विश्व महिला दिवस र योगमायाको सम्झना

–निनाम लोवात्ती कुलुङ  सदाझैँ यस वर्ष पनि अंंग्रेजी वर्षको मार्च महिनाको ८ तारिखका दिन विश्वभरि महिला (नारी) दिवस मनाइयो । यो वर्षसमेत जोड्दा विश्वमा महिला (नारी) दिवस मनाउन थालेको १ सय ८ वर्ष भयो । बितेका दिनमा महिलाहरूका सम्बन्धमा विश्वमा राजनीतिक, आर्थिक, सामाजिकलगायत समाज परिवर्तनमा धेरै उथलपुथलहरू भएका छन् । महिलाले हाल जे जति प्राप्त गरेका छन्, ती त्यति सजिलैसँग प्राप्त भएको भने होइन । अझै पनि कतिपय देशमा महिलाहरूका लागि, खासगरी खाडी देशलगायत इस्लाम धर्म मान्ने देशहरूमा महिलाका लागि राजनीतिकलगायत अन्य हक अधिकारको त के कुरा, सामान्यभन्दा सामान्य अधिकार पनि प्राप्त भएको छैन ।

जस्तै, साउदी अरबमा गत वर्षसम्म पनि महिलाले आफैँ गाडी चलाएर (हाँकेर) हिँड्न पाएका थिएनन् भने सार्वजनिकरूपमा एक्लै दुक्लै हिँड्न पाउँदैनन् । त्यसो त केही महिनाअघि मात्रै साउदी अरबका महिलाहरूले पनि रंगशालामा गएर खेलकुद प्रतियोगिता हेर्न पाउने निर्णय साउदी सरकारले गरेको छ । त्यस्तै, कतिपय देशमा आजको २१ औँ शताब्दी भनिएको युगमा पनि महिलाले जागिर खान र स्वयं आत्मनिर्भर बन्न पाएका छैनन् । यसरी उनीहरू पुरुष एकाधिकारवादी सोच, कट्टर धर्मवादी सोच, महिलालाई घरभित्रै कैदीझैँ राख्नुपर्ने अनुदारवादी सामाजिक मूल्य मान्यताका कारण विश्वका धेरै देशका अधिकांश महिलाहरू कामकाजी, स्वरोजगार भएर र, आत्मसम्मानका साथ समाजमा शिर ठाडो पारेर हिँड्न सकेका छैनन्, बाँच्न सकेका छैनन् ।

कतिपय देशमा अझैँ पनि महिलाहरूले राजनीतिमा भाग लिन (उम्मेदार हुन र मत हाल्न) समेत पाएका छैनन् । जबकि, भन्ने बेलामा २१ औँ शताब्दी भन्ने गरिएको मात्रै छ । यसरी भन्ने हो भने, धेरै महिलाहरूले आफू के हुँ ? को हुँ ? भनी आफैलाई बुझ्ने अवसरसमेत पाएका छैनन् । तर, विश्व महिला इतिहास हेर्दा जबदेखि महिलाहरूमा राजनैतिक, वैचारिक र सैद्धान्तिक रूपमा चेतना आयो, तबदेखि नै उनीहरूले एकात्मक र पुरुष सर्वसत्तावाद विरुद्ध संघर्ष गर्न थाले भन्न सकिन्छ । त्यस क्रममा विश्वमा धेरै महिलाहरूले आ–आफ्नो क्षेत्रबाट आफ्नो हकअधिकारका लागि राजनैतिक आन्दोलनको नेतृत्व गरे÷सुरुवात गरे । यसरी हेर्दा अग्रणी महिलाका रूपमा देखा परेका र नेतृत्वदायी भूमिका खेलेका केही महिलाहरूमा रोजा लक्जम्बर्ग, क्लारा जेट्किन आदि महिलाहरूलाई लिनुपर्छ ।

नेपालमा पनि विभिन्न कालखण्डमा विभिन्न महिलाले सामाजिक, धार्मिक, राजनैतिक, आर्थिक, सामाजिकलगायत क्षेत्रमा परिवर्तनका लागि सामाजिक विद्रोह गरे, आन्दोलन गरे ।  त्यसरी तत्कालीन नेपाली कट्टर हिन्दूवादी समाजविरुद्ध पहिलो विद्रोह गर्ने महिलाको रूपमा योगमाया न्यौपानेलाई मानिन्छ । तत्कालीन समय र समाजको बनोट हेर्दा त्यो वेला योगमायाले गरेको आन्दोलन वा सामाजिक विद्रोह (आत्मदाह) लाई एउटा सशक्त क्रान्ति नै मान्नुपर्ने हुन्छ । हुन पनि हालै योगमायाको जीवनीमा आधारित उपन्यास प्रकाशित भएको छ । जसलाई एक व्यक्तिले सक्ने सम्झना÷सम्मान गरेको ठान्नुपर्छ । यसरी नेपालको महिला आन्दोलनमा क्रमशः योगदान गर्नेहरूमा योगमाया न्यौपाने, कामाक्षादेवी, मोतीदेवी श्रेष्ठ, साधना श्रेष्ठ, साहना प्रधान, मंगलादेवी सिंह, द्वारिकादेवी ठकुरानी, चन्द्रकान्ता मल्ललगायत सयौँ महिलाहरूको नाम लिन सकिन्छ ।

तापनि, यहाँ राणा शासनकाल (जुद्धशमशेर श्री ३ महाराज भएको बेला) मा हालको भोजपुर जिल्लाको नेपालेडाँडा, सिम्ले गाउँमा वि.सं.१९२५ मा आमा चन्द्रकला न्यौपाने र बुबा श्रीलाल न्यौपानेको छोरीको रूपमा जन्मेकी ‘योगमाया’ अर्थात् योगमाया न्यौपानेलाई यो लेखमा विशेष चर्चा गरिएको छ । किनभने, त्यो वेलाको हिन्दू उच्च जातीय अहंकारवादको जगजगी र ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन !’ भन्ने राणा शासनको समयमा पनि योगमायाले तल्लो इकाइदेखि प्रधानमन्त्रीसम्म सामाजिक असमानता, भेदभाव, छुवाछुत, रुढीवादी अन्धसंस्कार, कुरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासीप्रथा, सतीप्रथा, अन्याय, अत्याचार र कट्टर ब्राह्मणपन्थका विरुद्ध सशक्तरूपले विद्रोहको आवाज उठाउने अदम्य साहस गरेकी थिइन् ।

(स्रोतः निर्मलकुमार आचार्यद्वारा लिखित, ‘प्रथम नेपाली महिला’ नामक किताब, पाना–२१५) भनिन्छ, योगमयाले त्यो बेला श्री ३ महाराज जुद्धशमशेरसमक्ष ‘सत्य धर्म भिक्षा’ को रूपमा सामाजिक असमानता, भेदभाव, छुवाछुत, रुढीवादी अन्धसंस्कार, कुरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासी प्रथा, सतीप्रथा, अन्याय, अत्याचार र कट्टर ब्राह्मणपन्थलगायत २ सय ६८ वटा मागहरू बुँदागतरूपमा प्रस्तुत गरेकी थिइन । र, योगमायाको उक्त मागपत्र पटक–पटकको प्रयासपछि श्री ३ जुद्धशमशेरकहाँ पुग्यो । र, श्री ३ जुद्धशमशेरले पनि योगमायालाई ‘सत्य धर्म भिक्षा’को पालना गर्ने वचन दिएका थिए । तर, व्यवहारमा श्री ३ महाराज जुद्धशमशेरले योगमायाको २ सय ६८ वटा मागको रूपमा रहेको ‘सत्य धर्म भिक्षा’लाई वास्ता गरेनन् । लागू गर्ने त कुरै भएन ।

फलतः योगमायाले आफ्ना २ सय ४० जना अनुयायीहरूका साथ अग्निदाह गर्ने निधो गरिन् ! यसका लागि मितिसमेत घोषणा गरी वि.सं. १९९५ मंसिर पूर्णिमाका दिन तोकियो । यसरी योगमायाले अग्निदाह गर्ने हल्ला चलेपछि तत्कालीन राणा शासकका स्थानीय प्रशासकले योगमायालगायत सबैलाई पक्राउ ग¥यो । केन्द्रमा रहेका राणा शासकले उक्त ‘घटनामा पक्राउ परेकामध्ये महिला (स्त्री) र केटाकेटीलाई छाड्नू’ भनी आदेश दिएकोले योगमाया पनि महिला (स्त्री) भएकोले छुटिन् । यसरी आफूले उठाएको असमानता, भेदभाव, छुवाछूत, रुढीवादी अन्धसंस्कार, कूरीति, शोषण, उत्पीडन, घुसखोरी, दासदासीप्रथा, सतीप्रथा, अन्याय, अत्याचार र कट्टर ब्राह्मणपन्थकाविरुद्ध तत्कालीन श्री ३ महाराज जुद्धशमशेरसमक्ष ‘सत्य धर्म भिक्षा’को रूपमा २ सय ६८ वटा मागले पनि पार लाग्ने (माग पूरा हुने) नदेखेपछि जीवनकै बलिदान दिने र यसले शासकहरूमा चेत आउँछ कि !

भन्ने सोचका साथै देशका भावी सन्ततिलाई पनि मार्गदर्शन हुन्छ कि ! भन्ने विचार गरेर सदाका लागि मोक्ष प्राप्त गर्ने उदेश्यले योगमायाले जल समाधि गर्ने निधो गरिन् । उनले जल समाधि गरेको दिन थियो–विक्रम संवत् १९९८ असार १३ गते । स्मरणीय छ, अरुण नदीमा उनले जल समाधि दिएकी थिइन् भने उनीसँगै अन्य ४३ महिला र १६ पुरुषले पनि जल समाधि लिएका थिए । यसरी ‘हुकुमको जवाफ छैन, कालको औषधि छैन !’ भन्ने राणा शासक र कट्टर ब्राह्मणपन्थी (बाहुन)हरूलाई पाठ सिकाएर योगमायालगायत ५९ जनाले मोक्ष प्राप्त गरे ! यसरी हेर्दा नेपालमा क्रमिकरूपमा आएको राजनीतिक परिवर्तन र सामाजिक सुधारसँगै नेपालमा राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत महत्वपूर्ण पदमा महिलाहरूले स्थान जमाइसकेका छन् । तापनि यस वर्षको विश्व महिला दिवसमा कति महिलाहरूले योगमायालाई सम्झिए, कतिले सम्झिएनन् ! ठोकेरै भन्न कठिन छ ।

प्रतिक्रिया