विद्यार्थी नै लिप्छन् कक्षाकोठा


मीना बुढाथोकी  सल्यान । छत्रेश्वरी गाउँपालिका–४ झिम्पे जयचौरमा अध्ययनरत विद्यार्थीले विद्यालयका कक्षाकोठा आपैmँले लिप्ने गरेको पाइएको छ । अहिले जयचौरमा रहेको करिब ४ सय ५० बढी विद्यार्थीले अध्ययन गर्ने लक्ष्मी माद्यमिक विद्यालयका विद्यार्थीले आफू बस्ने कक्षाकोठा आफैँ लिपपोत गर्दै आएका छन् । उनीहरूले पालो लगाएर हरेक हप्ताको शुक्रबार कक्षा कोठा सफा गर्नुका साथै लिपपोत गर्ने गरेका छन् ।

विद्यालयको कक्षा कोठाको भुँइमा प्लास्टर नहुँदा पढ्ने बेला धुलैधुलो हुने गर्छ । त्यसैले लिपपोत गर्नुपर्ने बाध्यता रहेको सोही विद्यालयमा कक्षा १० मा अध्ययनरत मोतीकला बस्नेतले बताइन् । उनले भनिन्, प्रत्येक शुक्रबारका चौथो पिरियड सकिएपछि सबै विद्यार्थी मिलेर आआफ्नाे कक्षा कोठा लिपपोत गर्छौं ।

कहिलेकाहीँ त शुक्रबारको दिन पनि नआओस्जस्तो लाग्छ सोही विद्यालयमा कक्षा ८ मा अध्ययनरत अर्का विद्यार्थी कमल बोहराले भने थोरै कापी किताब बोक्ने दिन झन् घरबाट माटो र गोबर बोकेर विद्यालय जानुपर्छ । लिपपोत नगरे कक्षाकोठामा धुलो उडेर बस्नै नस्कने हुने भएकाले पनि मन नलागे पनि लिपपोत गर्नुपर्ने उनीहरूले बताए । विद्यालयको कक्षाकोठा आफूहरूले सफा गरे पनि बाहिरको संरचना देख्दा कक्षाकोठा भित्रपस्न डर लाग्ने गरेको उनीहरूको भनाइ रहेको छ ।

कक्षाकोठामा बसेर पढ्नलाग्दा हावाहुरी वा पानी पर्यो भने पढाइ छाडेर ज्यान कसरी बचाउने भन्ने डर लागिरहन्छ मोतीकलाले भनिन् । अहिले नै माथिबाट विद्यालय नै धप्किएर टाउकोमा केही खस्छ होला जस्तै लाग्छ भन्दै उनले थपिन्, ‘यस विद्यालयको भौतिक संरचना पुनर्निर्माण गर्न कसैको ध्यान गए हुन्थ्यो ।’

अहिले यस विद्यालयमा सञ्चालनमा रहेको बालविकास, कक्षा १ र कक्षा ६ को कक्षाकोठा बाहेक अन्य सबै कक्षाकोठामा लिपपोत गर्नुपर्ने समस्या रहेको विद्यालयका प्रधानाध्यापक शोभाराम वलीले बताए । उनले भने, ‘यहाँ आएर अध्ययन अध्यापन गराउन हामीलाई पनि समस्या हुने गर्छ भने विद्यार्थीलाई त झनै समस्या हुने गरेको छ ।’ गर्मीमा धुलोको समस्या हुन्छ र वर्षायाममा हिलाम्मे हुने गर्दछ । जसका कारण विद्यार्थीको स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने गर्छ ।

यस विद्यालयमा आवश्यक फर्निचरको अभाव रहेको छ भने झ्याल र ढोकामा पल्लासमेत छैनन्, उनले थपे । विद्यालयमा निर्मित भौतिक संरचना स्तरीय नहँुदा समस्या भएको बताए । ‘विद्यालयको आन्तरिक आर्थिक स्रोत केही छैन, यहाँ विभिन्न समस्या छन्, समाधान गर्न समस्या छ’, उनले भने । उनले विद्यालय भवन जीर्ण भएको बताए ।

उनले भने, ‘विद्यालय भवन जीर्ण छ, न त यहाँ फर्निचर छ, न त यहाँ झ्यालढोकामा पल्ला छ, वर्षामा हिलाम्मे र गर्मीमा धुलाम्मे हुन्छ, कक्षाकोठामा विद्यार्थीलाई बसाएर पढ्न, पढाउन समस्या छ, कुन दिन यो भवन भत्किएर जान्छ भन्ने डर लागिरहन्छ, लाग्छ सायद यस वर्षामा यो भवन भत्किन्छ होला ।’ प्रधानाध्यापक वलीले विद्यालयमा भौतिक संरचना जीर्ण हुँदा पनि कुनै निकायले सहयोग नगरेको बताए ।

‘स्रोत व्यक्ति, विद्यालय निरीक्षक लगायतकालाई यहाँको समस्याका बारेमा जानकारी गराउँदै आएको छु, तर सहयोग केही पनि प्राप्त भएको छैन’ उनले भने, ‘अब स्थानीय तहले यस विद्यालयको भौतिक संरचना निर्माण तथा मर्मत गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया