ओली काकालाई चिठ्ठी

ओली काका,
पञ्चायत यताको सबैभन्दा शक्तिशाली प्रधानमन्त्री हुनु भएकोमा तपाईंलाई फेरि पनि हार्दिक बधाई दिन चाहन्छु । ८० प्रतिशतको हाराहारीमा संसद्मा जनमत प्राप्त छ । सात प्रदेशमध्ये ६ प्रदेशमा तपाईंकै पार्टी र गठबन्धनको सरकार छ । आफूले जसो भन्यो त्यसै मान्ने राष्ट्रपति छन् । राजा महेन्द्रपछि सम्भवतः तपाईं नै सबैभन्दा शक्तिशाली व्यक्ति हुनुहुन्छ । सय दिनसम्म धैर्य गर्न खोजेको, मन थाम्न कठिन भइरहेको छ ।अनेक प्रश्नहरू मनभित्र उकुसमुकुस छन् । झन्डै दुईतिहाइको समर्थन हुँदा पनि कांग्रेसबाहेक सबैलाई सत्तामा ल्याउन किन खोजेको ?

गाभिएका मन्त्रालय फेरि किन फुटाएको ? मन्त्रिमण्डललाई पूर्णता दिन यत्रो समय किन लगाएको ? नवराज सिलवाललाई न्यायिक प्रक्रिया छलेर किन ल्याएको ? यस्तै यस्तै । तैपनि चूप लागेको छु, समर्थन गरेको छु र अहिल्यै मूल्यांकन गर्ने समय होइन भनेर धैर्य गरेको छु । तर, रेशम चौधरीको विषयमा बेलैमा झक्झक्याउनु राम्रो होला भनेर तपाईंलाई चिठ्ठी लेख्दै छु । रेशमजी मैले पनि नजिकबाट चिनेका पूर्वसञ्चारकर्मी हुन् ।

उनी राजनीतिमा आएपछि मेरो संगत टुटेको छ । उनी कुन महत्वाकांक्षा बोकेर राजनीतिमा आए र अब उनको के योजना छ, त्यो उनै जानुन् । तर, उनलाई गम्भीर अपराधको अभियोग लागेको छ र अहिले त्यसको कानुनी कारबाही चलिरहेको छ । यस्तो अवस्थामा न्यायिक प्रक्रियाबाट त्यसको निरुपण नहुन्जेलसम्म उनलाई राजनीतिक संरक्षण नदिनु होला । हत्या र राज्यद्रोहजस्तो जघन्य आरोप लागेका चौधरीलाई त्यो आरोपको छिनोफानो नहोउन्जेल सांसदको उम्मेदवार हुन दिनु हुँदैनथ्यो ।

त्यसक्रममा गम्भीर त्रुटि भइसकेको छ । जनताले राजनीतिक आश्वासनका भरमा भोट दिने हुन् । निर्वाचनको जनमतले उनीमाथि लागेको अपराध चोखिँदैन । तपाईंका मन्त्रीले जुस खुवाएर अनसन त तोडाए तर यदि चौधरी शपथ लिएरै सभासद् हुन आइपुगे भने सम्झनुस् तपाईंको दुईतिहाइवाला सरकार पनि ढल्छ । ०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको बहुमतको सरकार हेर्दाहेर्दै कसरी धरासायी भयो त्यो बुझ्नु भएकै छ ।

अहिल्यैदेखि आलोचनाको भूमरीमा पर्नुभयो भने पाँच वर्ष सत्ताको बागडोर सम्हाल्न तपाईंलाई हम्मेहम्मे पर्छ । सकारात्मक रूपमा भन्ने हो भने तपाईं अहिलेको समयको जंगबहादुर हो । तपाईंले देशलाई अपूर्व समृद्धिमा पनि पु¥याउन सक्नुहुन्छ । तपाईंको नीति सही दिशातर्फ लक्षित भएन भने यो देश अझ दुःख र गरिबीको रसातलमा पनि पुग्न सक्छ । हामी इतिहासमा लेखिने यो घडीको प्रतीक्षामा थियौँ । अब त्यो घडी आएको छ । संसद्भित्र भएका सबै लोभीपापीहरूलाई खुसी राख्न खोज्नुभयो भने तपाईं अर्को शेरबहादुर बन्नु हुनेछ । तर, त्यस्तो नहोस् ।

तपाईंको शुभेच्छुक
भतिज,
चैत ७, २०७४

प्रतिक्रिया