काठमाडौं । प्रोलिफिक स्कुलका निशान्त खड्का र विजेश्वरी सैनिक विद्यालयकी सुनिता श्रेष्ठ तेस्रो महर्षि म्याराथनमा च्याम्पियन भएका छन् । च्याम्पियन निशान्तले ५ किमी दौड १६ दशमलव २४ मिनेटमा पूरा गरे । मलिलातर्फ सुनिताले उक्त दूरी १९ दशमलव ५० मिनेटमा पूरा गर्दै स्वर्ण जितिन् ।
सामाखुसीस्थित महर्षि विद्यालयको वार्षिकोत्सवको अवसरमा भएको प्रतियोगिताको पुरुषमा न्युटनका रिचार्ड तामाङ दोस्रो र न्यु हिमालयनका संगम विष्ट तेस्रो भए । रिचार्डले १६ दशमलव २५ र विष्टले १७ दशमलव ३५ मिनेटमा दुरी पूरा गरे ।
महिलामा विजेश्वरीकै स्वेच्क्षा बलामीमगर २० दशमलव २५ मिनेटमा पूरा गरी दोस्रो र कुशलता तामाङ २० दशमलव ४२ मिनेटमा पूरा गरी तेस्रो भए । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेले नगद ७, ५ र ३ हजारका साथै मेडल प्राप्त गरे ।
म्याराथनमा २० विद्यालयका ३ सय खेलाडीले सहभागिता जनाएका थिए । स्कुलका अध्यक्ष एवं प्रदेश–३ का सांसद प्रकाशचन्द्र दवाडीले प्रतियोगिताको उद्घाटन गरेका थिए ।
प्रतिक्रिया