सौन्दर्य प्रतियोगिता सेवा कि मेवा

लेखक : नरेन्द्रमान श्रेष्ठ

सुन्दरी, सौन्दर्य, सुन्दरता, ग्लामर र फेशनप्रति सबैजसोको आकर्षण रहेको देखिन्छ । यस्तै, सुन्दरीहरूले छोटो छोटो लुगा लगाई ग्लामर पोजिसनमा स्टेजमा क्याट वाक गर्दा दर्शकहरू आकर्षित हुने स्वभाविक हो । सौन्दर्य प्रतियोगिताहरूमा सुन्दरता र ग्लामर र सौन्दर्य मात्र नभई सुन्दरीहरूको बौद्धिकता र क्षमता, प्रतिभा आदिको पनि मूल्याकंन गरिन्छ भनेर प्रतियोगी सुन्दरीहरू र आयोजकद्वारा बताउने गरिन्छ ।

सौन्दर्य प्रतियोगिता ग्लामर र फेशनको क्षेत्र भएका कारणले पनि यसमा धेरैको आकर्षण रहेको देखिन्छ ।  सौन्दर्य प्रतियोगिताहरूमा सुन्दरीहरूको पनि आकर्षण रहेको कारणले आफैँ पैसा खर्च गरी गरी प्रतियोगितामा भाग लिन लालायित हुने र दर्शकहरू पनि आकर्षित हुने र सौन्दर्य प्रतियोगिता भनेपछि विज्ञापन दाताहरू पनि आकर्षित हुने गर्दछन् ।

पछिल्लोसमयमा नेपालमा सौन्दर्य प्रतियोगिताको लहर नै चलेको छ । सौन्दर्य प्रतियोगिता आयोजना गर्ने संघसस्था पनि धमाधम वृद्धि भइरहेका छन् । सौन्दर्य प्रतियोगिता व्यक्तिको बौद्धिकता प्रतिभा र सुन्दरताको संगम हो भनेर पनि भनिन्छ ।नेपालमा विभिन्न नामबाट विभिन्न समुदायहरूबाट हप्तैपिच्छे सौन्दर्य प्रतियोगिताहरू भइरहेका हुन्छन् ।प्रतियोगिताहरूको प्रत्यक्ष प्रसारणका लागि टेलिभिजन च्यानलहरू तँछाडमछाड गर्न थालिसकेका छन् । टेलिभिजन च्यानलले दैनिकरूपमा नयाँ पुराना सौन्दर्य प्रतियोगिताहरू प्रसारण गरिरहेका हुन्छन् । नेपालमा सौन्दर्य प्रतियोगिताको सुरुआततिर राजधानीमा मात्र सिमित थियो ।

पछिल्लोसमयमा राजधानीबाहिर पनि र जातीय समुदायहरूमा पनि सौन्दर्य प्रतियोगिता हुने गरेको छ । नेपालमा सौन्दर्य प्रतियोगिताको सुरुवात सन् १९९४ देखि भएको हो ।  सन् १९९४ मा नेपालमा पहिलोपल्ट काठमाडाैँ जेसिजले सौन्दर्य प्रतियोगिताको आयोजना गरेको थियो । नेपालमा पहिलोपल्ट मिस नेपाल नामले सौन्दर्य प्रतियोगिताको आयोजना भएको थियो । पहिलो मिस नेपाल रुवि राणा हुन् । जुनसुकै कारणले उद्देश्यले गरेको भए तापनि सौन्दर्य प्रतियोगिताको अभिष्ट भनेको मनोरञ्जन, व्यापार नै हो, तर यो कुरा आयोजकहरू मान्न तयार नभएकोजस्तो देखिन्छ ।

सौन्दर्य प्रतियोगिता भनेको पक्का पुँजीवाद हो बजार व्यवसाय उपभोक्तावाद यसको विशेषता हो । एटलान्टा सिटिका पर्यटन व्यवसायीले आफ्नो व्यापार व्यवसाय प्रवर्धन गर्न सुरु गरेको सौन्दर्य प्रतियोगिताको सुरु गरेका हुन् । त्यतिबेलै एकथरी महिलावादीहरूले चर्को विरोध गरेका थिए । यसकारणले सौन्दर्य प्रतियोगितालाई समाजसेवाको ट्याग लगाइएको थियो । महिलावादीहरूले सौन्दर्य प्रतियोगिताको चर्काे विरोध गरे पनि पछिल्लो समयमा भने यसको विरोधको स्वर खासै सुन्नमा आएको छैन शायद पहिले विरोध गर्नेहरूको लागि पनि यो पछिल्लो समयमा यो ठिक लाग्न थालेको जस्तो छ ।

सौन्दर्य प्रतियोगितामा आयोजकहरूले महिलाहरूलाई यौनजन्य वस्तुको रूपमा प्रस्तुत गर्दै मनोरञ्जनको साधन बनाई उपभोक्तावादको माध्यम बनाइन्छ भनेर सुरुको समयदेखि नै आरोप लाग्दै आएको हो । ७० को दशकमा यसको चर्को विरोधवाट बच्नको लागि यस्तो प्रतियोगितालाई ब्युटी विथ परपोज भनेर समाज सेवाको नारा जोड्न थालिएको हो । यो व्यापार व्यवसाय नभएको भए यसले आर्थिक लाभ नदिने भए वर्षौंदेखि एउटै संस्थाले सौन्दर्य प्रतियोगिताहरू गर्दै आइरहेका छन् किन त ? सौन्दर्य प्रतियोगिता गर्ने भनेको आफैँमा नराम्रो भने पक्कै होइन ।

सौन्दर्य प्रतियोगिताका आयोजकहरूले प्रतियोगीहरूको बौद्धिक क्षमताको विकास, प्रतिभा प्रस्फुटन, नेतृत्व र व्यक्तित्वको विकास प्रतियोगीहरूमा सामाजिक उत्तरदायित्वको बोध हुने आदि भए यसलाई राम्रो मान्नुपर्ने हुन्छ । सौन्दर्य प्रतियोगिताहरू देश समाज र प्रतियोगीको स्वयंको लागि हुने गरेका छन् तर यसको उपलब्धि भनेको खोइ त ? सौन्दर्य प्रतियोगिता भनेको स्टेजमा छोटो छोटो वस्त्र लगाई क्याटवाक गर्ने फररर अंग्रेजी बोल्ने ग्लामर पस्किने , दर्शकहरूलाई मनोरञ्जन दिने र एकछिनको लागि ताज लगाउने र आ—आफ्नो रहर र शोख पूरा गर्ने मात्र हो र ?

नेपाल सुन्दरी बनेर विश्व सुन्दरी (मिस वल्र्ड) प्रतियोगितामा भाग लिई सकेका सु्न्दरीहरू आज कहाँ छन् त ? मोडेल चलचित्र नायिका र भिजे बन्ने एक दुईजना सुन्दरीहरूबाहेक अरू नेपाल सुन्दरीहरूले आफ्नो अस्तित्व नै कायम राख्न सकिरहेका छैनन् । नेपाल सुन्दरी बन्ने भनेको आफ्नो टाउकोमा ताज लगाउने र दुई–चार मिडियाहरूमा चर्चा पाउन मात्र होइन भन्ने नेपाल सन्दरीहरूले बुझ्न सकिरहेका छैनन् । नेपाल सुन्दरीको ताज जितिसकेपछि उनीहरूले ‘आफ्नो भविष्यको कार्य भनेको समाज सेवा हो’ भन्न भने छुटाउँदैनन् । नेपाल सु्न्दरीहरूको समाज सेवा गर्ने घोषणा ‘हात्ती आयो हात्ती आयो फुस्सा’ मात्र भइरहेका छन् ।

विश्वमा अन्तर्राष्ट्रियस्तरका थुप्रै सौन्दर्य प्रतियोगिता हुने गरेका छन् । मिस वल्र्ड, मिस युनिभर्स, मिस एसियाप्यासेफिक, मिस अर्थ, मिस इन्टरनेसनल, मिस युनिभर्स आदि नामको सौन्दर्य प्रतियोगिताहरू हुने गरेका छन् । यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा विश्वका विभिन्न देशका सुन्दरीहरूले भाग लिने गरेका हुन्छन् । सर्वप्रथम सौन्दर्य प्रतियोगिता बेलायतका पर्यटन व्यापारीले आफ्नो व्यापारको प्रवद्र्धन गर्नको लागि सन् १९५४ मा सुरु गरेको हो भनेर भन्ने गरेका छन । पछिल्लो समयमा युरोप अमेरिकाजस्ता देशहरूमा यसको महत्व घट्दै गइरहे पनि अफ्रिका ल्याटिन अमेरिका एसियाका देशहरूमा भने यसको चहलपहल बढेको देखिन्छ ।

प्रतिक्रिया