नगेन्द्रपसाद न्यौपाने ‘नबिन’
समाज विभिन्न वर्गका मानिसहरूको समागम हो । कुनै पनि समाजको प्रभाव वा परिवर्तनमा साहित्य, कला, संगीत, राजनीति तथा धर्मको भूमिका अहं रहन्छ । प्रत्येक मानिसको हृदयमा कलाप्रति एक प्रेम या आनन्दानुभूतिको भावना विद्यमान रहन्छ । दैनिक जीवनको परिस्थितिमा वंशीभूत भएर कलाको निखरता र प्रत्याभूतिमा संगीतले एउटा स्थान ओगटेको हुन्छ ।
त्यस्तै मानव जीवनलाई लयात्मक गतिमा ल्याउने संवाहकको रूपमा संगीतलाई लिन सकिन्छ । हरेक देशको समृद्धि र विकासका निम्ति त्यस देशमा रहेका कला संस्कृतिको प्रभाव महत्वपूर्ण रहन्छ । नेपाल लोक संस्कृतिमा धनी देश मानिन्छ । नेपालमा जातजाति, भाषाभाषी, कला, संस्कृति र परम्पराले देशको हरेक पक्षको श्रीवृद्धिका निम्ति अग्रणी स्थान ओगटेको छ ।
त्यस्तै, नेपाललाई विविध गीत संगीतमा धनी देशको रूपमा लिइन्छ । किनकी यहाँ बस्ने विभिन्न जातजातिका आआफ्नै भाषा, संस्कृति र परम्परागत चाडपर्वसँगै लोकवाद्य, लोकगीत संगीतमा विविधता रहेको छ । हरेक जातजातिका आआफ्नै रीतिरिवाज र परम्परालाई स्थापित गर्नका निम्ति लोकगीत, संगीत, कला र साहित्यले ठूलो स्थान लिएको पाइन्छ ।
भौगोलिक रूपमा नेपाल विविधताले भरिएको देश हो । हिमाल, पहाड र तराईमा बस्ने समुदायको भेषभुषा, भाषा, संस्कृति, रीतिस्थिति, परम्परा, संस्कृति, चाडपर्व अलगअलग रूपमा परिचित र प्रख्यात छन् । नेपालको राजनीतिक अवस्थालाई चिन्ने र परिवर्तनमा समेत नेपाली संगीतले भूमिका खेलेको पाइन्छ । देशमा राणाकालीन तानाशाह, राजतन्त्रको अवस्थादेखि आजको गणतन्त्र नेपालको परिवर्तन र विकासका निम्ति संगीतले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । देश संघीयतामा जाँदै गर्दा प्रादेशिक रूपमा संगीत कला शिक्षालाई गाउँगाउँ र बस्तीबस्ती पु¥याउन र जोगाउनको लागि कदम चाल्नुपर्ने अवस्था आएको छ ।
मानव समाज कुनै एकप्रकारको संगीतविना टिक्न सक्दैन । किनकी मानव जीवन संगीत वरिपरी नै घुमिरहेको पाइन्छ । जीवन र संगीतको सम्बन्ध नङ र मासुजस्तै हो । संगीत नभएको मानिसको जीवन मरिसकेको फूलजस्तै हुन्छ जसको वासना हुँदैन । त्यसैले सामाजिक संस्थाजस्तै संगीत सामाजिक प्रयोगका निम्ति सधै क्रियाशील रहन्छ ।
विश्वमा प्रचलित पुँजीवादी तथा समाजवादी व्यवस्थामा पनि संगीतलाई व्यवस्थानुरूप व्यवहारमा ल्याएको पाइन्छ । पुँजीवादी व्यवस्थामा जुन भावनाको संगीतको परिकल्पना गरिएको छ जसले उत्तेजना, अकेलापन, कामुकता, निराशा र उच्छृंखल पक्षको संगीतको बोलवाला रहन्छ । डिस्को, पाश्चात्य परम्परा जसले भिन्नभिन्न रूपमा समाजलाई विभेद र शोषण गरिरहेको हुन्छ । जो क्षणिक आनन्दको रूपमा रहन्छ । दोस्रो, समाजवादी व्यवस्थामा प्रेम, भक्ति वा उपासना इत्यादि उदात्त भावको अभिव्यक्ति दिनु यस व्यवस्थाको मौलिक विशेषता हो । यो संगीत देशको आन्तरिक व्यवस्था र भौगोलिक स्थितिको लगभग एक अंगकै रूपमा अभिव्यक्त हुन्छ ।
कुनै पनि देशको संस्कृति त्यहीको कलाद्वारा नै मुखरित हुन्छ । प्रत्येक राष्ट्रको संगीत त्यस देशको उत्थान वा पतनको निम्ति उभिएको हुन्छ । कलाले सबै जातजाति, समुदाय र क्षेत्रलाई एकतामा बाँधेको हुन्छ भने संगीतले सबैलाई जोड्दछ । किनकी यो भाषामा निहित हुँदैन । स्वर, ताल र लयमा अडिएको संगीतले एकआपसमा मिल्तिको काम गर्दछ ।
नेपालको संगीतको अवस्था हेर्ने हो भने पहिलाको तुलनामा सुधार र एउटा नयाँ मोडमा फड्को मार्दै गएको देखिन्छ । तापनि अझै पनि यसको निम्ति सरकारी निकाय र संगीतलाई व्यवस्थित गर्नको लागि स्थापना भएका सांस्कृतिक संस्थान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान, नेपाल प्रज्ञा प्रतिष्ठान, रेडियो नेपाल, नेपाल टेलिभिजनजस्ता संस्थाले प्रभावकारी भूमिका खेल्न नसकेको भने पक्कै हो । यी संस्थाहरूमा राजनीतिक गतिविधि बढी मौलाएका कारण योग्य र दक्ष संगीतज्ञ र संगीत विश्लेषकको खाँचो खड्किएको हो ।
हुनतः सांस्कृतिक संस्थानले भने केही प्रभावकारी काम गर्दै आएको छ र संगीतका कार्यक्रमलाई स्थान दिएको पाइन्छ । तर, प्रचारप्रसार काठमाडौंबाहेक गाउँ, जिल्ला र प्रदेशहरूमा संगीतको शिक्षा र कार्यक्रमहरू लानु जरुरी देखिन्छ । आजभोलि संगीतलाई बुझ्ने र सिक्नेको संख्या बढ्दै गइरहेको छ । तर, संगीत सिक्ने व्यवस्था काठमाडौंबाहेकका अन्य स्थानमा प्रयाप्त नहुँदा काठमाडौं नै धाउनुपर्ने अवस्थालाई चिर्नुपर्ने अहिलेको प्रादेशिक र स्थानीय सरकारको मुख्य दायित्वमा पर्न गएको छ ।
संगीतलाई स्कुलदेखि कलेजसम्म बिस्तार गरी पठनपाठनका लागि पाठ्यक्रम र स्कुलहरूमा अनिवार्य संगीत शिक्षकको दरबन्दी नै सिर्जना गरेर संगीतलाई औपचारिक रूपमा अरू विषयजस्तै लानुपर्ने देखिन्छ । सरकारी तथा सामुदायिक विद्यालय र विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसमा संगीत विषयलाई अनिवार्य रूपमा राख्नुपर्दछ । हरेक प्रदेशमा अब संगीतको समृद्धि र विकासका लागि संगीतको पठनपाठनलाई सहज, सुलभ र प्रभावकारी बनाई जनस्तरबाट पनि यसको सेवा प्रदान गर्नु अहिलेको मुख्य दायित्व राज्यले बहन गर्नुर्दछ ।
आजकल प्रायः प्राइभेट स्कुलले संगीतलाई अनिवार्य रूपमा अँगालेको देखिन्छ तर यस्ता स्कुलले संगीत विषय सामान्य रूपले चलाइरहेको पाइन्छ । तर, सरकारी निकाय अन्तर्गतका स्कुल र कलेजमा संगीत विषयलाई देशभरी अनिवार्य राख्नुपर्दछ । जसले हाम्रो सांस्कृतिक क्षेत्रको समृद्धि र विकासमा ठुलो मद्दत गर्दछ र देशको समृद्धिमा संगीतले पनि एउटा स्थान लिन सक्छ ।
रेडियो नेपाल, नेपाल टेलिभिजन, प्राइभेट एफएम, टेलिभिजन र पत्रपत्रिकामा समेत संगीतका लोकप्रिय कार्यक्रम ल्याउनु, देखाउनु र लेखहरू समावेश गरी अघि बढ्नुपदर्छ । साथै सञ्चारमाध्यले नै संगीतलाई अझै फराकिलो रूपमा जनमानससमक्ष पु¥याउन र सुसुचित गराउन ठूलो भूमिका निर्वाह गर्नुपर्दछ ।
नेपाली शास्त्रीय संगीत, लोकगीत, लोकवाद्य, लोकवाद्य यन्त्रको अझै पनि संरक्षण, संवद्र्धन र विकास लागि सम्पूर्ण सरकारी, गैरसरकारी, प्राइभेट संस्था मिडिया र सम्पूर्ण संगीतका विज्ञहरू यसप्रति गम्भीर रूपमा लाग्नुपर्ने देखिन्छ । देश संघीयतामा गइसकेको छ । अब देशले एउटा समृद्ध राष्ट्रको परिकल्पनामा अघि बढेको अवस्थामा संगीतजस्तो एउटा देशको पहिचान र परम्परालाई विश्वमा चिनाउन आधारभूत रूपमै काम गर्नुपर्दछ । जब हामी सांस्कृतिक रूपमा समृद्ध हुन्छाँै, तब मात्रै देशले पूर्ण समृद्धिको रूप लिन सक्छ ।
नेपालमा थुपै्र जातजाति, धर्म र समुदायमा अनगिन्ती लोक वाद्य, लोकगीत, परम्परा गीत संगीत रहेका छन् । तर यसको समृद्धि र विकासका लागि भने यससम्बन्धी विभिन्न अवसर सिर्जना गरी विदेश पलायन हुनबाट कलाकारलाई जोगाउनु अनिवार्य हुन्छ ।
प्रतिक्रिया