प्रधानमन्त्री ओलीको सपना कति हावादारी ?

-अन्जु कार्की   आमनेपालीको चाहना लोकतान्त्रिक विधि र प्रक्रियामार्फत आर्थिक विकास तथा मुलुकको समृद्धि हो । तर, शान्ति, सामाजिक न्याय र स्वतन्त्रता बाहेकको समृद्धि पनि जनताको चाहना होइन । लोकतान्त्रिक शासन व्यवस्थामार्फत शान्ति, स्वतन्त्रता र सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कुरामा राष्ट्रिय सहमति बन्नु नै नेपालको वर्तमान संविधानको सुन्दर पक्ष हो । नेपाली कांग्रेसले स्थापनाकालदेखि नै बहुदलीय लोकतन्त्रलाई आफ्नो मुख्य सिद्धान्त मान्दै आएको थियो ।

नेकपा एमालेले ०४६ सालको परिवर्तनपछि बहुदलीय लोकतान्त्रिक मूल्य पद्धतिलाई अंगीकार ग¥यो । जसलाई जनताको बहुदलीय जनवादका रूपमा मदन भण्डारीले सरल ढंगले परिभाषित गरेका छन् । मदन भण्डारीले बहुदलीय लोकतान्त्रिक प्रतिस्पर्धामार्फत शासन सत्तामा पुग्नुपर्ने मार्गदर्शन अघि बढाएपछि नेपालको कम्युनिस्ट आन्दोलनमा ठूलो उथलपुथल भएको पाइन्छ । सन् १९९० को दशकमा पूर्वी युरोपका करिव एक दर्जन मुलुकमा कम्युनिस्ट शासन सत्ता गल्र्यामगुर्लुम ढलेको ताजा परिप्रेक्ष्यमा मदन भण्डारीले बहुदलीय जनवादको अवधारणा अघि ल्याएका हुन् ।

७० वर्ष लामो कम्युनिस्ट शासन व्यवस्थाका क्रममा सोभियत संघले सबै प्रकारका समृद्धि हासिल गरिसकेको थियो । विज्ञान प्रविधिदेखि लिएर हरेक क्षेत्रमा शोभियत संघ विश्वकै अग्रणी मुलुक थियो । जनताका सबै आवश्यकता राज्यले पूरा गरिदिएको थियो ।  तर, राजनीतिक स्वतन्त्रताको अभावमा जनता आन्दोलिन भए । सरकारले आन्दोलन थेग्न सकेन । सबै जनता सडकमा आए । खान, लाउन र बस्न जस्तै जनताका लागि स्वतन्त्रता पनि त्यतिकै आवश्यक छ भन्ने कुरा पुष्टि भयो । यही देखेर नै मदन भण्डारीले नेपालको कम्युनिस्ट आन्दोलनलाई लोकतन्त्रको नयाँ दिशा दिएका हुन् । मदन भण्डारीले दिएको यो नयाँ दिशा जनताकाबीच लोकप्रिय भयो तर सबै कम्युनिस्टहरूले आत्मसात गर्न सकेनन् ।

एउटा कित्ता बन्दुकद्वारा कम्युनिस्ट शासन सत्ता स्थापना गर्ने भन्दै सशस्त्र आन्दोलनमा होमियो । नेकपा माओवादीको नाममा जनयुद्धमा होमिएको त्यो कित्ताले पनि १० वर्षको अवधिमा ठूलै सफलता प्राप्त ग¥यो । राजधानी काठमाडौं तथा जिल्ला सदरमुकामबाहेक मुलुकको प्रायःजसो क्षेत्रमा माओवादीले आफ्नो प्रभुत्व जमायो । जनताले साथ नदिएको भए यो प्रभुत्व संभव थिएन । ०४६ सालमा पुनस्र्थापित बहुदलीय व्यवस्थाअन्तर्गत बनेका सरकारहरूले जनताको चाहना पूरा गर्न नसकेका कारण माओवादीले सफलता प्राप्त गरेको थियो । राजनीतिक स्वतन्त्रताले मात्रै जनताको चाहना पूरा हुँदो रहेनछ भन्ने पुष्टि भयो । यतिवेला मुलुक संघीय लोकतान्त्रिक बहुदलीय गणतन्त्रको नयाँ अभ्यासमा छ ।

राज्यका सबै तह, अंग तथा निकायमा समानुपातिक समावेसिताको सिद्धान्त अवलम्वन गरिएको छ । तीनै वटा तहको निर्वाचन सम्पन्न भइसकेको छ । राज्यका सबै तहमा जनप्रतिनिधिहरू आइसकेका छन् । राजनीतिक मुद्दा सकियो, अब आर्थिक समृद्धिको मुद्दा सम्बोधन गर्नुपर्छ भन्ने मुद्दामा सबै दलहरू एक ठाउँमा उभिएका छन् । फरक धार बोकेको कम्युनिस्ट आन्दोलनको प्रभावशाली तप्का माओवादी पनि लोकतान्त्रीकरण भएको छ । मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई स्वीकार गर्दै एमालेमा समाहित हुन माओवादीले यही ७ फागुन प्रजातन्त्र दिवसका दिन साँच बुँदे सम्झौता गरेको छ । अब नेपालको कम्युनिस्ट आन्दोलनमा पनि दुई वटा धार बाँकी रहेनन् ।

तर, दुईतिहाइ बहुमतका साथ जनताले सत्तामा पु¥याइदिएका एमाले–माओवादीले जनचाहना अनुरूप काम गर्न सकेनन् भने विप्लव नेतृत्वको माओवादीले ०५२ सालको जस्तै इतिहास दोहो¥याउने संभावनालाई नकार्न सकिँदैन । यतिवेला मुलुकको भविष्य प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको इच्छा शक्तिमा निर्भर छ । उनीहरूले इच्छा शक्ति देखाए भने नहुने केही छैन । उदाहरणका लागि २७ किलोमिटर पहाड छेडेर मेलम्चीको पानी काठमाडाैँ ल्याउने सपना ०४८ सालको आमनिर्वाचनमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले जनतासामु पस्केका थिए ।

त्यतिवेलाको प्रविधि तथा मुलुकको आर्थिक अवस्थालाई हेर्दा यो आश्चर्यलाग्दो सपना थियो । जुन अबका केही महिनामा पूरा हुँदै छ ।तर, चुनाव प्रचारप्रसारका क्रममा काठमाडांैको खुला मञ्चबाट मेलम्चीको पानी काठमाडाैं ल्याउने घोषणा उनले गर्दा ‘हावादारी’ गफ भनेर धेरैले उडाए । नियतिले भट्टराई ऐलेसम्म जीवित रहन दिएको भए त्यतिवेला आफूलाई उडाउनेहरूलाई उनले कसरी जवाफ दिन्थे होलान् ?  राजनीतिक दल र नेता भनेका मुलुकका लागि शरीर र दिमाग दुवै हुन् । दुनियामा विकास निर्माणका जति पनि ठूला काम भएका छन ती नेताकै सपना र संकल्प शक्तिले पूरा भएका छन् । हिमालयको काखमा अवस्थित हाम्रो देश संभावना नै संभावनाले भरिएको देश हो ।

स्वयं भगवान् र देवी देवताको पनि वासस्थान हो । भगवान गौतमवुद्धको जन्मभूमि हो । हामी वैदिक सनातन धर्ममा विश्वास गर्नेहरू विज्ञानको विकास पनि अध्यात्मकै जगमा भएको ठान्दछौँ । पुराणअनुसार त्रेतायुगमै पुष्पक विमान उडाइएको थियो । द्वापर युगमा महाभारतको लडाइँ सयौँ माइल टाढाको बन्द कोठामा बसेर सञ्जयले देख्न सक्थे, टेलिभिजनमा जसरी । टेलिपेथीको कुरा पनि छ । ध्यानमग्न भएर पुकार गरेपछि भगवान् प्रकट हुने कुरा आज पनि त्यतिकै जीवन्त छ । पाशुपतास्त्र ब्रम्हास्त्र आदि हतियारको बारेमा हजारौँ वर्ष पुरानो हाम्रो शास्त्रले वर्णन गरेको छ ।

हाम्रै महाकवि लक्ष्मीप्रसाद देवकोटाले चन्द्रमा छुने लक्षको कविता कोर्नुभएको थियो । अनि हाम्रो वैदिक शक्तिले विज्ञानको यो विकासको आँकलन गरेको थियो । संयोगले यतिवेला मुलुकले स्वप्नद्रष्टा प्रधानमन्त्री पाएको छ । केपी ओलीले रेलको कुरा गर्दा, नेपालको आफ्नै पानीजहाज हुने कुरा गर्दा धेरैले उडाए तर केहीले कृष्णप्रसाद भट्टराईले त्यतिवेला मेलम्चीको सपना देखेको सम्झे । ओलीको सपनाकै कारण वाम गठवन्धनले करिव दुईतिहाइ बहुमत प्राप्त ग¥यो । २७ किलोमिटर लामो सुरुङ खनेर मेलम्चीको पानी काठमाडौं आउँछ भने केरुङ आइपुग्ने चाइनिज रेल किन काठमाडौं आउन सक्दैन ? जसले चिनियाँ प्रविधि बुझेको छैन ।

केरुङ उपत्यकालाई बुझेको छैन । गणेश हिमालभन्दा पूर्वतिरको भोटहरू तिब्बतमा पर्छन् र ती भोटहरू मानिसको जीविकोपार्जनका लागि तिब्बतकै सबैभन्दा महत्वपूर्ण भूमी हुन् भन्ने जसले बुझेका छैनन् उनीहरूका लागि काठमाडौं–केरुङ रेलमार्गको कुरा हावादारी गफ लाग्न सक्छन् । यदि चिनियाँहरूले अठोट गरे भने केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको निर्माण पाँच वर्षमै गरिदिन सक्छन् । एकदिन हुन्छ मेलम्चीजस्तै चिनियाँ रेल काठमाडौं आउनेछ । तर, त्यो काम ओलीकै पालामा होस् । युवा हाम्रो एयरपोर्टबाट दैनिक १ हजार ६ सय युवा बाहिरिन्छन् काम खोज्न । चार–पाँच जनाका दरले बाकसमा फिर्ता हुन्छन् ।

सयौँ महिलाहरू मालिकका गर्भ बोकेर फर्किन्छन् । यातना, अंगभंग, जेलको वास र बेपत्ताको सूची कहालीलाग्दो छ । बैदेसिक रोजगारीले निम्त्याएको पारिवारिक बिखन्डनको तस्बिर हेर्ने हो भने हाम्रो आफ्नै समाज कुरूप देखिन्छ । सुन फल्ने खेतबारी बाँझा छन् । अन्न, तरकारी, फलफू, अन्डा मासु आयात गर्छौं । अब यी सबमा सुधार गरेर अघि बढ्ने दृढईच्छा शक्ति प्रधानमन्त्री ओलीले देखाउन् । बलियो सरकारको प्रत्याभूति प्रचण्डले दिलाउन् । युवा बिदेसिन नपरोस्, यहाँ भएका युवा ढुंगा हान्न नभई काममा रमाउन, देशभित्रकै अनाज, फलफू, तरकारी र मासुले खान पुगोस् । सबैले पढ्न पाउन् । सामुदायिक सरकारी विद्यालयको गुणस्तर बढोस् । औषधिमुलो गर्न घरखेत बेच्नु नपरोस् । न्याय खरिद गर्नु नपरोस् । भ्रष्टाचार र दण्डहीनताको समूल अन्त्य होस् ।

 

प्रतिक्रिया