राष्ट्रपति सी र प्रधानमन्त्री मोदीको नेपाल भ्रमण

-हरि लम्साल  नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले विदेश नीति सञ्चालनलाई गम्भीररूपमा लिँदै सरकारले ‘प्रो–एक्टिभ’ कूटनीति अवलम्वन गर्ने बताउँदै भने, ‘हाम्रो प्राथमिकता दुई छिमेकी मुलुक भारत र चीनसँग आआफ्नै प्रकारको सम्बन्ध कायम गरेर अघि बढ्ने नै हो । छिमेकी देशहरूसँगको सम्बन्धलाई विस्तार गर्ने सरकारको नीति रहेको र दुवै छिमेकीसँगको सम्बन्धलाई सन्तुलित गर्नेभन्दा पनि राष्ट्रिय हितलाई सर्वोपरी ठानेर आआफ्नै प्रकारको सम्बन्ध राखेर अघि बढ्ने र नेपालप्रति विश्वास एवं सद्भाव बढाउनु पर्दछ ।

दुई छिमेकी सम्बन्धमा अविश्वास छन् भने पनि त्यसलाई समाप्त पार्नुपर्छ । सम्बन्ध मजबुत पार्दै विकसितरूपमा अघि बढाउन सकिए नेपालको सार्वभौमसत्ता, स्वतन्त्रताको समेत रक्षा हुन्छ, हामी सार्क, बिमस्टेकजस्ता क्षेत्रीय संगठनको अध्यक्षता गरिरहेका छौँ । यसको काम पनि उत्तिकै सक्रिय बनाएर जान सक्नुपर्दछ । संयुक्त राष्ट्र संघलगायत बहुपक्षीय संस्थाहरूसँगको सम्बन्धलाई ध्यान दिएर नेपाल अघि बढ्नु पर्दछ भने ठूलो संख्यामा नेपाली युवा काम गर्ने खाडी मुलुकहरूसँगको सम्बन्धलाई सरकारले महत्व दिनुपर्दछ ।

वैदेशिक रोजगारीमा गएका युवाको कल्याण, सुरक्षा र हित पछिल्लो प्राथमिकता हुनु आवश्यक छ र कूटनीतिक नियोगलाई अझ सक्षम र चुस्त बनाइनु पर्दछ ।’ चिनियाँ राष्ट्रपति सी जिनपिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुवैको प्राथमिकतामा नेपाल रहेको उनीहरूकै सञ्चार माध्यममा आउने धारणा र शुभकामनाको हतारोले देखाइसकेको छ । नेपाल प्राकृतिक पानीढलोबाट उत्तरतिर लहसिन नदिन दक्षिणले प्रयत्न गर्नु अस्वभाविक होइन ।

चीनले पनि कम्युनिस्टहरूलाई एकगठ गर्दै नेपालमा पश्चिमा उपस्थिति कमजोर पार्ने रणनीति अवलम्वन गर्न खोज्नुलाई अनौठोरूपमा लिन मिल्दैन । तर, कम्युनिस्टमा नै पश्चिमा प्रभाव र चाप कति छ भन्ने चीनले नबुझेको पक्कै छैन । चीनले नेपालबाट पश्चिमलाई सन्देश दिन चारतिरबाट भारत वर्षलाई घेर्दै त्यहाँको बजारसमेत खोजिरहेको छ । भारत पनि चीनप्रति नरम व्यवहारमा उत्रिएको देखिन्छ । यस्तो अवस्थामा यी दुई मुलुकका कार्यकारीले नेपाल भ्रमण गर्ने सम्भावना प्रशस्त देखिएको छ ।नेपालले आफ्नातर्फबाट त्यहीअनुरूपको तयारीमा जुट्नु आवश्यक छ ।

०७२ असोज ३ मा नेपालको संविधान जारीसँगै भारतको अघोषित नाकाबन्दीले चीनसँगै पारवहन तथा यातायात सम्झौता गरेका केपी शर्मा ओली पुनः शक्तिशाली प्रधानमन्त्रीको रूपमा आएका छन् । निर्वाचनमा वाम गठबन्धनले स्पष्ट बहुमत ल्यायो, संविधान जारीसँगै संविधानमा असन्तुष्टि देखाएर आन्दोलित बनेका मधेसी दललेसमेत ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिए । संसद्मा तीन चौथाइभन्दा बढी मत लिन उनी सफल भए । ओली प्रधानमन्त्री हुने निश्चित भएपछि भारतीय प्रधानमन्त्री मोदीले टेलिफोन गरेर स्वागत गर्न आतुरता देखाउँदा उनले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिइसके ।

थाँती रहेको जनकपुर र मुक्तिनाथ भ्रमणका लागि मोदी आतुर छन् । विदेशमन्त्री सुष्मा स्वराजलाई नेपाल पठाएर भारतको चासो र प्राथमिकता स्पष्ट पार्दै ‘बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को शिखर सम्मेलन नेपालले आगामी वैशाखमा गर्ने तयारी थालेको छ र त्यही सन्दर्भमा मोदीले नेपाल भ्रमण गर्नसक्ने सम्भावना रहेको छ । त्यसैगरी भारतका प्रधानमन्त्री मोदीको भ्रमणअघि नै माओत्सेतुङपछि शक्तिशाली राष्ट्रपति बनेका सीलाई भारतको बजार पस्ने सहज पहुँच नेपाल हो ।

त्यसभन्दा पनि अन्तर्राष्ट्रिय कूटनीतिको ‘क्रिडास्थल’ का रूपमा नेपाललाई बुझेको चीनले छिमेकमा बाह्य प्रभाव नरहोस् र बलियो सरकार बनोस् भन्ने चाहना राख्छ । सीले आफ्नो मन्त्रिमण्डल फेरबदललगायत दलीय कार्यहरू सकेर अप्रिलमा विदेश भ्रमणमा निस्किँदा नेपालसमेत पार्नेमा बेइजिङस्थित नेपाली राजदूत ढुक्क देखिन्छन् । यसबाट स्पष्ट छ, राष्ट्रवादी नेताको ‘पगरी’समेत पाएका ओलीले मोदी र सीलाई नेपालमा स्वागत गरेर मात्र आफ्नो यात्रा अघि बढाएमा उनले कूटनीतिमा नयाँ मोड दिन सक्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमणपछि होला त सी र मोदीको काठमाडौं यात्रा ? सन् २०१६ को नोभेम्बरमा नै सार्कको १९औँ शिखर सम्मेलनको तयारी गरिएको थियो, पाकिस्तानमा । तर, स्थगन भएको डेढ वर्ष कटिसक्दा पनि सार्कको मिति तय हुन सकेको छैन, त्यो पनि मिति तय हुन सक्ला ? सी र मोदीको भ्रमण तय भयो भने सार्क वा बिमस्टेक भ्रमणताका अगाडि सीको भ्रमण हुन सक्छ । परराष्ट्रमन्त्री सक्षम बने भने यी भ्रमण अवश्यंभावी तय हुन सक्छन् ।

प्रतिक्रिया