-अञ्जु कार्की केही वर्षअघि कुकुर तिहारको अवसर पारेर एक टेलिभिजन च्यानलले राजधानी काठमाडौंका सम्भ्रान्तहरूको कुकुर पालनको श्रव्यदृश्य सामग्री प्रसारण गरेको थियो । जसमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा निवासको श्रव्यदृश्यले त्यतिवेला धेरैको मन छोयो । श्रीमती आरजु राणाले आफूले पालेका चारै वटा कुकुरका बारेमा छुट्टाछुट्टै परिचय दिइन् । डेढ लाख रुपैयाँ तिरेर युरोपबाट ल्याइएको कुकुरको परिचय दिँदै भनिन्, ‘यसका लागि त खानेकुरासमेत युरोपबाटै ल्याउनुपर्छ , ज्यादै खर्चिलो छ , यसको मूल्य जति पर्छ , यसलाई मासिक खर्च पनि त्यति नै लाग्छ ।
अफ्रिकाबाट ल्याइएको अर्को कुकुरको परिचय दिँदै भनिन् –‘ खासगरी शिकारी जातको यो कुकुर ६०–७० हजार रुपैयाँ मै पाइन्छ । यसका लागि खानेकुरा काठमाडौंकै होटलहरूबाट आँउछ , यसको खर्च मासिक ३०–४० हजार रुपैयाँ जति होला ।’ नेपालमा भोटे कुकुरका नामले चिनिने सबैभन्दा सस्तो कुकुरको बारेमा परिचय दिँदै उनले भनिन्– ‘हेर्नोस् न सबैभन्दा खाइलाग्दो छ यो कुकुर, भोटे कुकुर हो, १५–२० हजारमै पाइन्छ , यसका लागि त मासिक खर्च १५–२० हजार पनि छैन ।’
श्रीमती राणा निस्केपछि संवादाताहरूले कुकुर स्याहार–सम्भार गर्ने अधवैँशे पुरुषसँग जिज्ञासा राखे , तपाईंको मासिक तलब कति हुन्छ ? उनले जवाफ दिए–‘ महिनाको ७ हजार ।’ कहाँ बस्नुहुन्छ ? उनले जवाफ दिए ‘कपन’ । यति तलब त आवतजावत गर्दा बसभाडामै सकिन्न र ? भन्ने प्रश्नमा उनले जवाफ दिए–‘ कपनबाट यहाँ आउने छोटो बाटो छ , १ घण्टामा पैदल नै आउन सकिन्छ ।’ चार ओटा कुकरका लागि मासिक करिब ३ लाख रुपैयाँ खर्च गर्नेले कुकुरको स्याहार सम्भार गर्ने राखिएको मान्छेलाई बस चढ्न र खाजा खान पुग्ने तलब दिन पनि कन्जुस्याइँ गरेको यो प्रकरण राजधानी काठमाडौंका प्रायःजसो सम्भ्रान्तहरूको यर्थाथता हो ।
राजधानी काठमाडौंमा भुस्याहा कुकुर जति समस्या बनेका छन् घरपालुवा कुकुर त्यो भन्दा कम समस्या बनेका छैनन् । भलै केही सम्भ्रान्तहरूले आफूले पालेका कुकुरहरूको मलमुत्र विसर्जन आफ्नै घर कम्पाउन्डमा गर्ने व्यवस्था मिलाएको भए पनि प्रायःजसोले भने मलमुत्र विर्सजनका लागि कुकुरलाई सडक (अर्काको घर अगाडि) पु¥याउने गर्छन् । एकातिर मुलुकलाई सन् २०१७ भित्रमा खुला दिसामुक्त बनाउने अभियान जारी छ । भलै लक्ष्यअनुसार प्रगति हुन सकेको छैन, तर राजधानी काठमाडौं उपत्यकाभन्दा धेरै टाढाका दूरदराजका गाउँहरूमा पनि यो अभियान पुग्नु आफैँमा सुखद लक्षण हो ।
मुलुकका प्रत्येक गाउँपालिका , महानगरपालिका , उपमहानगरपालिका तथा नगरपालिकाहरूमा खुला दिसामुक्त अभियान चलिरहेको छ । धेरै हदसम्म सुधार देखिएको पनि छ । गाउँ तथा टोलहरूमा विशेष समारोहका साथ धमाधम खुला दिसामुक्त क्षेत्र घोषणा भइरहेका समाचार मिडियामा नियमित आउँछन् । जहाँ खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको छैन । त्यहाँ पनि सरकारी , गैरसरकारी तथा समुदायको प्रयास जारी छ । अनुसन्धान र अनुमगन भइरहेका छन् । यसरी सरकारले अल्पकालिन र दीर्घकालीन रणनीति बनाएर शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा विविध कामहरू गरिरहेको छ । ठूलो बजेट यसमा लगानी गरिरहेको छ ।
तर ग्रामीण भेगमा विविध कठिनाइ बाँकी नै छन् । पुस्तौँदेखि खुला ठाउँमा दिसापिसाब गर्दै आइरहेकाहरूलाई शौचालयमा जाने बानी पार्न सजिलो छैन । कतिपयको शौचालय बनाउने जग्गा छैन , कतिपयसँग शौचालय बनाउन सक्ने आर्थिक अवस्था छैन । यसका बाबजुद पनि मुलुकका गाउँघरतिर १० वर्षअघिको र अहिलेको अवस्थामा आमूल परिर्वतन भइसकेको छ । तर मुलुकको राजधानीसमेत रहेको काठमाडौं उपत्यकावासीहरूलाई भने बिहान उठेर घरबाहिर निस्कनासाथ पहिलो स्वागत दिसापिसाबले गर्ने गरेको छ । एकाबिहानै घरको गेटमा भुस्याहा कुकुरहरूले तुक्र्याइसकेका हुन्छन् । कुकुरको तुर्को र लिँडको पार गर्दै सडकमा पुग्दा अर्को जात्रा सुरु हुन्छ ।
आफ्नो घरको कुकुरलाई तुक्र्याउने र लिँड्क्याउने मान्छेहरूको ताँती सडकमा देखिन्छ । आफूले पालेको कुकुरको मलमुत्र आफ्नै घरअघि विसर्जन गर्न काठमाडौंका सम्भ्रान्तहरूलाई अप्ठ्यारो लाग्छ । उनीहरू लाजै नमानी कुकुर डो¥याउँदै अर्काको घर अगाडि पु¥याएर तुक्र्याउन र लिँड्क्याउन लगाउँछन् । तराईतिर लोहोटा लिएर सडकमा जानेहरू बरु अरू मान्छेलाई देख्दा टाउको निहु¥याउँछन्, तर काठमाडौंका सम्भ्रान्तहरू कुकुर डो¥याएर सडकमा मलमुत्र विसर्जन गर्न ल्याउनुलाई आफ्नो शान ठान्छन् ।
अर्काको घरअघि ल्याएर कुकुरलाई तुक्र्याउन र लिँड्क्याउन लगाउनुलाई शान ठान्ने संस्कृति राजधानी काठमाडौंमा मौलाएको छ । यही प्रयोजनका लागि नै कुकुर पाल्नेहरूको पनि काठमाडौंमा छन् । कुकुर पाल्नुलाई शान ठानिने गरिएकै कारण काठमाडौंको काँठ क्षेत्रका किसानले हिजोआज गाईको सट्टा कुकुर पाल्न थालेका छन् । एउटा गाईका लागि र एउटा कुकुरका लागि हुने मासिक खर्च उत्ति हो । मुल्य पनि उत्ति नै पर्छ, तर गाई पाल्नेहरूलाई हेप्ने र कुकुर पाल्नेहरूलाई सम्भ्रान्त ठान्ने प्रवृत्ति पछिल्लो समयमा मौलाएको छ । दूध , घिउ , दही , मोही त अमृत नै मानिन्छ , गौमुत्र तथा गोबरको महत्व पनि कम छैन । गौमुत्र र गोबरको धार्मिक महत्व मात्रै छैन स्वास्थ्यको दृष्टिले पनि उत्तिकै महत्व छ ।
तर कुकुरको तुर्को र लिँड्को यति हानिकारक छ कि यसको वरिपरि झारसमेत उम्रिदैन । कुकुरको टोकाइ सर्पको टोकाइ भन्दा पनि खतरा हुन्छ । काठमाडौं महानगरपालिकाभित्र मात्रै करिब २२ हजार भुस्याहा कुकुर रहेको तथ्यांक छ । घरपालुवा कुकुरहरूको संख्या यो भन्दा बढी भएको अनुमान छ । तर भरपर्दो रेकर्ड गरिएको छैन । घरपालुवा कुकुरका लागि महानगरपालिकाले छुट्टै दर्ता प्रणाली राख्नुपर्ने सुझाव पनि विज्ञहरूले नदिएका होइनन् तर यो सुझाव कार्यान्वयनमा चासो दिइएको छैन । कुकुर पाल्नका लागि लाइसेन्सको व्यवस्था गर्दै कर प्रणालीमा आबद्ध गराउने हो भने महानगरपालिकाका लागि आम्दानीको भरपर्दो स्रोत हुन सक्छ ।
कुकुरले गर्ने फोहरको समस्या त आफ्नो ठाउँमा छ , कुकुरले टोकेका बिरामीको उपचारका लागि त्यति नै ठूलो रकम खर्च भइरहेको छ । काठमाडौंको टेकु अस्पतालको तथ्यांक मात्रै हेर्ने हो भने पनि कहालिलाग्दो छ । टेकु अस्पतालले मात्र गत साउनदेखि माघसम्म करिब ५७ हजार चार सय ३९ पटक एन्टिरेबिज खोप लगाइदिएको तथ्यांक छ । कुकुरले टोकेमा एक जनाले कम्तीमा चारपटक एन्टिरेबिज खोप लगाउनुपर्छ । यस आधारमा गत साउनदेखि माघसम्म कुकुरले टोकेका कम्तीमा १४ हजार पाँच सय बिरामी टेकु अस्पताल पुगेको देखिन्छ । अस्पतालका अनुसार हरेक वर्ष कुकुरले टोकेका बिरामीको संख्या पाँच हजारले बढिरहेको छ । दुई–तीन वर्षअघिसम्म प्रत्येक वर्ष १८ हजारको हाराहारीलाई कुकुरले टोक्ने गरेकामा यो संख्या बढ्दो छ ।
काठमाडौं महानगरपालिकाभित्र २१ हजार आठ सय ५६ भुस्याहा कुकुर रहेको तथ्यांक छ । यो ०७३ सालको आँकडा हो । काठमाडौं महानगरपालिका, ह्युमन सोसाइटी इन्टरनेसनल र द जेन गुडल इन्स्टिच्युटले संयुक्तरूपमा कुकुरको संख्याको अध्ययन गरेका थिए । आफ्नो घरभित्र के पाल्ने , के नपाल्ने व्यक्तिगत स्वतन्त्रताको कुरा हो, तर आफ्नो स्वतन्त्रताका नाममा अर्कालाई दुःख दिनु अपराध हो । कुकुर पाल्नु नराम्रो हो भन्ने आशय यस पंक्तिकारको होइन । कुकुरलाई इमान्दार पशु मानिन्छ । मानिसले आफू जंगली अवस्थामै रहँदादेखि कुकुर पाल्न थालेको विश्वास गरिन्छ । शिकारदेखि घरको सुरक्षा गर्ने काम होस् वा विभिन्न तरिकाले मनोरञ्जन प्रदान गर्ने काम होस् कुकुरले मानिसलाई सधैँ साथ दिँदै आएको छ ।
कुकुरले कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ति हुने बेलामा पूर्वसूचना दिन्छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । यही गुणको कदर गरेर मानिसले कुकुर पाल्ने गरेका हुन् । हाम्रा पौराणिक गाथाहरूमा पनि कुकुरसँग जोडिएका अनेकौँ प्रसंगहरू छन् । वेदमा देव कुकुर्नी ‘शरमा’ले इन्द्रको दूत बनेर असुर व्यापारीहरूसित वार्ता गरेको प्रसंग छ । यस्तै, अर्को पौराणिक प्रसंगमा यिनका छाउरालाई सानो गल्तीका कारण यज्ञकर्ताहरूले कुटेकाले कुकुर्नीले उनीहरूलाई श्राप दिएको प्रसंग छ । यस्तै, महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर साथै गएको तथा अन्तिममा युधिष्ठिरसित ऊ पनि स्वर्ग पुगेको कथा छ । उक्त कथामा कुकुरलाई यमराज वा धर्मराजकै स्वरूप बताइएको छ ।
प्रतिक्रिया