अन्योलमा कांग्रेस

भर्खर सम्पन्न निर्वाचनमार्फत प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनम्यान्डेट पाएको नेपाली कांग्रेसको केन्द्रीय समितिको दुईदिने बैठक शुक्रबार सम्पन्न भएको छ । केन्द्रीय सदस्यहरूको ठूलो दबाबपछि चुनावी पराजयको समीक्षा गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठक बोलाएका हुन् । बैठकमा प्रायः सबैले आन्तरिक कमजोरीकै कारण पार्टीले पराजय व्यहोर्नुपरेको भनाइ राखेका छन् । पार्टीले भोग्नुपरेको पराजयको जिम्मेवारी मूल नेतृत्वको हुने धारणा राख्दै धेरैजसो केन्द्रीय सदस्यले महासमिति बैठकद्वारा समीक्षा हुनुपर्ने माग पनि राखे । पार्टी सभापतिका रूपमा र प्रधानमन्त्रीका रूपमा देउवाबाट कमजोरी भएकै कारण पार्टीले पराजय भोग्नुपरेको दृष्टिकोण करिब दुईतिहाइ केन्द्रीय सदस्यले राखेका छन् । उनीहरूको सुझाबअनुसार अब छिट्टै महासमिति बैठक बोलाउने निर्णय बैठकले गरेको छ । तर, महासमिति बैठक कहिले र कहाँ आयोजना गर्ने ? भन्ने टुंगो भने लगाइएको छैन । विधानअनुसार वर्षको एकपटक महासमितिको बैठक बस्नुपर्नेछ । तर, महाधिवेशन सम्पन्न भएको दुई वर्ष पुग्न लाग्दासमेत एकपटक पनि महासमिति बैठक बसेको छैन ।

संविधानसभामार्फत संविधान जारी गराउन र तीन वटै तहको निर्वाचन गराएर संविधान कार्यान्वयनमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेससामु अबका दिनमा मुख्यतः दुई वटा चुनौती छन् । पहिलो हो– जनचाहनाअनुसार मुलुकलाई समृद्धिको दिशातर्फ अघि बढाउने मामिलामा सरकारलाई खबरदारी गर्दै प्रमुख प्रतिपक्षी दलका रूपमा रचनात्मक भूमिका निर्वाह गर्नु । दोस्रो हो– पार्टीको हैसियत पूर्ववत् अवस्थामा पु¥याउनु । तर, निर्वाचनपछि बसेको पहिलो बैठकले जनतालाई यी दुवै मामिलामा आशाजनक सन्देश दिन सकेन । यी दुवै चुनौतीबारे बैठकमा ठोस छलफल भएको देखिएन । पार्टीको संगठन सुदृढीकरण अभियान कहा“बाट सुरु गर्ने ? भन्ने अन्योल नेपाली कांग्रेसभित्र कायमै रहेको सन्देश यो बैठकले दिएको छ । यो पाँच वर्षको अवधिमा मौका पाए सत्तामा जाने, नभए पार्टीलाई आफ्नो पकडमा लिनका निम्ति सबै खालका गतिविधि गर्ने संकेत सभापति देउवाले देखाएका छन् । पौडेल–कोइराला समूहले जसरी हुन्छ देउवालाई सभापति पदबाट विस्थापित गरी पार्टी नेतृत्व आफ्नो हातमा लिने संकेत देखाएको छ । पार्टीलाई कसरी सुदृढीकरण गरी आगामी पा“च वर्षपछि हुने निर्वाचनमा बहुमत प्रप्त गर्ने हैसियतमा पु¥याउने ? भन्ने चिन्तन कांग्रेसका नेताहरूमा देखिएको छैन । उमेरले नेटो काटिसकेका नेताको पकडमा पार्टी रहुन्जेल दीर्घकालीन सोचभन्दा अल्पकालीन सोच हाबी हुनु स्वाभाविकै हो । नेपाली कांग्रेसमा अहिले देखिएको समस्या यही नै हो । उमेर पाकिसकेका नेताले सक्रिय जिम्मेवारीबाट विश्राम नलिएसम्म नेपाली कांग्रेसमा दीर्घकालीन सोचले प्राथमिकता पाउने सम्भावना कम छ ।

‘नेपाली कांग्रेस सत्ता प्राप्तिका लागि गठित समूह मात्रै नभएर लोकतान्त्रिक शासन व्यवस्थामार्फत मुलुकलाई समृद्धिको दिशातर्फ लैजाने आन्दोलन हो’ भनेर यो पार्टीका जन्मदाता बिपी कोइरालाले मार्गचित्र कोरेका छन् । बहुदलीय लोकतन्त्रको मार्गचित्रलाई एमाले–माओवादी (वाम गठबन्धन) ले समेत आत्मसात गर्नु भनेको सैद्धान्तिक रूपमा नेपाली कांग्रेसको सफलता हो । आर्थिक समृद्धिको एजेन्डालाई तुलना गर्ने हो भने कांग्रेसको घोषणापत्र र वाम गठबन्धनको घोषणापत्रमा खासै अन्तर छैन । उदार अर्थव्यवस्थामार्फत समाजवादी लक्ष्य हासिल गर्ने मार्गचित्र जसरी नेपाली कांग्रेसले अवलम्बन गर्दै आएको छ, त्यो मार्गचित्रभन्दा वाम गठबन्धन पनि टाढा छैन । पा“च वर्षका लागि वाम गठबन्धनले सरकार सञ्चालन गर्ने र नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने म्यान्डेट जनताले दिइसकेका छन् । जनताको यो म्यान्डेटलाई शिरोधार्य गर्दै पार्टीको संगठन सुदृढीकरणमा नेपाली कांग्रेस जुट्नु नै मुलुकको आवश्यकता हो । लामो समयसम्म सत्तामा रहेका कारण नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू जनताको सुख–दुःखबाट टाढा बनेका छन् । अब फेरि जनतासँग जोडिने मौकाका रूपमा यो चुनावी परिणामलाई कांग्रेसले उपयोग गरोस् ।

प्रतिक्रिया