भर्ना नगराउने अभिभावकका सेवा रोकिने

सौर्य समाचार
बुटवल । बुटवल उपमहानगरपालिकाले विद्यालय उमेर समूहका सबै बालबालिकाहरूलाई पायक पर्ने सामुदायिक विद्यालयमा भर्ना गर्न सार्वजनिक आह्वान गरेको छ । उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आइतबार सार्वजनिक अपिल प्रकाशित गरी भर्ना अभियानलाई प्रभावकारी बनाउन पनि सब ैसित आग्रह गरेका छन् । प्रमुख सुवेदीले नगरका सबै १९ वटै वडा कार्यालयहरूलाई पत्राचार गर्दै भर्ना अभियानलाई प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।

वडा कार्यालयहरू, टोल विकास समिति, नागरिक अगुवा र समाजसेवीसमेत शिक्षासँग सरोकार राख्ने सबैलाई सहकार्यमा लिएर उत्सवका रूपमा भर्ना अभियान प्रभावकारी बनाउन निर्देशन जारी गरिएको प्रमुख सुवेदीले बताए । साथै, भर्ना भएकालाई विद्यालयमा नियमित गर्न एवम् गुणस्तरीय शिक्षाको विकास गर्न पनि सार्वजनिक आह्वान गरिएको छ ।

विद्यालय उमेर समूहका बालबालिकाहरूलाई विद्यालय भर्ना नगराउने र भर्ना गराए पनि विद्यालय नपठाउने कुनै पनि अभिभावकको लगत संकलन गरेर कार्यालयमा पठाउन उपमहानगरले वडा कार्यालयहरूमा निर्देश गरेको छ । त्यस्ता, अभिभावकलाई उपमहानगरपालिकाले उपलब्ध गराउने कुनै पनि सेवा सुविधा उपलब्ध नहुनेसमेत सूचना प्रवाह गर्न सबै वडा कार्यालय र मातहतका इकाइलाई निर्देश गरिएको छ ।

बुटवलमा अहिले सामुदायिक विद्यालयको संख्या ३९ रहेको छ । प्रारम्भिक बालविकास कक्षा सञ्चालन हुने केन्द्रको संख्या ६१ र सामुदायिक सिकाइ केन्द्रको संख्या पाँच रहेको छ । यीमध्ये एउटा केन्द्र भने हाल बन्द छ । यस्तै, संस्थागत विद्यालयको संख्या ६२ रहेको छ । गत वर्षको तथ्यांकअनुसार बुटवलमा मात्रै यस्ता बालबालिकाको संख्या ४ सय ७२ रहेको छ ।

१ देखि १४ वैशाखसम्म पहिलो चरणमा भर्ना हुन आउने विद्यार्थीका लागि पूर्ण सेटमा पाठ्य पुस्तकसमेत उपलब्ध गराउन र उनीहरूलाई हौसला प्रदान गर्ने गरी स्वागत सत्कारका कार्यक्रम गर्न नगरले वडाहरूमा पत्राचार गरिसकेको पन्थीले जानकारी दिए । उनले आवश्यक बजेट रकम सम्बन्धित विद्यालयको खातामा पठाइसकिएको र अपुग भएमा कारणसहित माग गर्नसमेत आग्रह गरिएको बताए ।

पहिलो चरणमा भर्नामा नआएका बालबालिकाहरूलाई १५ देखि ३० वैशाखसम्म भर्ना गराउने र त्यसका लागि सरकारी कर्मचारी र शिक्षकहरू घरदैलोमै पुगेर भर्नाका लागि आह्वान गर्नसमेत आग्रह गरिएको छ । यस क्रममा विपन्न बालबालिकाहरूका लागि अभिभावकत्व निर्वाह गर्न समाजसेवीहरूलाई आह्वानसमेत गरिएको छ ।

दैनिक ७ सय बालबालिकालाई खाजा खर्च !
बुटवल उपमहानगरपालिकाले सामुदायिकमा अध्ययन गर्ने अतिविपन्न बालबालिकाहरूलाई दैनिक खाजा खर्च उपलब्ध गराउँदै आएको छ । विद्यालयमा भर्ना भएका र नियमित रहेका सबै विपन्न बालबालिकाहरूलाई दैनिक २० रुपैयाँका दरले अभिभावकमार्फत खाजा खर्च उपलब्ध गराउँदै आएको शिक्षा इकाइका प्रमुख पन्थीले जानकारी दिए ।

यस्तै, सामुदायिकमा आधारभूत तहमा अध्ययन गर्ने सबै छात्राहरूलाई वार्षिक चार सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । यस्तै, आधारभूत तहका सबै दलित विद्यार्थीहरू, माध्यमिक तहका सबै दलित विद्यार्थीहरूलाई पनि वार्षिक चार सय रुपैयाँका दरले छात्रवृत्ति उपलब्ध गराइएको छ । केही विपन्न बालबालिकाहरूका लागि पनि उपमहानगरले माध्यमिक तहमा विशेष छात्रवृत्ति उपलब्ध गराएको छ ।

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ आइतबारदेखि देशभर भर्ना अभियान सुरु भएको छ । विद्यालयबाहिर रहेका प्राथमिक उमेर समूहका पाँचदेखि नौ वर्षका बालबालिकाहरूलाई भर्ना गर्ने लक्ष्यका साथ यो अभियान सुरु भएको हो ।
नेपालको संविधान–२०७२ ले शिक्षालाई मौलिक हकको रूपमा अवलम्बन गरी अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित गरेको छ । यसरी संविधानले सुनिश्चित गरेको शिक्षा अधिकार कार्यान्वयन गर्ने जिम्मेवारी तथा दायित्व संविधानअनुसार स्थानीय सरकारको रहेको छ ।

प्रतिक्रिया