बन्ने धङधङ्गीले पनि समस्या सिर्जना गरेको छ ।
प्रधानमन्त्री र सरकारभन्दा म आफैँ लोकप्रिय हुन्छु भन्ने गलत मानसिकता मन्त्री र सहयोगीमा हुनु दुःखदायी हो । यसमा सुधार आउनु पर्दछ । प्रधानमन्त्रीले मन्त्रीहरूलाई प्रधानमन्त्री र सरकार मातहत ल्याउनु पर्दछ । अब एकीकृत पार्टी सरकारको नीति कार्यक्रम र योजना कार्यान्वयन गर्न हरतरहका सरकारमा राजनीतिक नेतृत्व प्रदान गर्नुपर्छ ।
सरकार सञ्चालनमा पार्टी संगठन तथा वैचारिक नेतृत्व प्रदान गर्नुपर्दछ । प्रधानमन्त्री ओली र सरकाले लिएको सोच र सपना कार्यान्वयन गर्न सिंगो पार्टी एकताबद्ध भई समृद्धिका लागि जनपरिचालन गर्नु समन्वय संवादलाई प्रभावकारी बनाइदिँदै सरकाको प्रतिरक्षामा पार्टी पंक्तिमा उभिनु वर्तमानको कार्यभार हो ।
प्रतिक्रिया