हिन्दू धर्मको हुर्मत लिने कुसंस्कार

‘लोग्ने मरेपछि पत्नीलाई जिउँदै जलाउनुपर्छ भनेर वेदमा लेखिएको छैन । तर, वेदपछि लेखिएका रचनाहरूले जिउँदै जलाउनु सबैभन्दा ठूलो धर्म हो, भनेको छ । वैदिक कालखण्डको धेरै समयपछि यस्ता अपराधमूलक धार्मिक ग्रन्थको जन्म भएको अनुमान सहजै लगाउन सकिन्छ ’

लेखक: अञ्जु कार्की

काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरसँगै जोडिएको एउटा मूर्ति छ । जसलाई भैरवको मूर्ति भनिन्छ । भैरवको मूर्तिसँग संसर्ग गरेपछि बाँझोपनको निकास भई सन्तानप्राप्ति हुन्छ भन्ने अन्धविश्वास छ । भैरव मूर्तिको शिरमा फूल चढाउने बहानामा निःसन्तान महिलाहरू यताउती हेर्दै मूर्तिको लिंगमा आफ्नो यौनांग छुवाएर घर्षण गर्छन् ।

शिवरात्रिका वेला पशुपतिमा आउने नागाबाबाको लिंगमा पूजा गरेर सन्तानप्राप्तिको कामना गर्ने महिलाहरूको पनि हाम्रो समाजमा कमी छैन । सन्तानप्राप्ति र सुख शान्तिका लागि भन्दै भारतको गयामा गएर नागाबाबाले आफ्नो लिंगमा दलेर दिएको विभूति (खरानीको टीका) खोसाखोस गरेर शिरमा लगाउने र त्यसबाट सन्तान प्राप्ति हुन्छ भन्ने विश्वास गर्नेहरू पनि हाम्रो समाजमा छन् ।

जुन कुरा ज्ञान र विज्ञानले प्रमाणित गरेको छैन, जुन समस्याको समाधान ज्ञान र विज्ञानले दिन सकेको छैन त्यसका लागि वैकल्पिक उपाय खोजिनु अन्यथा थिएन । भैरवको मूर्तिको लिंगमा यौनांग घर्षण गर्ने मामिला र नागा बाबाहरूको लिंग पूजा गर्ने मामिला कुनै जमानामा सान्दर्भिक हुन पनि सक्थ्यो होला । जंगली युगमा मानिसको सृष्टि कसरी हुन्छ ? भन्ने ज्ञान थिएन । यौनसम्पर्क केवल आनन्दका लागि मात्रै गरिन्थ्यो ।

यौनसम्पर्क नै गर्भधारणको माध्यम हो, भन्ने थाहा नभएको अवस्थामा यस्तो पत्ता लगाउनु पनि ठूलो कुरा थियो त्यतिवेला । तर, यतिवेला मानव सृष्टिको विषयमा ज्ञानविज्ञानले ठूलो फड्को मारिसकेको छ । सन्तान कसरी प्राप्ति हुन्छ ? मानव समाजको सृष्टि कसरी हुन्छ ? भन्ने सम्बन्धमा ज्ञान, विज्ञानले तथ्यसंगत विश्लेषण गरेको छ । यो तथ्यबारे आजको दुनियाँमा सायदै कुनै मान्छे अनभिज्ञ होला ।

तर, मोबाइल, आइफोन, ल्यापटप, ट्याब्लेट आदिको प्रयोग गरेर र युट्युब, ट्विटर चलाएर सबै कुरा खोज्न सक्ने प्रविधिमा डुबिसकेका युवतीहरूसमेत सन्तान खोज्न कुनै जोगीको वा ढुंगाको लिंग ढोग्न पुगेको देखिन्छ । परम्परादेखि चलेको अन्धविश्वास ज्ञान विज्ञानको चरम उन्नतिले पनि हटाउन सक्दो रहेनछ भन्ने उदाहरण हो, यो । नेपालमै पनि कृत्रिम गर्भाधान मज्जाले प्रचलनमा आइसकेको छ । टेस्ट्युब बेबीको प्रविधि नेपालीमा प्रयोग हुन थालेको पनि दशकौँ बितिसकेको छ ।

तर, अन्धविश्वास हटेको छैन । यस्तो रूढिवादी अन्धविश्वासको पराकाष्टाबाट अहिले पनि सबैभन्दा पीडित महिला नै छन् । त्यसमा पनि नेपाली महिला अझै पीडित छन् । एकातिर वेदबाहेक अरू धर्मग्रन्थलाई प्रमाण मान्न नहुने शिक्षा हिन्दू पण्डितहरूले दिँदै हिँड्छन्, अर्कातिर कुनै कालखण्डमा कसैको स्वार्थका लागि लेखिएका कथालाई धर्मग्रन्थ भन्दै धर्मको हुर्मत लिने रूढिवादलाई पनि पण्डितहरूले जीवितै राखेका छन् ।

संसारमा धर्मले कहीँ कसैलाई शोषण गर्दैन र मानव मुक्ति नै धर्म हो, भन्ने विचारको सञ्चार गर्छ । त्यसमा पनि वैदिक सनातन (हिन्दू) धर्मलाई त ज्ञानविज्ञानको जननी नै मानिन्छ । तर, वैदिक सनातनमुलुक नेपालमा पनि धर्मका नाममा महिलामाथि शोषण भएको चाहिँ जताततै देख्न सकिन्छ । यस्ता धर्मग्रन्थको नाममा लेखिएका यस्ता विभेदकारी कथाहरू कि त समय अनुकूल परिवर्तन गर्दै लैजानु पर्छ, कि त च्यातिनु पर्छ ।

पीपल, तुलसी, दू्बो, शालिग्राम, कुशको उपयोगिताबारे ज्ञान र विज्ञानले पनि पुष्टि गरिसकेको छ । यी वस्तुको संरक्षण जरुरी देखेर नै पूजा गर्ने चलन चलाइएको हो । पूजा गर्ने संस्कार नबसालिएको भए यी वस्तुको महत्वबारे खोजी हुने थिएन । तर, यी वस्तुको संरक्षणका लागि आश्चर्यलाग्दो कथा तयार गरियो । विष्णु पुराणलगायत अन्य धार्मिक ग्रन्थहरूमा लेखिएअनुसार जालन्धरकी पत्नी वृन्दालाई झुक्याएर विष्णुले सतित्व हरण (अहिलेको भाषामा बलात्कार) गरे ।

आफूलाई झुक्याएर विष्णुले बलात्कार गरेपछि वृन्दाले श्राप दिइन, ‘तिमीलाई घाँस, झार, वृक्ष र पत्थर हुनु परोस्’ । त्यही श्रापका कारण विष्णु पीपल, तुलसी, दूबो, शालिग्राम, कुश चार चीज हुनुपर्यो रे ! भगवान् भनिने विष्णुलाई बलात्कारी सावित गरी पीपल, तुलसी, दूबो, शालिग्राम र कुशको महत्व दर्शाउनु जरुरी थिएन । अरू नै उपमा दिन पनि सकिन्थ्यो । एकातिर वृन्दालाई एक असल महिला भनिएको छ भने अर्कातिर तिनै असल महिलालाई भगवान् विष्णुले बलात्कार गरेको उल्लेख छ ।

लोग्ने जालन्धरले गरेको गल्तीको सजाय असल पत्नीलाई दिनु भनेको महिलामाथिको अस्तित्व अस्वीकार गरिएको हो कि होइन ? महिलाको अस्तित्व नै स्वीकार नगरिएको हो कि ? भन्ने एकातिर देखिन्छ, भने अर्कातिर भगवान् भनिने विष्णु त बलात्कारी पो रहेछन् भन्ने अर्थ पनि लाग्छ । सबै धर्महरूको फेद भनिने वेदमा महिलालाई कतै विभेद नगरिएको वेदका मर्मज्ञहरू बताउँछन् । योगी नरहरिनाथले हिन्दू धर्मको रक्षाका लागि वेदको शिक्षादिने अभियान नै चलाएका थिए । तर, उनको निधनपछि यो क्रम टुटेको छ ।

वेदपछि धार्मिक ग्रन्थका नाममा रचना गरिएका कतिपय कथाहरू नै महिलामाथिको विभेदका कारक हुन् । उदाहरणका लागि लोग्ने मरेपछि पत्नीलाई जिउँदै जलाउनुपर्छ भनेर वेदमा लेखिएको छैन । तर, वेदपछि लेखिएका रचनाहरूले महिलालाई जिउँदै जलाउनु सबैभन्दा ठूलो धर्म हो भनेको छ । वैदिक कालखण्डको धेरै समयपछि यस्ता अपराधमुलक धार्मिक ग्रन्थको जन्मभएको अनुमान सहजै लगाउन सकिन्छ । उदाहरणका लागि नेपाली भाषालाई नै लिऊँ । नेपाली भाषाको उत्पत्ति भएको धेरै कालखण्ड बितेको छैन।

लिखत भेटिएको १२औँ शताब्दीमा मात्रै हो । त्यसमा पनि नेपाली उखान टुक्काहरूपछि जन्मेका होलान् । तर, नेपाली भाषामा महिलालाई तल्लो दर्जाको सावित गर्ने उखान टुक्काहरू यति धेरै छन् कि ? यस, लेखमा उल्लेख गरेर साध्य नै छैन । समाजमा उखान टुक्का पनि नानाथरी गाँसिन्छन् । महिला अलि जान्नेसुन्ने भई र आफ्ना लागि आवाज उठाउन थाली भने ‘पोथी बास्यो भने राम्रो हुँदैन’ भनिन्छ । अर्को उखान छ, ‘छोरा भए पाल्छन्, छोरी भए अर्काको घर टाल्छन् ।’

महिलामाथि विभेद गरिएका उखान टुक्काहरू हुन् । जस्तैः ‘नक्कली स्वास्नीका बीसवटा पोइ, मर्ने वेलामा कोही न कोही ।’ ‘मर्दका १० वटी’, ‘छोरो पाल्नु सहरमा, छोरी पाल्नु कहरमा’, ‘दूध उम्ले अँगेनामा, छोरी उम्ले खाल्डोमा’, ‘जसका छोरा उसको धन, जसका बस्तु उसको वन’, ‘खोली बढे बटुवालाई पिर, छोरी बढे माइतीलाई पिर’, ‘आफ्नी छोरी नखरमाउली, तन्नेरीलाई दोष’, ‘गुन्द्रुक पकाउनु र साली फकाउनु पर्दैैन’, ‘गुन्द्रुकको खानु झोल, कमारीको खानु मोल’, ‘लट्ठी टेके भर, कान्छी ल्याए घर’, ‘तीन वटा गोरु हल पक्का र दुइटी स्वास्नी घर पक्का’, यी तपाईं हाम्रा समाजमा निकै चलेका उखान हुन् ।

अझ विधवाको हकमा त सतीप्रथा उन्मूलनबाहेक समाजले कुनै पनि स्थान दिएको छैन । पलपलमा घोचिरहने रूढिवाद छ । सतीप्रथा कायमै रहेको भए, पलपल मरिरहुनुपर्ने त थिएन भन्ने महसुस हरेक एकल महिलालाई हुने अवस्था अझै जीवितै छ । एकल महिलाको सन्दर्भलाई लिएर बनाइएका उखान टुक्काको खानी नै छ, हाम्रो समाजमा । जसका केही उदाहरण यस्ता छन्, ‘राँडीलाई पोतेको रहर, नामर्दको भर नपर्नु, राँडीको भोज नखानु ।’

‘विधवालाई ढोग्दा म जस्तै भएस् भन्छे रे’, ‘गरिबलाई दिन्छु नभन्नु, राँडीलाई लान्छु नभन्नु’, ‘ग्राहक रत्याउनु, राँडी अत्याउनु ।’ एकल महिलालाई बोक्सीको आरोप लगाएर दुःख दिने गरिएका समाचारहरू कुनैदिन छुट्दैनन् । पहिलो कुरा त महिलालाई मान्छेको श्रेणीमा राखिएको छैन त्यसमा पनि एकल महिलाको त कुरै छाडौँ । यस्तो, कुसंस्कार जीवितै राखेर हामीले हाम्रो धर्म संस्कृतिप्रति गौरव गर्न सकौँला र ? यस्ता अन्धविश्वास र कुसंस्कारले वैदिक सनातन धर्मको हुर्मत लिइरहेका छन् ।

प्रतिक्रिया