सामाजिक, आर्थिक र सुशासनका लागि वाम एकता अपरिहार्य

-निमानन्द रिजाल  ‘ओछ्यानबाट बिउँझे झै हाम्रो राष्ट्र पनि बिउँझदै छ । हामी हजाराैँ वर्षदेखि जरो गाडेर बसेको सामन्ती व्यवस्थालाई फालेर बिउँझेका छौँ । नेपाल र नेपाली पनि बिउँझिरहेका छन् र २ सय ३८ वर्षसम्म शासन गरेको राजतन्त्रलाई फ्याक्न सफलता मिलेको छ । यो लामो संघर्षलाइ साथ दिने नेपालका सबै पार्टी र जनतालाई श्रेय जान्छ भने ०६ सालदेखि नै नौलो जनवादी क्रान्तिको सपना देख्दै लगातार संघर्षरत कम्युनिस्ट पार्टीको ठूलो भूमिका छ । ०७ सालको क्रान्तिमा पनि कम्युनिस्ट पार्टीले क्षमता अनुरूप नेपाली कांग्रेसले नेतृत्व गरेको संघर्षमा होमिएर साथ दिएको थियो । यो क्रान्तिले राणा शासनलाई पाखा लगाएको थियो ।

एकता, संघर्ष र रूपान्तरण यो प्रक्रिया अनवरत चलिरहन्छ । नेपाली कंग्रेसको अदूरदर्शी नेतृत्वले गर्दा पुँजीवादि क्रान्ति सम्पन्न हुन सकेन र पुनः जनता सामन्तवादकै चंगुलमा फसे । नेपाली समाजको चरित्र समन्वयात्मक र संघर्षशील चरित्रको फ्युजन हो । नेपालको इतिहासमा क्रान्तिकारी शक्तिहरूले पुँजीवादी र सामन्तवादी शक्तिहरूलाई छुट दिइरहेको पाइन्छ । प्रतिक्रियावादीहरूले सधैँ चोरदाउले आक्रमण गर्ने र बदला लिने मात्र गरेका छन् । नेपालको सन्दर्भमा माओ बोलेकोजस्तो लाग्छ । नेपालको जनसंख्याका बालिग मतदाताको ६५ प्रतिशत मत भएका कम्युनिस्टहरूलाई फुटाउने र आफूले मजाले शासन गरिरहेको अवस्थामा एकताको आवश्यकताको गहिराइमा पुगेर माओवादी केन्द्र र एमालेको एकता भएको हो ।

यसलाई फुटाउन अनेक प्रपञ्च गरिरहेका छन् भने वाम पनि समयानुकूल समाजवादमा र समाज रूपान्तरणका लागि अनवरत लागिरहेका छन् र रहनु पनि पर्दछ । अहिलेको जनमतले के भन्छ ? यो महत्वपूर्ण प्रश्न हो । केही साथीहरूले आफ्नो सोच मात्रै क्रान्तिकारी र अरू सबै दक्षिणपन्थी देख्ने र खासरूपमा द्वन्द्ववादी दर्शनको सही पहिचान गरी लागू गर्न चुकिरहेको भेटिनुहुन्छ । यो अवस्थामा पार्टीलाई साथ छोड्नु हुन्छ । द्वन्द्वात्मक भौतिकवाद आदर्शवादभन्दा वस्तुगतरूपमा फरक छ । माक्र्सवादीहरूले द्वन्द्वात्मक भौतिकवादको प्रयोग गर्नुपर्छ । त्यसका लागि दर्शनको अध्ययन अनिवार्य हुन्छ । द्वन्द्ववादको कार्यान्वयन नगर्दा माक्र्सवादी कार्यकर्ताहरू मनोगतवाद र यान्त्रिकतामा फस्दछन् ।

यस्ता कमीकमजोरी त्यागेर सही वस्तुको सही विश्लेषण गर्न द्वन्द्ववादी बन्नै पर्छ । अहिले सम्मको इतिहास हेर्दा युद्धका विभिन्नरूप भेटिन्छन् र अहिलेको विशेष परिस्थितिमा नौलो जनवादी क्रान्तिका धेरै कार्य मध्येको किसानको हातमा राज्यसत्ता पूर्णरूपमा नआएता पनि माओको पालामा जस्तै सत्ता प्राप्तीको खेलमा साम्राज्यवादी शक्तिहरू एक भएर नेपाली क्रान्तिलाई दबाउने र निस्तेज बनाउने रणनीतिलाई चिर्दै नेपालका माओवादीहरूले महत्वपूर्ण उपलब्धीहरू हात पारेका छन् । गणतन्त्र, संघीयता, संविधानको निर्माण संविधानसभाबाट, समानुपातिक प्रतिनिधित्व आदि ।

अहिले यी सबै उपलब्धिको रक्षामा प्रचण्डले स्थानीय चुनावको पहिलो खण्ड आफ्नै नेतृत्वमा सम्पन्नगराई सहमति अनुरूप नै नेपाली कांग्रेसलाई जिम्मेवारी दिएर नेपालको स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव सम्पन्न भयो । यो प्रचण्डको राजनीतिक इमानदारी र कुशलता पनि थियो । प्रदेशसभामा र प्रतिनिधिसभामा एमालेसँग चुनावमा एकता गर्दै पार्टी एकीकरणका कुराहरू आएर जनतामा अत्यन्तै उत्साह थपियो र चुनावी परिणाम वाम एकताको पक्षमा आयो । यो माओवादी केन्द्रकोे दूरदर्शिताको प्रतिफलले मात्र सम्भव भएको होे । यो अहिलेको वाम एकता र लगातार क्रान्तिको एक रूप हो । अध्यक्ष प्रचण्डले संसदीय मोर्चालाईसमेत युद्धकै एउटा स्वरूपका रूपमा लिएर भूमिका खेल्न जोड दिनुभयो ।

यो जनताका पक्षमा रक्तपातविहीन युद्घ हो, यसलाइ खाली परम्परावादी संसद्को रूपमा नलिनुहोला, जनताले हामीबाट परिवर्तनका पक्षमा धेरै आशा गरेका, त्यही अनुरूप भूमिका निर्वाह गर्नुहोला । प्रचण्ड युद्धका कमान्डर हुन् र यो जहाजलाई कसरी बचाएर यो स्थितिमा ल्याइपु¥याएको मूल्यांकन गर्न नसक्ने र हिजो नै आज हो भन्ने शक्ति (यान्त्रिक शक्तिहरू) पनि पन्छिए । यसका बाबजुद माओवादी केन्द्रले आफ्नाे गतिशीलतालाई कायम राख्दै युद्घमा अपनाउनु पर्ने विभिन्नरूपको प्रयोग गर्दै द्वन्द्ववादी दृष्टिकोणलाई सही रूपले पक्डिएको छ । यो व्यवहारमा रूपान्तरण हुँदै छ । इतिहास दोहरिँदैन तर सोही प्रकृतिका घटनाहरू रूपान्तरित रूपमा विभिन्न ठाउँहरूमा भेटिन्छन् ।

‘रसियन जनताहरूले १२ नोभेम्बर १९१७ मा पहिलो संविधानसभाको चुनाव गर्दछन्, बोलसेभिकहरूले ७ सय १५ मध्ये १ सय ७५ सिट मात्र जित्छन्, जसको नेतृत्व लेनिनले गर्नुभएको थियो । क्रान्तिकारी समाजवादी पार्टीले ३ सय ७० सिट जित्यो । धेरै सिट भएर पनि समाजवादी पार्टी बोलसेभिकसँग मिलेर सरकार बनाए । नेपालको वाम एकता पनि यस्तै लाग्ने घटना हो । जनता परिवर्तन चाहान्छन् र वामहरू एकठाम भएर देशलाई विकासमा तीव्र बनाउन, सुशासन कायम होस्, रोजगारीको सिर्जना होस्, संघात्मक राज्यहरू सफल होउन र देश समृद्धि बढोस्, यो जनादेश हो । मुख्य कुरा जनताको आवाज हो, जनताको चाहना हो । जनता एकताको पक्षमा छन्, त्यसकारण हामीहरू मिल्नुपर्छ ।

सामाजिक रूपान्तरण : नेपाल सारमा अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थाबाट पुँजीवादी संक्रमणको अवस्थाको विकासमा गुज्रिरहेको छ । सामाजिक रूपान्तरण पनि पुँजीवादी बाटोमा बढिरहेको छ । जीवन जिउन अपनाउनपर्ने बाध्यात्मक अवस्था पुँजीवादले सिर्जना गर्छ । काम गर्नुपर्ने र सम्पत्ति कमाउनुपर्ने भन्ने चेत पुँजीवादले निर्माण गर्छ । यो चेत पनि उत्पादनसँग गाँसिएको हुन्छ । यसर्थ सामाजिक रूपान्तरण आर्थिक विकास सँगसँगै भएको हुन्छ ।

आर्थिक विकासले दैनिक जीवनभन्दा माथि उठेर जनताहरू काम गर्न र सोच्न थाल्छन् । यसले रुढिवादी चिन्तन प्रणालीलाई नष्ट गर्दछ । जीवन जिउन अर्धदासको रूपमा बस्न बाध्यात्मक अवस्था आउँदैन किनकी आर्थिक स्वतन्त्रताले जीवन स्वतन्त्र बनाउन मद्दत गर्दछ । यसरी आर्थिक विकाससँगै सामाजिक विकास पनि भइरहेको हुन्छ । यसका लागि जनताको पक्षमा काम गर्ने स्थायी सरकारको आवश्यकता महत्वपूर्ण पक्ष हो ।

१.आर्थिक विकासका पक्षहरू :
१.१. उत्पादनमुखी अर्थ व्यवस्था : वर्तमान अवस्थामा नेपालको निर्यातमुखी नभई आयातमुखी छ र रेमिटेन्स (विप्रेषण) मा देश बाँचिरहेको छ । चालु खर्च पनि आन्तरिक ऋणबाट चलिरहेको छ भने जनतामा दोहोरो करको भारमा परिरहेका छन् । पहिलो शर्त भनेको आफ्नो उत्पादनले आफ्नो जनतालाई भरपुर खान पुग्नु हो । तर, नेपालमा यस्तो अवस्था छैन तर नेपालको उत्पादन गर्न सक्ने जमिनको खाँचो छैन र कृषि उपजका लागि हावापानी अत्यन्तै सहज छ । अहिले वामपन्थी शक्तिले चुनावी तालमेलबाट सरकारको बागडोर सम्हालेको छ, सत्ताको होइन, यो ख्याल गर्नुपर्नेछ । कस्तो आयातको अवस्था छ ?

हामीले ११ दशमलव ३६ बिलियन रुपैयाँ बराबरको यो आर्थिक वर्षको पहिलो चौमासिकमा तरकारीमा मात्रै भारतबाट आयात भएको छ भने यस्तै खाद्यान्नतर्फ २२ दशमलव शून्य चार बिलियन रुपैयाँको आयात भारतबाटै भएको छ । यस्तै कृषिमा प्रयोग हुने रासायनिक मल ६ दशमलव ५२ बिलियन बराबरको आयत भारतबाटै गरिएको छ । समग्रमा ०७४ साउनदेखि असौज मसान्तसम्ममा २ सय ५७ अर्ब ८७ करोड आयात भएको छ भने निर्यात २० अर्ब ४३ करोड मात्रै छ । यो तीन महिनाको अवस्था हो । नेपालको अर्थ व्यवस्था कसरी धानिएको छ ? यो अवस्थामा पँुजीगत खर्च न्यून छ भने चालुगत खर्च उच्च छ । पुँजीगत खर्चले विकास निर्माणमा हुने खर्च हो ।

परम्परा धान्ने पुरानो सामन्तवादी संस्कारबाट आएका कर्मचारी तन्त्रमा काम गर्ने दृढ इच्छाको निकै कमी छ र कमिसन र घुसखोरी तन्त्र हावी छ । धनगढी घुस प्रकरणमा घुसको बाँडफाँड नमिल्दा आपसमा कुटपिटमै उत्रिए र केस पुलिसकोमा पुगेपछि रहस्य खोलियो, कार्यलयमै बियरका बोतलहरू भेटिए । यो एउटा प्रतिनिधि घटना मात्र हो । उत्पादनमुखी अर्थतन्त्रको निर्माणमा जनताको साथ र लगानीको वातावरण सिर्जना गर्नु र बजारको ग्यारेन्टी गरिदिनु सरकारको महत्वपूर्ण काम हो । यस्तो कार्यका लागि स्थायी र विकास निर्माणमा जनताको जीवनसँग गाँसिने दृढ इच्छा र क्षमता भएको सरकारको परिपूर्ति वाम गठबन्धनबाट आशा गरिएको छ । यो समयको आवश्यकता पनि हो । जनताको जनादेश पनि हो ।

१.२. सुशासनः यो धेरैपटक दो¥याइएको विषय हो । सुशासनका अवयवहरूमा पारदर्शिता, चुस्त दुरुस्तकार्य, पक्षपातरहित, नातावाद कृपावादरहित, कमिसन र भ्रष्टाचाररहित, सूचनामा जनताको हक स्थापित र सूचना प्रवाह गरिरहने संयन्त्र प्रमुख हुन् । देशलाई पावर र पैसाको भरबाट चल्ने प्रणालीबाट मुक्तगरी पद्धति र प्रक्रियामा चल्ने देशमा बदल्ने कार्य चुनौतीपूर्ण छ । परदर्शिता र चुस्त दुरुस्त रूपमा देशलाई अहिले भएको लथालिंग अवस्थाबाट रूपान्तरण गर्नुपर्ने हुन्छ । यसले देश सञ्चालनमा सुशासन कायम गर्नेछ र अहिले भएको भ्रष्टाचार स्वात्तै घट्नेछ र जनता पनि सचेत रहनेछन् ।

अज्ञानताको फाइदा उठाएर सोझासाझा जनता ठग्ने कार्य बन्द हुनेछ । यसका लागि चुस्तदुरुस्त जनशक्तिको निर्माण पहिलो सर्तको रूपमा आउँछ । अहिलेको वर्तमान सरकारले यसको आवश्यकताको महसुस गर्नुपर्छ र काम गर्ने शक्तिलाई देश र जनताले चाहेजस्तै चुस्तदुरुस्त बनाउनु पहिलो आवश्यकता हो, यसका लागि समाजवाद उन्मुख समाज निर्माण गर्ने भावनासहितको जनशक्ति आवश्यकता पर्छ । यसको निर्माण चुनौतीपूर्ण कार्य हो । यो निर्माणका लागि दूरदर्शी सक्षम, स्थायी र शक्तिशाली सरकारको आवश्यकता पर्छ । अहिलेको वाम एकताबाट जनताले यस्तो सरकारको अपेक्षा गरेका छन् ।

२. शिक्षा : शिक्षाक्षेत्र तहसनहस र नाफाखोरको हातमा सुम्पिएको छ । शिक्षा उत्पादनमूलक नभई बेरोजगार जनशक्ति उत्पादन गर्ने अखडाको रूपमा उपस्थित छ । सन् २०३० सम्ममा अति गरिबीबाट जनतालाई माथि उठाउन १६ वर्षसम्म हरेक हप्ता १ मिलियन (१० लाख) जनता गरिबीको रेखाबाट माथि उठेको हुनुपर्छ र यो हामीले गर्न सक्छौँ भन्ने विश्वास छ । नेपालको सामु अत्यन्तै चुनौतीहरू छन् । भारतसँगको खुला सिमाना, भूपरिवेष्टित देश, न्यूनरूपमा दक्ष जनशक्ति विकासमा बाधक बनेका छन् । बिडम्बना के छ भने आजसम्मका सरकारहरू जनउत्तरदायी बन्न सकेनन् । जनतालाई देशबाहिर निकाल्नसके यहाँ लुटको राज्य सञ्चालन गर्न सहज हुन्छ भन्ने अघोषित बुझाइ थियो । भ्रष्टाचार निकै मौलाएको छ ।

यी सबैबाट देश र जनतालाई मुक्त गराउन जीवन उपयोगी प्राविधिक शिक्षालाई समय सापेक्षिकरूपमा सशक्त, ज्ञान र सीपले सुसज्जित जनशक्ति उत्पादन गर्नुपर्ने हुन्छ । हामीले सिंगापुरको इतिहासमा शिक्षालाई विकासको मुख्य आधार मानेर अगस्ट १९६५ मा पूर्ण स्वतन्त्र भएको देशले चमत्कार गरेको छ । स्वतन्त्रतापछि शिक्षालाई आर्थिक विकाससँग जोडियो र कक्षा १ देखि नै दोस्रो भाषालाई अनिवार्य गरियो यसमा अंग्रेजीले अग्रस्थान ओगट्न पुग्यो । अर्थतन्त्रको विकासमा प्राविधिक शिक्षालाई महत्वपूर्ण स्थान दिइयो १९६८ मा आइपुग्दा निम्न माध्यामिक शिक्षा उत्तीर्ण गरेका सबैलाई प्राविधिक शिक्षा लिन अनिवार्य गरियो, यसले औद्योगिकीकरण भइरहेको सिंगापुरलाई जनशक्ति परिपूर्तिमा सहयोग ग¥यो ।

सिंगापुरको विकास त्यहाँको प्राविधिक शिक्षासँग गाँसिएको छ । नेपालको शिक्षामा आमूल परिवर्तनको आवश्यकता छ, अलिअलि सुधारेर नपुग्ने अवस्थामा छ ।  महत्वपूर्ण र उयदयमान विश्वका शक्तिशाली देशहरू भारत र चीनबीचको देश नेपाललाई विकासको गतिमा दौडाउन, स्थायीत्व सहितको इच्छाशक्ति भएको सरकारको आवश्यकता पर्छ, यो स्थायी र इच्छाशक्ति भएको सरकारको निर्माण वाम एकताबाट मात्रै संभव छ । यो समग्र विकासको निमित्त पनि अनिवार्य शर्तको रूपमा आयो । यो अनिवार्य सर्तको रूपमा जनताको चाहना पनि बन्यो, जनताको आदेशमा परिवर्तन भयो ।

३. वाम एकताका सैद्धान्तिक आधारहरू : अहिलेको बहस यसैमा छ । एकथरी भन्छन् संसद्बाट जनवादी क्रान्ति सम्पन्न हुन सक्दैन । अर्काथरि भन्छन् गणतन्त्र, संघीयता, समानुपातिक प्रतिनिधित्व, राज्यको पुनर्संरचना, जनताबाट बनेको समाजवाद उन्मुख संविधान, यी सबै उपलब्धिहरू जनवादी क्रान्तिका अवयवहरू हुन् । यी सहकार्यकै प्रतिफल थिए र हुन् । जनयुद्घलाई शान्ति संझौतामा उतार्नु नै यी उपलब्धीहरूलाई संस्थागत गर्नु थियो र देशलाई समृद्घिको बाटोमा लैजानुथियो । यो शान्ति संझौता पूर्व नै अघोषित रूपमा तय भएको बाटो हो । यी उपलब्धिलाई खुलाहृदयले स्वीकार्ने वामहरूको बीचमा एकताको आवश्यकता छ । नेपालमा पुँजीवादको जन्म भइरहेको छ ।

परम्परागत कृषिबाट विकास नहुने निश्चित भएपछि युवाहरू लेबरको रूपमा बिदेसिन बाध्य भएका छन् । यसलाई रोकेर देशको विकास निर्माणमा लगाउनु छ । माओवादी केन्द्र शान्ति संझौतामा प्रवेश गर्दादेखि नै वाम एकताको लक्ष्य लिएर आएको प्रष्ट छ । एमालेलाई भरोसा ग¥यो, राज्य सञ्चालनमा अनुभवको कमी देखा प¥यो यसमा एमालेले फाइदा देख्यो तर जनताको आकांक्षा विकास र छिमेकीहरूको तीव्र विकासको असर जनतामाझ छलफलको विषय बन्दै गयो । माओवादी टुक्राटुक्रा भयो । पहिलो भएको पार्टी तेस्रोमा पुग्यो । एमालेले पनि अपेक्षित प्रतिफल निकाल्न सकेन । माओवादी तेस्रो पार्टीमा खुम्चियो एमाले दोस्रोमा । यसको सही विश्लेषणको आवश्यकता थियो ।

एमालेले आफ्नो संगठन दह्रोे बनायो भने माओवादी समर्थकहरू पनि संगठित र बलिदानी भावनाले ओतप्रोत थिए । एउटा परिवर्तनका लागि अर्को युद्ध लड्न पनि तम्तयार जनशक्ति । यी दुबैको फ्युजन समयको आवश्यकता थियो । यी दुबै पार्टीका नेतृत्वलाई महसुस हुँदै आएको थियो । दुबैले वैचारिक सम्बन्ध नजिक हुने बीचमा एकता गर्दै पार्टीलाई मजबुत बनाएको अनुभव छ । स्थानीय चुनावमा एमालेसँग एकता गर्ने अभ्यास र यसबाट आएको प्रतिफल र जनताको चाहनामा पनि प्रष्ट झल्किन्थ्यो । यो आम कार्यकर्तामा पनि परेको थियो ।

कम्युनिस्ट आन्दोलन प्रतिरक्षामा भएको अवस्थामा, जनयुद्घ र जनआन्दोलनको फ्युजनबाटै ऐतिहासिक उपलव्धिहरू पनि नजीरको रूपमा अगाडि नै छन् । यी सबै सैद्घान्तिक पक्षहरूले एकतामा पहलकदमी अगाडि बढेको हो । अबको कार्यदिशाको तय पनि यसैको आधारमा गर्दै जानुपर्छ । निर्देशित सिद्घान्त माक्र्सवाद र लेनिनवाद दुबैको बनेको छ । २१आैँ शताब्दीको जनवाद र जबजको सामान्य विवादहरू छन् । यी दुबैको सार समाजवादको निर्माण हो । दुबैको प्रयत्नले नेपालको संविधान समाजवाद उन्मुख बनेको छ । अब पनि यी उपलब्धीहरूमा समाहित भएर एकता गर्दै समाजवादमा जाने अहिलेको माग हो । आत्मनिर्भर अर्थतन्त्रको विकास भएमा यो मार्ग सहज बन्द छ ।

सबै वाम एक ठाम
जो एक ठाममा हुन हिचकिचाउनु भएको छ उहाँहरू प्नि एकठाममा आउनुहोस् बृहत् कम्युनिस्ट केन्द्र निर्माण गर्न सघाउनुहोस् र कम्युनिस्ट आन्दोलनको एक आशाको केन्द्र बन्नुहोस् । अक्षर अक्षरमा न अड्कौँ । इतिहास र अहिलेसम्मको उपलब्धिको समीक्षा गरौँ । हरेक देशको आफ्नै परिस्थिति हुन्छ । सामाजिक तथा सांस्कृतिक विशिष्ठता हुन्छन् । त्यो अनुरूप क्रान्ति अगाडि बढिरहेको हुन्छ । उत्पादन, प्रविधिले असर गरिरहेको हुन्छ । क्रान्ति लगातार चल्ने प्रक्रिया हो । यसको रूपमा मात्रै फरक हुन्छ ।

माओ र स्टालिनको अन्तरविरोध पनि यसैमा थियो । माओले आफ्नाे विशिष्टता अनुरूपको क्रान्ति हाँक्नुभयो । नेपालमा पनि आफनै विशिष्टता सहितको क्रान्ति अगाडि बढिरहेको छ । समाजवादमा रूपान्तरित हुन आमजनताको आवश्यकता हुन्छ । यो अभियानमा जनताले पक्कै साथ दिनेछन् । अहिलेको अवस्थामा मूलधारमा बसेर विनाहतियारको आन्दोलनमा पनि अब्बल बन्नुपर्ने समयको माग भइसकेको छ ।

प्रतिक्रिया