विश्वनाथ खरेल
विश्वको एक मात्र हिन्दू राष्ट्र नेपाल हो । जहाँ हिन्दू संस्कृतिमा हरेक तिथि चाड पर्वको आफ्नै प्रकारको मौलिक विशेषता देखिन्छ । यसरी हेर्दा प्रत्येक तिथिहरूको एउटा न एउटा महत्व पाइन्छ । वर्ष दिनभरी मनाइने चाडहरूमध्ये घोडेजात्रा पनि एक प्रमुख पर्व हो । संस्कृतिमा निकै धनी हाम्रो देश छ । हरेक दिन एक न एक पर्व परेकै हुन्छ । आफ्नो संस्कृतिलाई संरक्षण र संवद्र्धन गर्नु प्रत्येक नेपालीको परम कर्तव्य हो । यसैले होला चाड पर्वहरूमा नेपालीहरू रमेरै मनाउने गर्दछन् । यसमा पनि नेवार समुदायका जातिहरूमा विशेष महत्व यस पर्वले राख्दछ ।
हाम्रो देशको संस्कृतिको एक प्रमुख अंगको रूपमा नेपालका विभिन्न चाडपर्वहरूलाई पनि लिइएका छन् । ती चाडपर्वहरूलाई सम्पूर्ण नेपालीहरूले खुला हृदयले मिलोमतो गरी भाग लिने गर्दछन् । यो चाड चैत्र कृष्ण औँसीका दिनमा पर्छ । यस वर्षको यही ३ चैत परेको छ । यसलाई पिशाच चतुर्दशी पनि भन्दछन् । यस दिन टुँडीखेलमा घोडेजात्राका साथै अरू विभिन्न देवी देवताका रथयात्राहरू पनि हुन्छ । घोडेजात्रा नेवार समुदायको एउटा ठूलो चाड हो । यस दिन भगवान् शिवजीको धुमधामसँग पूजाआजा गरिन्छ । अझ बढी नाचगान, बाजागाजा र परम्परागत भेषभूषा नेवार समुदायले यस पर्वलाई बढी उल्लासमय वातावरणमा मनाउँछन । यस दिन काठमाडौंको टुँडीखेल नजिकै रहेका “लुकुवा महादेव ” वा पिशाचेश्वर महादेवको पूजा अर्चना पनि गर्ने परम्परा छ । यिनै लुकुवा महादेवलाई पिशाच चतुर्दशीका दिन रछानबाट झिकी नुहाइदिई सफासुग्घर तुल्याई मद्यमांस आदि ‘तामसी भोग’ चढाइन्छ । यस भोगमा छ्यापी, लसुनजस्ता उत्तेजक भोजनको प्राचुर्य हुन्छ । भनिन्छ घोडेजात्रापछि लसुन छिप्पिएको हुन्छ, खान लायक हुँदैन भन्ने किंवदन्ती पनि आजसम्म त्यतिकै चरितार्थ रहेको पाइन्छ ।
धार्मिक लोकोकृतानुसार लुकुवा महादेवका बारेमा अर्को एउटा कथा पाइन्छ । अघि शिवजीले भष्मासुर दानवको तपस्यादेखि खुसी भएर जसको शिरमा हात राख्लास् त्यो भष्म हुनेछ, भनेर वरदान दिएपछि भष्मासुर शिवजीकै शिरमा हात राख्न जाइलाग्यो । त्यो देखि शिवजी लुक्न गए । सो कुरा थाहा पाएर श्री विष्णुनारायणले मोहिनी रूप लिएर भष्मासुरलाई मोहनीले छोपी उसको आफ्नै शिरमा हात राख्न विवश गराए । त्यसपछि भष्मासुर आफँै भष्म भयो ।
यसरी भष्मासुरको नास गराएपछि शिवजीलाई रछ्यानबाट उतारी स्नान गराई पवित्र गराए । त्यसैले यस दिनलाई पिशाच चतुर्दशीका रूपमा प्रतिष्ठित गरी लुकुवा महादेवको पूजा गर्ने परम्परा चलाए । यो चलन काठमाडौं मात्र नभई नेपालभरका नेवार समाज भएका प्रायः सबै ठाउँमा देखिन्छ । यसै दिनदेखि काठमाडौंमा टंकेश्वरी, भद्रकाली आदि मातृका देवीहरूको खट यात्रा हुन्छ र मातृका देवीहरूमध्ये पनि यस यात्रामा मुख्य भद्रकालीको यात्रा मानिन्छ ।
घोडेजात्रा अघि आजको जस्तो रूपमा हुँदैन थियो । तबेलाबाट घोडा ल्याएर मत्याई दौडाउने गरिन्थ्यो र राजाहरूले भद्रकाली दर्शन गर्ने प्रथा थियो । दर्शन गर्न जाँदा राजा घोडामा जाने गर्थे । राजाको पछिपछि मन्त्रीहरू र दरबारीयाहरूको ताँती छुट्थ्यो । राजाको दर्शनयात्राको शोभा हेर्न टुँडीखेलमा जनता भेला हुने गर्थे । यसरी राजाको घोडे यात्राले पछि गएर औपचारिक घोडेजात्राको रूप हुन गएको अनुमान गर्न सकिन्छ । यस जात्राको पहिलाको रूप पाटनको बालकुमारीको चौरमा हिजो आजसम्म पनि देख्न पाइन्छ । आज आएर विभिन्न मनोरञ्जनहरू थपिँदै गए र यो घोडेजात्राको तयारी धेरै दिन अधिदेखि गरिन थालेको हो ।
यस जात्राको मुख्य आकर्षण पक्ष भन्नाले घोडा, मोटर, मोटरसाइकल, साइकल, रेस जस्ता खेलहरूको प्रतियोगिता हो । यस अलावा विभिन्न खेल, तमासा, लडाइँका प्रदर्शन, सर्कस पनि देखाइन्छ र फौजीले हेलिकप्टरबाट विभिन्न किसिमका रोचक तथा घोचक कार्यक्रमहरू बढी लोकप्रिय हुन थालेको छ । जसले गर्दा घोडेजात्रा हेर्ने को संख्यामा तीव्र प्रतिस्पर्धा हुन थालेको छ । अहिले आएर साधारण जनताले मोटरसाइकल, साइकल, दौडमा भाग लिन पाउँछन । त्यस्तै, गरी महिलाहरूले पनि विभिन्न खेलमा भाग लिन थालेका छन् । टँुडिखेल मञ्चमा राष्ट्रपतिलगायत, प्रधान मन्त्री अन्य मन्त्रीहरू र विदेशका प्रतिनिधिहरूलगायत उच्च पदस्थ सरकारी कर्मचारीहरूको पनि यस अवसरमा सरिक भएको पाइन्छ । विभिन्न प्रतियोगितात्मक खेलमा पहिलो, दोस्रो, तेस्रो हुने व्यक्ति र समूहलाई सोही अवसरमा पुरस्कार प्रदान गरिन्छ । यस दिन काठमाडौंमा मात्र नभएर टाढा–टाढादेखिका मानिसहरू घोडेजात्रा हेर्न टुँडीखेलमा आउने गर्दछन् ।
घोडेजात्राको आफ्नै ऐतिहासिक मान्यता , मूल्य र महत्व पनि रहेको छ । यस किसिमको प्रचलनको सुरुवात गर्ने राजा जयप्रकाश मल्ल हुन् । यो जात्रा खास गरी काठमाडौं उपत्यकाको तीन सहरमा भव्यरूपमा मनाइन्छ । यो जात्रामा विशेष गरी विवाह भएर गएकी चेलीबेटीलाई भोज खुवाउने प्रचलन अहिलेसम्म नेवारी समाजमा कायमै छ । यो चाड तीन दिनको भएता पनि अन्तिम दिन चैत्र शुक्ल परेवाको दिन मातृका देवीको खटहरू सहरमा परिक्रमा गराई ६ वटा गल्लीबाट ल्याई असनको चोकमा सातवटा खट घुमाउने कामलाई सप्तमातृकाको आपसमा ढोगभेट भएको पनि भनिन्छ भन्ने किंवदन्ती छ ।
समग्रमा भन्नुपर्दा हाम्रो समाजमा विभिन्न चाड पर्वहरूको आ–आफ्नै किसिमको महत्व बोकेर आएका छन् । त्यसमध्ये घोडेजात्रा पनि एक महत्वपूर्ण पर्व हो । घोडेजात्राको धार्मिकभन्दा सामाजिक महत्व बढी भएको पाइन्छ । जसले गर्दा नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । जसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट स्पष्ट हुन्छ । अतः नेवारी समाजमा यसलाई जोड दिएको प्रतीत हुन्छ । त्यसैले हिन्दू संस्कृतिमा आफ्ना पूर्वजहरूप्रतिको उदारता एवं कृतज्ञताको प्रदर्शन गर्ने सांस्कृतिक धरोहरकोरूपमा यस जात्रालाई लिन सकिन्छ । यो घोडेजात्रा पर्व विशेषता कृषकवर्गले आनन्द गर्ने चाड हो । यस चाडमा ठूलो भोज हुन्छ र सडकमै मानिसहरू टन्न रक्सी, जाँड खाएर हिँडेको पनि देखिन्छ । खानपिनले मस्त भएर कसैले कसैको वास्ता गर्दैनन् । त्यसैले होला जनश्रुती रहेको छ घोडेजात्रा गरीब कृषकले पनि जंगबहादुरको घोडा किन्छ भनी व्यंग्य गरिएको पाइन्छ । यसर्थ, प्रत्येक वर्ष घोडेजात्रा यसरी नै सम्पन्न हुन्छ ।
प्रतिक्रिया