समृद्धिका लागि युवाशक्ति परिचालन

-आनन्दप्रसाद पोखरेल   केपी ओली सरकारका मन्त्रीहरूको अनुहार हेरेर मुलुकले सन्तोषको सास फेरेको छ । युवाशक्ति र सामथ्र्यको पहिचानले मात्र प्रधानमन्त्री ओलीका विकासका सपनाहरू पूरा गर्न सकिन्छ । जो जनताका जीविकासँग अभिन्न रूपमा गाँसिएका छन् । नेपाली जनताको विकासको सपना विगत, वर्तमान र भविष्यसँग सम्बन्ध राख्दछ । आजको लक्ष्य, दिगो विकासको अवधारणा हो । राजनीतिक स्थायित्वमार्फत राष्ट्रिय समृद्धि र गरिबी निवारण गर्नु हो ।

तीन करोड जनताको चाहना आफ्ना आधारभूत आवश्यकताको परिपूर्ति हो । २१औँ शताब्दीमा विज्ञानले विकास गरेका सुविधाहरूको उपयोग गर्नु हो ।  विशेषतः देशको ठूलो हिस्सा ओगटेको १५ देखि ४५ वर्षका युवाहरूको अमुक चहाना पूरा गर्न र वर्तमान–भविष्यको सुरक्षाको प्रत्याभूति गर्नु हो । हाम्रो मुलुक संविधान निर्माणपछि समृद्धिको कार्यान्वयनको चरणमा छ । मुलुकवासी जनताको चेतनामा पुनर्जागरण ल्याई देशलाई समुन्नत र सशक्त बनाई जनताको सुखी जीवनयापन गर्ने चहानालाई पूरा गर्नु हो ।

मुलुकमा व्यक्ति, परिवार र समाजको सचेतनापूर्वक संगठित प्रयासले भोलिको सम्पन्नताको मार्ग प्रशस्त गर्दछ । नेपाली सपना देश र राष्ट्रको सपना हो । अर्काे शब्दमा नेपाली युवा तन्नेरीको सपना हो । युवाहरू क्रान्ति, निर्माण र सुधारको तीनै चरणका अपरिहार्य र महत्वपूर्ण इञ्जिन हुन् । युवाहरू आजको राष्ट्र समृद्धिका प्रतिनिधि हुन् । परिवर्तनका पहरेदार, संगठित शक्ति हुन् । हामी नेपाल राष्ट्रको विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रतिवद्ध छौँ । संविधानले मार्गप्रशस्त गरेको नेपाली जनताको परिवर्तनको चहाना समाजवादी समाजको विकास हो । यसका लागि स्रोतसाधनमा जनताको पहुँच, समावेशी विकासमा प्रतिनिधित्वको साथै सामाजिक न्यायको स्थापनामार्फत भोक, रोग, गरिबी, अशिक्षा, कुपोषणको अन्त्य गर्नु महत्वपूर्ण एजेन्डा हो ।

संविधानको मार्गदर्शन हो । यो मार्गदर्शन पूरा गर्न हामीबीच धेरै तगाराहरू छन् । प्रत्यक्ष सामन्तवादको अन्त्य भए पनि यसको अवशेष र चिन्तनमा सामन्तवाद बाँकी नै छ । नोकरशाही, दलालपुँजीवाद र कमिसनखोरको बिगबिगी व्याप्त छ । यी तत्वहरू नेतृत्ववर्गका सारथी पनि हुने गरेका छन् । आर्थिक तथा सामाजिक समृद्धिसहित मुलुकको विकास, परिवर्तनका लागि सुशासन कायम गर्दै भष्ट्रचारमुक्त राज्यसत्ता निर्माण गर्नु हो । वैदेशिक औपनिवेशिक शोषण, स्रोतमाथिको थिचोमिचो, वैदेशिक सहयोगमा नाममा सर्तबन्दी, शक्ति राष्ट्रहरूको हेपाहा चिन्तन र पर्यावरणीय समस्या विकास र समृद्धिका बाधक हुन् ।

यी हाम्रासामु एकपछि अर्काे पर्खाल भएर खडा छन् । यिनलाई पराजित नगरेसम्म विकासका नीति, सिद्धान्त र कार्यक्रम जति सुन्दर भए पनि दिगो विकास र प्रतिफलमुखि विकास र यसमा जनताको पहुँचको विकास संभव छैन । यसको प्राप्ती राजनीतिक निर्णय इच्छाशक्ति र क्षमतामा भर पर्दछ । जसरी पानीका अघिल्ला छालहरूलाई पछिल्ला छालहरूले धकेल्छन् त्यसैगरी हाम्रा युवा पुस्ताले मुलुकको हरेक संरचनाबाट अग्रज पुस्तालाई धकेल्न सक्नुपर्दछ । यसो भएमा मात्र कर्मचारीतन्त्र र परम्परावादी भ्रष्ट राजनीतिक नेतृत्व र दलाल पुँजीवादीका भरियाहरूलाई पराजित गर्न सक्छ ।

यसोगरेको खण्डमा मात्र युवापुस्ताले आफ्नो दायित्व निर्वाह गरेको ठहर्छ । यतिखेर युवाहरूले आफूमाथि देशले सुम्पिएको अभिभारा साहस र धर्यताका साथ वहन गर्न सक्नुपर्दछ । युवापुस्ता निश्चित उद्देश्य प्राप्तीका लागि क्रियाशील, त्याग र समर्पणभावले अविचलितभई अगाडि बढ्नु पर्दछ । यसो गर्दा ऊ व्यावहारिक र यथार्थवादी हुन जरुरी छ । युवाहरू आदरणीय, वैचारिक, संगठित र अनुशासित हुनुपर्दछ । राष्ट्र र जनताको अगुवाईमा दत्तचित्तभई लाग्नुपर्दछ । तथ्यबाट सत्य खोज्ने, परिस्थितिको ठोस विष्लेषण गर्ने र नेपाली विशेषताको राजनीतिक प्रणाली र विकास मोडेल प्राप्तीमा विश्वासका साथ अगाडि बढ्ने सुझबुझ हुनु जरुरी छ ।

युवाहरूमा अन्तरनिहित सैद्धान्तिक बुझाइ, ज्ञान, वैज्ञानिक विश्लेषण र आदर्श मात्र सफलताका मानक होइनन् । यसका लागि युवाहरूमा व्यावसायिक कुशलता, जोखिम मोल्न सक्ने सहासका साथै ज्ञान र सीपको आवश्यकता पर्दछ । यसको अतिरिक्त कुशल व्यवस्थापन र नेतृत्व आजका युगको माग हो । त्यसैले ज्ञान प्राप्तीलाई उच्च प्राथमिकता दिँदै उत्तरदायी र नैतिकवान जीवनपद्धति अंगिकार गर्नुपर्दछ । युवाहरूले भू–मण्डलीकरणले जन्माएको अवसरलाई र आधुनिककारणले ल्याएको हाँकको सामान गर्न आफ्नो ज्ञान र सीपलाई खरो उतारी कार्यक्षेत्रमा कार्यान्वयन गर्न सक्नुपर्दछ । यसलाई जनता र समाजको भट्टीमा खार्न सक्नुपर्दछ ।

आफू र आफ्नो पुस्तालाई भविष्यप्रति विश्वास र भरोसाका नयाँ आशाको जागृति गर्दै कर्मशील समाजको निर्माण गर्ने अगुवाई युवाले नै गर्नुपर्दछ ।  दोहो¥याउनु पर्दैन युवाहरू हाम्रो समाजका अति गतिशील र सिर्जनशील पंक्ती हुन् । उनीहरू नयाँ ज्ञान सिक्न बुझ्न र त्यसलाई जीवनमा प्रयोग गर्न आतुर हुन्छन् । अर्थात् युवा सिर्जनशीलता नयाँ प्रयोगका सूत्रधार हुन्, नविन विचारको प्रयोग र सिर्जना राष्ट्रको प्रगतिको आत्मा हो । देशको समुन्नति कहिल्यै नसकिने गति हो ।मानिसको जीवन निरन्तर गतिशील हुन्छ । ऊ जहिले पनि परिवर्तनको पक्षपाती हुन्छ । त्यसैले उसले हरेक दिन नवीन चिन्तन, सोचसहित आफूलाई नवीनकरण गरिरहनु पर्दछ ।

त्यो नै समयसँगै त कहिलेकाहीँ समयभन्दा अगाडि हिँड्ने पथप्रर्दशक हो । त्यसैले युवाहरूले सधँै नयाँ चेतना, नयाँ चिन्तन, नयाँ विश्वदृष्टिकोणको सर्जक बन्न सक्नुपर्दछ । ऊ पुरानो चिन्तन र यथास्थितिमा रमाउँदैन । नयाँ खोज र गन्तव्य उसको इच्छा हो । ऊर्जा हो । पुरानाको राम्रो पक्षको व्यावहारिक प्रयोग र नराम्रा पक्षलाई निषेध गर्दै नयाँको प्रयोग युवाको कार्यशैली हुनुपर्दछ । जसको कारण परम्परागत ढंगले चलेको सामन्ती र सम्राज्यवादी पतनमुखी संस्कृतीक पद्धतीको विरुद्ध नयाँ र प्रेरक बनेर नेतृत्व गर्नुपर्दछ । आफूः परिस्थिति हेर्ने होइन फेर्ने योद्धाको रूपमा उभ्याउन सक्नुपर्दछ ।

युवाहरूले मन, वचनलाई स्वच्छ राखी, नकारात्मक ढंगबाट परिचालित नभई उपभोक्तावादी चिन्तनबाट अलग राख्दै, साहसपूर्वक अगाडि बढ्न हिम्मत राखी अघिल्लो पुस्ताको राम्रो कुरा सिक्दै तिनीहरूलाई उछिन्ने उद्देश्य राख्नुपर्दछ । यसो गर्दा छलछाम, षड्यन्त्र, भष्ट्रतत्वलाई साधनको रूपमा होइन यस्ता सामाजिक वैरीहरूको कर्ताको रूपमा उभिँदै, खतराबाट जोगिनु पर्दछ । सधैँ युवाको ऊर्जा देश, राष्ट्र, जनता, विकास र लोकतन्त्रको पक्षमा खरो उतार्न सक्नुपर्दछ । छिटो हिँड्ने नाममा कसैको एजेन्ट बन्न सक्ने खतराबाट मुक्त हुनुपर्दछ । नेपाली राजनीतिमा यस्ता खतरा सतहमा देखिएका छन् । युवापुस्ता यसबाट बरालिने र उपयोग पनि भइरहेका छन् । यसबाट मुक्त गराउन निर्ममतापूर्वक प्रयास गरिनु पर्दछ ।

विचारवान युवाहरूको कडा परिश्रम र समर्पणले मात्र मुलुकको विकास सम्भव छ । प्रणालीको रक्षा गर्न सम्भव छ । संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न सम्भव छ । राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा र समृद्धिको नेतृत्व गर्न सम्भव छ । त्यसैले घोषित लक्ष्य प्राप्तिका लागि, आदर्शहरू प्राप्तिका लागि निरन्तर परिश्रम गरिरहनु पर्दछ । त्यसबाट मात्र मानव आदर्शहरू, संविधानका अपेक्षाहरू, घोषणा पत्रका लक्ष्यहरू परिपूर्ति गर्न सकिन्छ । आजसम्मको हामीले गरिबी, पछौटेपन, अस्थिरता, अस्तव्यस्तता, हिंसा, विभेद मात्र प्राप्त गरेका छौँ । यसबाट मुक्ति पाउन सहयोग गर्ने भरोसायोग्य पुस्ता युवा हो ।

त्यसैले हामीले प्राप्त गरेका आगामि विकासका बाटाहरू, अवसरहरूलाई अनेकौँ अप्ठेराहरूको बीचबाट सकुशल अवतरण गरिनुपर्दछ ।काम गर्दा अर्थात नेतृत्व गर्दा कमीकमजोरी प्रशस्त हुनसक्छन् । त्यसलाई पन्छाउने र सुधार गर्नेहरू नै समाज सुधारका शक्तिशाली प्रेरक हुन्, विजेता हुन् । युवाहरू सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक आचरणकोे अगुवाइ गर्ने सामाजिक शक्ति हुन् । त्यसैले युवामा उच्च चेतना, नैतिक तथा भ्रष्टचारमुक्त आचरण, स्वच्छ मूल्य मान्यता, पारदर्शी जीवनशैली, अत्यन्त क्रियाशिल वर्गभित्र पर्नुपर्दछ । समाजवादी चिन्तनको नेतृत्वकर्ता, देशभक्त, लोकतन्त्रिक मूल्यमान्यताका पथ प्रदर्शक ।

घर, परिवार, समाजका सतपात्र, स्वास्थ्य र सादगी जीवनशैली, सधैँ आशावादी, सकारात्मक परिवर्तनको पक्षपाती निष्ठावान व्यक्ती बन्न सक्नुपर्दछ ।समाजका कमजोर व्यक्ति र पछाडि परिएको वर्ग र तहका जनताको हितको प्रतिनिधित्व गर्न सक्ने हुनुपर्दछ । आजका कतिपय युवाहरू छाडा संस्कृति, उपयोगितावादी चिन्तन, भ्रष्ट र दलाली मनोवृत्ति, दुव्र्यसनीको कुलत, विकाउ बस्तु, नकारात्मक पद्धतीका बाहक, गुन्डागर्दीका संवाहक पनि छन् । ठग, कामचोर, आतंकवादी क्रियाकलापमासमेत संलग्न भएर केही युवाहरू राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरसम्म बदनाम छन् । यस्ता युवालाई सदमार्गमा ल्याई, रूपान्तरण गरी नयाँ आशाको सञ्चार गर्ने नेतृत्वदायी भूमिका पनि युवाहरूले नै खेल्नु पर्दछ ।

यिनीहरूलाई सुधार गरी नयाँ जीवनमा फर्काउने राष्ट्रिय हितमा प्रयोग गर्ने कामको नेतृत्व पनि युवाले मात्र गर्न सक्छन् ।देशका लागि सर्मपित युवा निरन्तर सकारात्मक परिवर्तनको लागि क्रियाशील भएमा देश समुन्नत हुन्छ ।  युवा सशक्त र बलवान भए देश सक्षम हुन्छ । मैले यसो भनिरहँदा राज्यले एकोहोरो युवाबाट मात्र अपेक्षा राखिरहने होइन । उनीहरूलाई आजभोलि नै आशाको सिर्जना गर्ने युवाको मौलिक हक, युवा अधिकार र सामुदायिक हित, वृद्धि विकासमा चासो राख्ने र अवसर प्रदान गर्न सक्नुपर्दछ ।

युवाका लागि नयाँ प्रविधि र उनीहरूका सकारात्मक सोचाइहरूको कदर गर्दै यथोचित अवसर प्रदान गराउनु पर्दछ ।उनीहरूको शिक्षा, सीप विकास, रोजगार, स्वरोजगार र अन्य व्यक्तिगत हितमा संरक्षण खोज्नु उनीहरूको नैसर्गिक अधिकार हो । उनीहरूको आकंक्षाहरूको सम्बोधन, व्यवसाय छनोटको अवसर, भरोसायोग्य साथी राज्य व्यवस्था हुनुपर्दछ । त्यसोभए मात्र युवा परिचालित हुन्छन् । यसको पक्षपोषण गरिनु सरकार र राज्यको दायित्व पनि हो ।

अन्तमाः
युवापन जीवनमा एकपटक प्राप्त हुन्छ । आफूलाई, आफ्नो ऊर्जाशील समय कहाँ र के का लागि खर्च गर्ने यसको निर्णय गर्ने आधिकारिक व्यक्ति तपाईं नै हो । यसबाट कसरी देश जनता र राष्ट्रको लागि समर्पण हुने वा बढीभन्दा बढी आफ्नो लागि लाभ उठाउने छनोट तपाईंको हो । ठीक बेठीक छुट्याउने आफ्नो बाटो रोज्न युवा स्वतन्त्र छन् । तर, मेरो अपेक्षा युवाको दिमाग र समर्पणले नेपाली राजनीति परिवर्तनलाई संस्थागत गर्दै समृद्धि नेपाल निर्माण गर्नु अग्रसर हुनु र पूराना पुस्तालाई पालो दिई नेपालको निर्माणकर्ता, नेतृत्वकर्ता हुन सकुन् ।

आफू जवान छँदा कठिन परिश्रम, दृढनिश्चयभई सफल तर असफलताबाट पाठ सिक्दै अगाडि बढ्ने गोरेटो कोर्न सकौँ । युवाको नेतृत्वमा विक्रम संवत २१०० साल सम्ममा एक समुन्नत, सशक्त, समृद्ध, सांस्कृतिक रूपले विकसित, उच्च सामाजिक सदभावयुक्त आधुनिक लोकतान्त्रिक समाजवादी समाजको निर्माण गर्नुपर्छ । सरकारका दायित्व र कर्तव्य पनि यही हो ।

प्रतिक्रिया