साक्षर घोषणामा सुस्त मधेसका पालिका

मधेस ब्युरो । मधेस प्रदेशमा साक्षरता वृद्धि गरिने उपायहरू अपनाउन स्थानीय सरकारहरू उदासीन रहेको देखिएको छ । अहिलेसम्म मधेस प्रदेशमा पर्सा, रौतहट, धनुषा र सिराहा गरी ४ जिल्लाका कुनै पनि स्थानीय सरकारले साक्षर पालिका घोषणा गर्न सकेका छैनन् । मधेस प्रदेशमा रहेका ८ जिल्लामध्ये सप्तरीका २, महोत्तरी, बारा र सर्लाहीका १–१ वटा पालिका मात्र साक्षर घोषित भएका छन् । सप्तरीका बोदेबर्साइन नगरपालिका र सुरुंगा नगरपालिका साक्षर पालिका घोषित भएका छन् भने महोत्तरीको जलेश्वर नगरपालिका, सर्लाहीको मलंगवा नगरपालिका र बाराको बारागढी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ ।

प्रदेशका १३१ पालिका अझै साक्षर पालिका घोषणा हुन बाँकी छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार मधेस प्रदेशको साक्षरता दर ४९.७२ प्रतिशत छ । आधाभन्दा बढी नागरिक निरक्षर रहेको मधेस प्रदेशका स्थानीय सरकारहरूले पालिकालाई साक्षर घोषणा गर्न खासै ध्यान दिएका छैनन् ।

शिक्षा विकास समन्वय एकाइ धनुषाका एकाइ प्रमुख चेतकुमार पोखरेलले धनुषाका पालिकाहरूले साक्षर पालिकाका लागि पहल नगरेको र ध्यान नदिएको बताउँछन् । साक्षर घोषणा भएपछि अनौपचारिक शिक्षा कार्यक्रमका लागि बजेट तथा कार्यक्रम नआउने हुनाले पालिकाहरूले साक्षर घोषणा गरेका छैनन् । धनुषाका क्षीरेश्वरनाथ नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकालगायत कतिपय पालिकाले साक्षर घोषणा गर्न योग्य भए पनि राजनीतिक कारणले घोषणा नगरेको पोखरेलको दाबी छ । शतप्रतिशत साक्षर कुनै पनि पालिकाको नभएको तर नियमानुसार साक्षर घोषणा हुन योग्यता पुगिसकेका पालिकाहरूले पनि साक्षर घोषणा नगर्नु पालिकाको नियत नै रहेको पोखरेल बताउँछन् ।

शिक्षा विकास तथा समन्वय एकाइ बाराका प्रमुख हेमराज खतिवडाले साक्षर पालिका घोषणाका विषयमा आफूलाई खासै जानकारी नभएको बताउँछन् । एकाइ प्रमुख भएर आएको १ हप्ता मात्र भएकाले खासै जानकारी नभएको र केही दिनमा जानकारी लिएर बताउने उनले प्रतिक्रिया दिए ।
बारामा केही पालिकालाई साक्षर पालिका घोषणा गर्ने आन्तरिक तयारी भइरहेको बुझिएको छ । यसको औपचारिक पुष्टि हुन बाँकी छ । देशको सबैभन्दा कम साक्षरता भएको रौतहटमा भने साक्षर पालिकाका लागि खासै कुनै पहल भएको देखिएको छैन ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया