प्रधानमन्त्रीबाटै संविधानको अपव्याख्या, जनमतको अवमूल्यन

काठमाडौं । नयाँ सरकार गठनको गृहकार्यमा लागेको वाम गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाबाट संविधानको गलत व्याख्या र जनमतको अवमूल्यन भएको ठोकुवा गरेको छ । चुनावपछि पहिलोपटक आइतबार संयुक्त पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवाले लोकतान्त्रिक मूल्यमान्यताविपरीत सत्ताका लागि जनमतको अवमूल्यन गरेको बताएका हुन् । ओली–दाहालका अनुसार प्रधानमन्त्री देउवाले संविधानले प्रष्ट किटानी गरेको विषयमा समेत अनेक बखेडा झिकेर संविधानको सहज कार्यान्वयन हुन नदिने, लोकतन्त्रको स्वस्थ अभ्यासलाई रोक्ने र जनमतलाई अनादर गर्ने काम गरेका हुन् ।

संविधानको गलत व्याख्या नगर
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले संविधानको गलत व्याख्या र जनमतलाई अवमूल्यन तथा अनादर नगर्न सचेत गराएका छन् । ‘हामी प्रधानमन्त्रीलाई संविधानको गलत व्याख्या नगर्न, संविधानको सहज कार्यान्वयनमा अवरोध सिर्जना नगर्न र संविधानसम्मत एवं लोकतान्त्रिक विधिका साथ प्रकट भएको जनमतलाई अवमूल्यन तथा अनादर नगर्न र ताजा जनादेश अनुरूप नयाँ सरकार गठन गर्नका लागि मार्गप्रशस्त गर्न आह्वान गर्दछौँ,’ ओली र दाहालले पत्रकार सम्मेलनमा भने ।

जनमतको अवमूल्यन तथा अनादर
ओली–दाहालले प्रधानमन्त्रीले कामचलाउ सरकारको सीमालाई भुलेर आपत्तिजनक काम गरिरहेको जिकिर पनि गरे । ‘निर्वाचन परिणाम प्रकाशित भएपश्चात् सार्वजनिक भएका वर्तमान कामचलाउ सरकारका अभिव्यक्ति र क्रियाकलापहरू नेपालको संविधान, अन्तर्राष्ट्रिय प्रचलन र हाम्रै विगतका अभ्यास विपरीत छन् । सरकारको यस किसिमको व्यवहारबाट सरकार गठन, संविधान कार्यान्वयन र लोकतन्त्रको सहज अभ्यासमा अवरोध सिर्जना हुनुका साथै जनमतको अवमूल्यन तथा अनादरसमेत भएको छ,’ ओली–दाहालले पत्रकार सम्मेलनमा भने ।

भारत–चीनसँग सुमधुर सम्बन्ध
वाम गठबन्धनले छिमेकी मित्रराष्ट्र भारत र चीनलगायत सबैसँग सुमधुर सम्बन्ध कायम गर्ने अठोट गरेको छ । ‘नेपालको संविधानद्वारा निर्देशित स्वतन्त्र परराष्ट्र नीतिको अनुसरण गर्दै हामी सबै मित्र राष्ट्र, विशेषतः छिमेकी देशहरू तथा अन्तर्राष्ट्रिय संघ, संस्थाहरूसँग सुमधुर सम्बन्ध कायम गर्न कटिबद्ध छौँ ।
यही उद्देश्यका साथ हामीले पार्टी एकता गर्ने घोषणा गरेका हौँ र यस निर्वाचनमा आपसी तालमेल गरेका हौँ । हामी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) समेत वामपन्थी शक्तिको नेतृत्वमा स्थिर सरकार निर्माण गर्न र उपरोक्त बमोजिमका उद्देश्य हासिल गर्न प्रतिवद्ध छौँ,’ ओली–दाहालले भनेका छन् ।

भारतले जवाफ दिइसक्यो
पत्रकार सम्मेलनमा ओलीले अब नेपाल र भारतबीचको सम्बन्ध झनै सुमधुर हुने बताए । भारतले आधिकारिक रूपमै नयाँ सरकारसँग मिलेर काम गर्न आतुर छौँ भन्ने प्रष्ट भनाइ राखिसकेको ओलीले बताए । ‘भारतले आधिकारिक रूपमा के स्टेटमेन्ट दिएको छ ? भारतले हामी अहिलेको जनादेशलाई कदर गर्दछौँ, अहिले जसरी बहुमत ल्याएको छ, यसले स्थायित्व, स्थिरता दिने विश्वाश गरेका छौँ, यसप्रति हामी खुसी व्यक्त गर्दछौँ र नयाँ सरकारसँग मिलेर काम गर्न आतुर छौँ भनिसकेको छ । अब यो आधिकारिक भनाइको साटो कथा बुन्नेहरूको कथाका पछाडि कुद्दै हिँडने किन ?’ ओलीले भने ।

देशविरुद्धकै दुश्मनी

ओलीले वाम गठबन्धनको सरकार बनेपछि भारतसँगको सम्बन्ध बिग्रन्छ भन्ने प्रचार देशमाथिकै दुस्मनी भएको बताए । ‘भारतसँग सम्बन्ध बिग्रन्छ भन्ने प्रचार देशविरुद्धको दुस्मनीपूर्ण प्रचार हो, देशमा उद्योगहरू नआउन्, वैदेशिक लगानी नहोस्, सेयर बजार डामाडोल होउन् भन्ने कुरा देशको विरुद्धमा हो । आफ्नो तुच्छ अहम्का लागि देशलाई दूरगामी नोक्सान पार्ने खालका विष रोप्न चाहिरहेका छन्, हामी त्यसो हुन दिन्नौँ,’ ओलीले भने ।

घोषणापत्र कार्यान्वयनको अठोट
वाम गठबन्धनले चुनावी घोषणापत्र व्यवहारमा कार्यान्वयनगरी समृद्ध नेपाल निर्माण गर्ने प्रतिवद्धता पुनः दोहो¥याएको छ । ‘निर्वाचनका क्रममा प्रस्तुत गरिएको केन्द्रीय घोषणा पत्र तथा स्थानीय प्रतिवद्धताको कार्यान्वयन गर्दै जनता र राष्ट्रको सेवामा समर्पित हुन संकल्पवद्ध छौँ,’ ओली–दाहालले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

जनताको सपना बन्छ सार्थक

एमाले र माओवादीले सुखी जीवनको नेपाली चाहनालाई व्यावहारिक रूपमा सार्थक तुल्याउन प्रतिवद्ध रहेको बताएको छ । ‘सरकारको नेतृत्वमा रहँदा जनता र राष्ट्रको पक्षमा रचनात्मक र सकारात्मक भूमिका निर्वाह गरेका छौँ । अब हामी संक्रमणकाललाई समाप्त गर्न, राजनीतिक स्थायीत्व कायम गर्न, संविधानको रक्षा र कार्यान्वयन गर्दै समृद्धि हासिल गर्न, लोकतन्त्रलाई सबल र सुदृढ तुल्याउँदै लोकतन्त्रलाई जीवन पद्धतीको रूपमा स्थापित गर्न, राष्ट्रिय स्वाधीनता, एकता र सामाजिक सद्भाव, सार्वभौम सत्तालाई सुदृढ तुल्याउन र सुखी जीवनको नेपाली चाहनालाई व्यावहारिक रूपमा सार्थक तुल्याउन प्रतिवद्ध छौँ,’ ओली–दाहालले भने ।

कांग्रेसबाट रचनात्मक भूमिकाको अपेक्षा
एमाले र माओवादीले चुनावमा प्रतिपक्ष बन्न पुगेको नेपाली कांग्रेसबाट रचनात्मक भूमिकाको अपेक्षा गरेको जनाएको छ । ‘हामीले प्रतिपक्षको संवैधानिक व्यवस्थालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नेछौँ र प्रतिपक्षबाट पनि रचनात्मक भूमिकाको अपेक्षा गर्दछौँ । त्यसैगरी सबै मतदाता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सञ्चारकर्मीबाट पनि साथ, समर्थन र सहयोगको अपेक्षा गर्दछौँ,’ पत्रकार सम्मेलनमा ओली र दाहालले भने ।

प्रतिक्रिया