काठमाडौं । शिवम् न्यु डायमण्ड र टप्स उच्च मावि ‘रेडबुल ढोरपाटन युएम महिला डबल लिग भलिबल प्रतियोगितामा मंगलबार सफलता हात पारेका छन् । शिवम् न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै ६ खेलबाट १८ अंक बनाएको छ । शिवम् न्यु डायमण्डले पुलिसलाई पहिलो र दोस्रो सेटमा २५–१७ र २५–१५ ले हरायो । प्रतिस्पधात्मक बनेको तेस्रो सेट पुलिसले ३१–२९ ले जित्यो । चौथो सेटमा भने शिवम् न्यु डायमण्डले पुलिसलाई २५–१७ को स्कोरमा हराउँदै महत्वपूर्ण ३ अंक जोड्न सफल भयो ।
अर्को खेलमा पश्चिमाञ्चलको टप्सले मघौली स्पोर्टस्लाई २५–८, २५–१३ र २६–२४ को सोझो सेटमा हराउँदै ३ खेलबाट ९ अंक जोडेको छ । पूर्वाञ्चल क्षेत्रिय भलिबल संघ र श्रीगाउँले पनि जित निकालेका छन् । पूर्वाञ्चल क्षेत्रीय भलिबल संघले न्यु डायमण्ड स्पोर्टस् क्लबलाई २७–२५, २५–२२, १८–२५, २१–२५ र १५–५ को सेटमा हराउँदा श्रीगाउँले पारामाउन्ट हाई स्कुललाई २५–१२, २५–१७ र २५–२० को सोझो सेटमा हरायो । १३औँ संस्करणमा अपराजित रहेका शिवम् न्यु डायमण्ड र एपिएफ ६ खेलबाट समान १८ अंकसहित संयुक्त रूपमा शीर्ष स्थानमा रहेका छन् ।
प्रतियोगितामा ६ खेलबाट ४ सफलता हात पारेका पुलिस र आर्मीको समान १२ अंक रहेको छ । पश्चिमाञ्चलको टप्स माविले पनि अपराजित यात्रा कायम गरेको छ । उसले ३ खेलबाट ९ अंक जोडेको छ । प्रतियोगिताको ४ विधामा उत्कुष्ट खेलाडीले युएम पावर म्याक्स स्कुटर पाउनेछन् । बेस्ट प्लेयर, राइजिङ प्लेयर, प्लेयर अफ दि इयर र प्लेयर अफ दि सिरिज बन्ने खेलाडीले स्कुटरका हकदार हुनेछन् । प्रतियोगिताका बेस्ट स्पाइकर, डिफेन्स, सेटर, सर्भर, ब्लकर, क्विकर र उत्कुष्ट प्रशिक्षकले जनही ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सुरु भएको दिनदेखि अन्तिम समयसम्म टिकट काटेर खेल हेर्न आउने दर्शकमध्ये लक्की ‘ड्र’ बाट एक जनाले पावरम्याक्स स्कुटी प्राप्त गर्नेछन् । प्रत्येक दिन एक दर्शकले लक्की ‘ड्र’ बाट डाइमन्ड मोबाइल पनि पाउनेछन् । प्रतियोगिताको विजेताले ३ लाख २५ हजार, उपविजेताले १ लाख ७० हजार र तेस्रो हुनेले ८० हजार नगद पुरस्कार पाउनेछन् । चौथौ हुनेले ५० हजार, पाँचौँले ४० हजार, छैटौँले ३० हजार र सातौँ हुने टोलीले २० हजार नगद प्राप्त गर्नेछन् ।
प्रतिक्रिया