निनाम कुलुङ ‘मंगले’ विश्वकै सुन्दर हिमालमध्येमा पर्ने कञ्चनजंघा हिमाल नेपालको पूर्वी पहाडी÷हिमाली जिल्ला ताप्लिजोङ÷ताप्लेजुङ र भारतको सीमामा रहेको छ । साथै कञ्चनजंघा हिमाल वास्तविक रूपमा ५ वटा रहेको भए तापनि हालसम्म एउटाले मात्रै आधिकारिक रूपमा मान्यता र चर्चा पाएको अवस्था छ ।
बाँकी ४ वटामा ३ वटा ८ हजार मिटर माथिका हिमालहरू हालसम्म ओझेलमा परेका छन् भने ८ हजार मिटरभन्दा कम उचाइको एउटा हिमालको नाम खाम्बाछेन÷काम्बाचेन रहेको छ जुन हिमालको उचाइ ७ हजार ९ सय ३ मिटर रहेको छ ।हुन त हालसम्म कञ्चनजंघा हिमालअन्तर्गत नै रहेको ८ हजार ५ सय ५ मिटर अग्लो यलुङकाङलाई अलग्गै हिमाल मानेर केही देशका पर्वतारोहीहरूले सफलतापूर्वक चढिसकेका पनि छन् ।
नेपालतर्फको कञ्चनजंघा हिमालको भाग उत्तर–पश्चिम मोहडा भएर हालको फक्ताङलुङ गाउँपालिका वडा नम्बर–६ साविक लेलेप गाविसतर्फ पर्छ भने दक्षिण–पूर्वी मोहडा सिरिजंगा गाउँपालिका वडा नम्बर–८ साविक याम्फुदिन गाविसतर्फ पर्छ । कञ्चनजंघा क्षेत्रको माथिल्लो भेगमा रेड पान्डा, तिब्बती जंगली कुकुर, भालु, नाउर, लिँडे मुसा, घोरल, झारल, हिऊँ चितुवा लगायतका जंगली जनावरहरू पाइन्छ भने, डाँफे, मुनाल, चील, कालिज लगायतका चराचुरुंगीहरू पनि पाइन्छ ।
खासगरी कञ्चनजंघा क्षेत्र रेड पान्डा र हिऊँ चितुवाका लागि प्रसिद्ध रहेको छ । भूगोलविद् डा. हर्क गुरूङका अनुसार तत्कालीन श्री ३ महाराज जंगबहादुर राणाले आजभन्दा लगभग एकसय ७० वर्षअघि जेसफ हुकर नामक बेलायतीलाई नेपाल आउन स्वीकृत दिएका थिए । जेसफले त्यो बेला तमोर नदीको बाटो ओलाङचङुगोला हुँदै चुङचेर्मासम्मको यात्रा गरेका थिए । त्यस क्रममा ती गोराले उक्त क्षेत्रबाट लालीगुराँसको फूलको बिउ पनि बेलायत लगेका थिए ।
भनिन्छ, सर्वप्रथम बेलायतमा लालीगुँरास भित्र्याउने उनै जेसफ हुकर हुन् । डा. गुरूङका अनुसार जेसफले बेलायत फर्केपछि ताप्लेजुङ जिल्लाका बारेमा लेखेको ‘हिमालयन जर्नल’ नामक किताबमा त्यो बेला ओलाङचङुगोलाले नेपाल सरकार (केन्द्र) लाई कति पैसा (कर) बुझाउँथ्यो ?, ओलाङचङुगोला नाकामा केके र कस्ता–कस्ता व्यापार हुन्थे ?, घुन्सामा कति घरधुरी थिए ? भन्नेसम्मका विवरणहरू उल्लेख गरेका छन् ।
त्यस्तै, कञ्चनजंघा हिमाल र ओलाङचुङगोला क्षेत्रमा भ्रमण गर्ने दोस्रो विदेशीका रूपमा सन् १८९९ मा डगलस फ्रेसफिल्ड नामक बेलायती आएका थिए । भनिन्छ, उनी एक यात्री मात्रै नभएर युरोपका धेरैजसो हिमाल चढेर नाम कमाइसकेका नामुद पर्वतारोही पनि थिए । अतः कञ्चनजंघा हिमाल कस्तो रहेछ ? हेर्ने (सके चढ्ने !?) र केही दिनसम्म कञ्चनजंघाको हिमाली क्षेत्रमा बस्ने हिसाबले उनी ठूलो दलबलसहित आएका थिए ।
तर, डगलस पनि नेपालको बाटो नभएर सिक्किमको बाटो भएर लाचुङ, जोङसाङ, चुमचेर्मा हुँदै कञ्चनजंघा छिरेका थिए । उनी फर्कंदा पनि त्यही बाटो भएर फर्केका थिए । उनका सुरक्षा गार्डहरू भने नेपाली (गोर्खाली !) थिए । ‘उनी बेलायतका ठूला मान्छे भएकाले बेलायत सरकारले उनको सुरक्षाका लागि सेना (सिपाही) खटाएको थियो । किनकि, त्यो बेला लाजुङतिर तिब्बतीयनहरूले दुःख दिइरहेका थिए ।’ भनी डा. गुरूङले ‘कञ्चनजंघा संरक्षण र ताप्लेजुङको विकास’ नामक हाते किताबमा उल्लेख गरेका छन् ।
यसरी विदेशीहरूमाझ कञ्चनजंघा हिमालप्रति चासो बढ्दै र प्रसिद्ध हुँदै गएपछि सन् १९२९, १९३० र १९३१ गरी तीनपटकसम्म जर्मनहरू कञ्चनजंघा हिमाललाई चढेरै छाड्ने अठोटसहित आएका थिए । तर, उनीहरूको तीनवटै प्रयास सफल हुन सकेन । उनीहरू पनि सिक्किमकै बाटो भएर आएका थिए । सर्वप्रथम सफलतापूर्वक कञ्चनजंघा हिमाल चढ्ने श्रेय भने बेलायती पर्वतारोहीहरूले पाए । स्मरणीय छ, उनीहरू जे ब्राउन र जर्ज ब्यान्ड नामक पर्वतारोहीहरू थिए ।
उनीहरूले सन् १९५५ मा कञ्चनजंघा हिमालको सफल आरोहण गरेका थिए । त्यस्तै, सन् १९७३ मा जापानीज पर्वतारोहीहरू कञ्चनजंघा मुख्यभन्दा पश्चिममा रहेको ८ हजार ५ सय ५ मिटर अग्लो यलुङकाङ चढ्न आएका थिए । सन् १९७७ मा भारतीय सेनाको १ टोलीले फेरि कञ्चनजंघाको सफलतापूर्वक आरोहण गरेर उनीहरू विश्वकै कठीनमध्ये पर्ने कञ्चनजंघा हिमाल आरोहण गर्ने दोस्रो पर्वतारोही टोली बनेका थिए ।
त्यसपछि लगत्तै विभिन्न कारणले तत्कालीन श्री ५ को सरकारले कञ्चनजंघा क्षेत्र (खासगरी ओलाङचुङगोला र घुन्सा) लाई निषेधित क्षेत्र घोषित गर्यो । फेरि, धेरै ढिला गरी (सन् १९८८ मा) तत्कालीन श्री ५ को सरकारले कञ्चनजंघा हिमाल र वरिपरिका क्षेत्रलाई फेरि विदेशीहरूका लागि खुल्ला गर्यो । साथै, सन् १९९७ मा तत्कालीन श्री ५ को सरकारले स्थानीय जनताको सहभागिता रहने गरी र साविक लेलेप, तापेथोक, ओलाङचुङगोला र याम्फुदिन गाविसलाई समेटेर ‘कञ्चनजंघा संरक्षण क्षेत्र’ घोषणा गर्यो ।
यसरी सरकारले ढिला गरी कञ्चनजंघा क्षेत्र विदेशीका लागि खुल्ला गर्नु, भगोलिक हिसाबले नेपालको राजधानी काठमाडाैँभन्दा टाढा रहनु, प्रचार प्रसारको कमि हुनु, पूर्वाधार विकास नहुनु जस्तै, सडक यातायत, हवाई यातायातको कमि, स्थानीयस्तरको बाटोघाटोहरू मर्मत सम्भार नहुनु, केही गरी हिम पहिरो गएमा वा हिम तालहरू फुटेर पहिरो गैहालेमा वरिपरिका बस्ती र तल्लो भेगका वासिन्दाहरूमा छिटो र छरितो ढंगले सूचना दिने माध्यम नहुनु, तुरून्तै बाटो खोल्ने व्यवस्था नहुनु, कञ्चनजंघा क्षेत्रको भ्रमणमा जाने विदेशी पर्यटकहरूका लागि बाटोमा स्तरीय होटल÷लजहरू नहुनु, आदिका कारण पनि ‘कञ्जनजंघा क्षेत्र सित्तैमा पाएको धर्तीको उपहार’ भएर पनि यथेष्ट मात्रामा विदेशी पर्यटकहरूलाई आकर्षण गर्न सकेको छैन ।
यसरी हेर्दा बढीभन्दा बढी विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा आएर यहाँको भगौलिक विविधता, प्राकृतिक विविधता, जातीय विविधता, सांस्कृतिक विविधता, भाषिक विविधता, जैविक विविधता आदिको दृश्यावलोकन गर्न र स्वर्गीय आनन्दको अनुभूति लिन सकेका छैनन् । अहिले ताप्लेजुङको सदरमुकाम फुङलिङसम्मै पक्की सडक बनेको छ भने गाउँगाउँमा कच्ची सडक र सडकको ट्रयाक खनिएको छ । हवाई यातायातको हकमा धेरै अघिदेखि सुकेटार (अमिनी पनि भन्थ्यिो) मा ट्विनअटर÷डोर्नियर हवाइजहाज बस्ने विमानस्थल छ ।
तर, व्यापारिक उदेश्यले खुलेका निजी क्षेत्रका विमान कम्पनीहरू र नेवानीको भर नहुँदा कतिपय अवस्थामा भनेको वेला यात्रुहरू उड्न पाउँदैनन् । हाल कञ्चनजंघा हिमालको उत्तर÷पश्चिम क्षेत्रको रुटमा ल्होनाकसम्म र दक्षिण÷पश्चिम क्षेत्रको रुटमा राम्जे÷ओक्टाङसम्म नै सिजनेबल रूपमा होटलहरू खुलेका छन् । तर, केही पर्यटकले यी सिजनेबल होटलमा (घुन्साभन्दा माथि कञ्चनजंघाको उत्तर÷पश्चिमको बेस क्याम्प जानेबाटोमा पर्ने ल्होनाक÷पाङपेमासम्म र चेरेमभन्दा माथि याम्फुदिन हुँदै कञ्चनजंघाको दक्षिण÷पश्चिम बेस क्याम्प ठाउँठाउँमा खुलेका होटल) अलि महँगो भएको हो कि ? भन्ने अनुभव गर्छन् ।
तर, यिनीहरू ‘गुनी पर्यटक’ नभएर ‘बैगुनी पर्यटक’ हुन् भन्ने दर्शाउँछ । किनभने खानाको दाम महँगो भयो भन्ने ती पर्यटकहरूले स्थानीय वासिन्दाहरूले हाम्रा लागि कति टाढाबाट खाने÷बस्ने व्यवस्था गर्न आएका छन्, उनीहरूले यत्तिका विकट ठाऊँमा होटल निर्माण गर्दा÷घर बनाउँदा कति खर्च भयो होला ? हामीलाई चाहिने खाने÷पिउने कुरोहरू कहाँबाट र कति दिन लगाएर ल्याए होलान् ? भन्ने नबुझ्ने÷बुझ्न नचाहँने विदेशी पर्यटकले मात्रै यस्तो प्रश्न गर्न सक्छन् ।
अन्यथा कुनै देशको÷ठाउँको भ्रमण गर्ने पर्यटकले खाने÷बस्ने सम्बन्धमा सायदै प्रश्न उठाउलान् ! त्यसो त हालसम्म नेपाल सरकारले कञ्चनजंघा क्षेत्रमा आफूखुसी र जथाभावी विदेशी पर्यटकलाई प्रवेश गर्न अनुमति दिएको छैन । कञ्चनजंघा क्षेत्रको भ्रमण गर्न चाहने विदेशी पर्यटकहरू कम्तिमा २ जना हुनैपर्ने, नेपाल सरकार पर्यटन मन्त्रालयमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाइने व्यवस्था गरेको छ । अनुमति पत्रका लागि शुल्क पनि साधारण क्षेत्रको पदयात्रा क्षेत्रभन्दा केही महँगो छ ।
हुन त कञ्चनजंघा क्षेत्रमा होटल÷लजको उपलब्धता नभएकैले केही वर्ष अघिसम्म विदेशी पर्यटकहरू ट्रेकिङएजेन्सीमार्फत क्याम्पिङ ट्रेक (खाद्यान, पाल, पकाउने भाँडाकुँडा आदि काठमाडाैँबाटै लगेर जान्थे) गर्थे भने केही वर्ष अघिदेखि होटल÷लजको उपलब्धताले गर्दा टि हाउस (होटलमै खाने÷बस्ने) ट्रेक पनि चल्न थालेको छ । यसरी हेर्दा कञ्चनजंघा र कञ्चनजंघा क्षेत्र वरिपरि रहेका हजारौँ सेताम्मे हिमालहरू र विभिन्न जातजाति, भाषाभाषी, धार्मिक समूह वन्यजन्तु आदिका कारण कञ्चनजंघा प्रदेश–१को पर्यटकीय सम्भावना बोकेको ढोकाको रूपमा रहेको छ ।
प्रतिक्रिया