वाम सरकार समाजवाद उन्मुख कि साम्यवाद ?

-डा. डिआर उपाध्याय  अहिले मुलुकमा वाम सरकार छ । यो वाम सरकारले मुलुकको विकास र समृद्धिलाई अग्रगति दिन्छ कि दिँदैन भन्ने कुरामा सबैको चासो र चिन्ता रहेको छ । चुनावताका वाम गठबन्धनले जनतालाई राम्रा–राम्रा सपना बाँडेको थियो । अब पक्कै देश वाम दलले नै बनाउँछन भन्ने जनतामा एक खालको आशा पलाएको थियो । मधेसबाट उपेन्द्र यादवको पार्टी सरकारमा सामेल हुने कुरा लगभग पक्का छ । यति भएपछि दुई तिहाइ बहुमतका साथ अहिले सम्मकै सबैभन्दा बलियो सरकार हुने देखिएको छ । अहिले केपी ओलीले सरकारको नेतृत्व गरिरहनुभएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूरा ओलीलाई सहयोग गर्नुभएको छ ।

पाँच बर्षसम्म यो सरकारले काम गर्न पायो भने विकास र समृद्धिको केही न केही संकेत देखिन्छ । वाम गठबन्धनको संघीय संसदमा पनि बहुमत छ । प्रदेश–२ बाहेक अरू सबै प्रदेशमा वाम गठबन्धनको सरकार छ । स्थानीय तहमा पनि वाम गठबन्धनकै बहुमत छ । यस्तो अवसरमा वाम सरकारले राम्रो काम गर्न सकेन भने फेरी जनताले यिनीहरूबाट आश नगरे हुन्छ । सरकारले चाहे संविधान संशोधन हुन सक्छ । देश अब राजनीतिक स्थिरतातर्फ उन्मुख हुने देखिन्छ । स्थिर सरकार मुलुकमा भयो भने विकास र समृद्धिले बाटो पहिल्याउँथ्यो । ओली सरकारले नै यो कार्यकाल बिताउनुपर्छ । त्यसो भयो भने मात्र विकास र समृद्धिले मुलुक बन्छ ।

अब सरकारलाई काम गर्न कुनै बाधा अड्चन छैन । यो सरकारले भ्रष्टाचार निर्मूल पारी देशमा सुशासनको प्रत्याभूति दिनुपर्छ । वाम गठबन्धनले मतदातासँग गरेका प्रतिबद्धता पूरा गर्न लागि पर्नुपर्छ । सचेत मतदाताले यो सरकारको काम कारबाही र क्रियाकलापबारे सुक्ष्म ढंगले विश्लेषण गर्न थालीसकेका छन् । मतदाताहरू धेरै सचेत र बुद्धिजीवी छन् । अब मतदाताहरूलाई ढाँटेर राजनीति गर्ने जमाना गए । त्यसैले वाम गठबन्धन सरकारले मतदातासँग चुनावमा बोलेका कुरा पुरा गर्नुपर्छ । वाम सरकारको अबको लक्ष्य के हो ? समाजवाद हँुदै साम्यवादसम्म पुग्ने लक्ष्य हो कि अरू के हो ? खासै कुरा प्रष्ट पारिएको छैन । यो विषयमा वाम सरकारले प्रष्ट पार्नुपर्छ ।

जनतामा भ्रम हुने खालको कुरा आउनु हुँदैन । कि कांग्रेसले भनेजस्तै वाम सरकार अधिनायकवादतर्फ उन्मुख हुन्छ ? जनता जान्न चाहन्छन् । कम्युनिष्टको सरकार भएपछि शोषण , दमन , उत्पीडनजस्ता कुराको अन्त्य हुन्छ भन्र्ने कुरा सुरुसुरुमा सुन्ने गरिन्थ्यो । के त्यो अन्त्य होला त ? ठूला ठूला जमिनदारको जमिन खोसेर श्रमजीवी जनतालाई बाँडिन्छ भन्ने कुरा कम्युनिस्ट पार्टीका दस्तावेजमा खुबै पढियो । र त्यहि कुराले छोएर धेरै मान्छेहरू कम्युनिस्ट पार्टीमा लागेको र जीवन बिताएको हामीले देखेका छौँ । के साँच्चै अब कम्युनिष्ट पार्टीको दस्तावेजमा उल्लेख भएका कुराहरू पूरा हुन्छन् त ? कम्युनिस्टप्रति जनताको यो जनलहर के को लागि हो ? किन यो चुनावमा कम्युनिस्टहरूलाई जनताले बहुमत दिएर पठाए ?

यो विषयमा पुष्पकमल दाहाल , केपी शर्मा ओली , गम्भीर बन्नुपर्छ ।मुलुकलाई कुन दिशा र दशातिर लाने भन्ने जिम्मा यी दुई नेताको काँधमाथि अभिभारा छ । जिम्मेवारी पूरा गर्ने वा नगर्ने यी नेताको कुरा हो । अब मुलुकलाई सही बाटोतिर लानुपर्छ । गरिब निमुखा सोझा सिधा किसान भरियाजस्ता धेरै दुःख पाएका जनताको जीवनस्तर उकास्ने काम यो वाम सरकारले गर्नुपर्छ । यिनै जनताको भोटले वाम सरकारलाई बहुमत पुगेको हो । मजदुरी गरी जीविकोपार्जन गर्ने श्रमजीवीहरूको पक्षमा प्रतिबद्ध रही समानतावादी समाजको सिर्जना गर्नु कम्युनिस्ट सरकारको कर्तव्य हो । कम्युनिस्टको प्रमुख लक्ष्य भनेको समाजवाद हुँदै साम्यवादसम्म पुग्ने हो । साम्यवाद भिन्न राजनीतिक प्रणाली हो ।

यसमा लोकतन्त्रको मूल्य मान्यता निरपेक्षरूपमा रहँदैन । श्रमिक र पुँजीवादी दुई वर्गबीचको संघर्षको उपजका रूपमा श्रमजीवीको शासनका हिसाबले साम्यवादलाई लिइन्छ । पुँजीपतिहरूले श्रमिकलाई शोषण गर्ने गर्दछन् । हाम्रो देशमा पनि अझै शोषण उत्पीडन कायमै छ । माक्र्सले साम्यवादलाई वैज्ञानिक समाजवाद भनेका छन् । व्यक्तिगत पुँजीको स्थान जब सामुदायिक वा सामुहिक पुँजीले लिन्छ, त्यसलाई समाजवाद भनिन्छ । अहिलेसम्म आइपुग्दा देखिएको समाजको इतिहास भनेकै वर्ग संघर्षको इतिहास हो । श्रमजीवी वर्ग र पुँजीपति वर्गबीच निरन्तर संघर्ष चलिरहेको हुन्छ । श्रमजीवी वर्गको लडाईंले परिवर्तन ल्याउँछ । श्रमजीवी मजदुर वर्ग भनेका परिवर्तनका संवाहक हुन् ।

विश्वको इतिहास हेर्दा अन्त्यमा मजदुर श्रमजीवी वर्गको विजय भएको छ र श्रमजीवी मजदुर वर्गले नै शासन चलाएका छन् । पुँजीवादीहरू ढलेका छन् । कम्युनिस्टको शासनमा धनी– गरिब बराबरी हुन्छन् भन्ने कुरा सबैले बुझेका छन् । तर नेपालमा के हुन्छ भन्न सकिँदैन । धनी गरिब हँुदैनन् । सबै बराबरी । सबैले काम गर्नुपर्छ । सबैले परिश्रमको मूल्य समान प्राप्त गर्छन् । लेनिन र कार्ल माक्र्सको यस प्रकारको साम्यवादलाई रसियामा स्टालिनले कार्यान्वयनमा ल्याएका थिए । विश्वभर प्रयोगमा रहेको साम्यवादी शासन यहि आधारमा अघि बढेको छ । सबै प्रकारको साम्यवादमा एक दलीय शासन हुन्छ । सर्वसत्तावाद हावी हुन्छ । लोकतन्त्र र साम्यवाद परस्पर विपरीत सिद्धान्त हुन् । त्यसैले व्यक्तिगत स्वतन्त्रताको कल्पना साम्यवादमा गरिँदैन ।

त्यही बुझेर कांग्रेसले अब नेपालमा अधिनायकवादको खतरा छ भन्दै हिँडेको हुनुपर्छ । यो वास्तविकता होइन । नेपालमा तत्काल कम्युनिस्टहरूले त्यो बाटो लिँदैनन् । लोकतान्त्रिक बाटोबाटै अघि बढ्छन् । कोही भ्रममा नपरे हुन्छ । अहिले देशको परिस्थिति त्यस्तो बनेको छैन । देश काल परिस्थितिअनुसार नेपालका कम्युनिस्टहरू अघि बढेका छन् । लोकतान्त्रिक विधिअनुसार नै अघि बढ्ने कुरा ओली , प्रचण्डले गर्दै आउनुभएको छ । त्यसमा सबैले विश्वास गर्नुपर्ने आवश्यकता छ । लोकतन्त्र मासेर अधिनायकवादतर्फ कोही जान चाहन्छ भने त्यो कुनै हालतमा टिक्दैन । लोकतान्त्रिक विधिअनुसार पनि देशको धेरै सुधार गर्न सकिन्छ ।

देशको उन्नति प्रगति गर्न लोकतान्त्रिक विधि नै उत्तम विधि हो । यो विधिअनुसार संसारका धेरै देशहरू अघि बढेका छन् । बरु हाम्रो देशमा संघीयताका कारण देश विभाजन हुने हो कि भन्र्ने ठूलो डरलाग्दो अवस्था छ । किनभने यति सानो देशमा सातवटा संघीय राज्य आवश्यकता नै थिएन । बेकारमा आर्थिक भार बोक्ने काम मात्र हो । अब विरोध गरेर हुने केही होइन । वेलामा दलहरूले विचार गरेको भए केही हुन्थ्यो । यो अनावश्यक खर्च गरेर यति धेरै राज्य पाल्न कठिन हुनेछ । बढिमा पाँच संघीय राज्य बनाएर गएको भए धेरै राम्रो हुन्थ्यो । अहिले केहि नभए पनि भोली यसले समस्या निम्त्याउने कुरा निश्चित छ ।

संघीयताले एउटा मात्र काम के गरेको छ भने नेता कार्यकर्तालाई रोजगार दिएको छ । नेता कार्यकर्ता सबै जनप्रतिनिधि हुन पाएका छन् । त्यो भए पछि अरू के चाहियो ? राज्यले तलव भत्ता दिइहाल्छ । जनताको करबाट यति धेरै जनप्रतिनिधि राज्यले पाल्नुपरेको छ । हाम्रो देशमा राजनीति गर्ने नेता कार्यकर्ता बढी भए । सबैले राजनीति गरेपछि काम गर्ने कसले ? श्रम नगरी विकास र समृद्धि हुँदैन । दौरा सुरुवाल र टोपी लगाएर मात्र विकास हुँदैन । मुलुकको विकास र उन्नति गर्ने हो भने सबै नेपाली श्रममा जुट्नुपर्छ । नेपालीहरू आफ्नो देशमा काम गर्न अल्छि गर्छन् । विदेशमा गएर दिन रात खटिन्छन् ।

त्यसले नेपाललाई होइन, विदेशलाई फाइदा पुगेको छ । त्यति काम नेपालमा गर्ने हो भने नेपालले छिट्टै विकास र समृद्धिको मार्गमा फड्को मार्नेछ । नेपाली जनताको सपना वाम सरकारले पूरा गरिदिनुपर्छ । जनतामा वाम सरकारको ठूलो आश र विश्वास छ । जनताको आश र विश्वासलाई टुट्न नदिन सरकार गम्भीर बन्नुपर्छ । अब सरकारले जनताको आवश्यकतालाई पूरा गर्ने दिशातर्फ अघि बढ्नुपर्छ अब वाम सरकार समाजवाद उन्मुख कि साम्यवाद विचार गर्नुपर्ने आवश्यकता देखिएको छ । [email protected]

प्रतिक्रिया