काठमाडौं, २ पुस । लेखक विवेक ओझाको उपन्यास ‘ऐलानी’ को शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको छ । ‘वादी’ प्रथालाई विवेकले उपन्यासमा चित्रण गर्दै त्यसको सामाजिक, राजनीतिक तथा मानवीय पक्षलाई कलात्मक रुपमाले उपन्यासमा उतारेका छन् ।
विवेकले उपन्यास लेख्नका लागि नयाँ विषय खोजी गरिरहेका थिए । कस्तो विषयमा उपन्यास लेख्दा प्रभावकारी र विषयले सबै तान्छ भन्ने तर्कना मनमा खेलिरहेको बेला उनले आफ्नै गाउँ ठाउँको विषयलाई उपन्यासका रूपमा उतार्ने निधो गरे । त्यसका लागि उनले कैलालीमै जाने र वादी समुदायको विषयलाई औपन्यासिक रूपमा उतार्ने निधो गरे ।
वादी समुदायको दर्दनाक पीडालाई तीन वर्षअघिदेखि उपन्यासका रुपमा उनले उन्दै आए । उनी भन्छन्, ‘एउटा लेखक सधैँ राम्रो विषयको खोजीमा हुन्छ । म पनि उपन्यास लेख्ने योजना बनाएदेखि नै विषयको खोजीमा थिएँ । तर, मैले आफ्नै आँखा अगाडि रहेको वादी कुप्रथालाई चाहिँ देखेको रहेनछु । मैले यही प्रथालाई मेरो उपन्यासमा समावेश गर्ने योजना बनाएँ अनि म गाउँ गएँ ।’
उपन्यासमा एक छाक खानका लागि ‘वादी’ समुदायका महिलाले एक बोरा धानका लागि आफ्नो अस्मिता परपुरुषलाई सुम्पनुपरेका यथार्थ विषयलाई उपन्यासमा उद्घाटन गरेको विवेकले सम्झिए । उनले भने, ‘मैले उपन्यासमा समेटेको विषय सबै यथार्थ हो । यसका लागि मैले लामो समय गाउँमै गएर अध्ययन गरेँ ।’
उनले वादी समुदायका बारेमा अध्ययन गरे । पात्रहरुसँग छलफल गरे । उपन्यासमा रहेका प्रायः पात्रलाई उनले आफैँ भेटे । ‘वादी’ आमादेखि छोरी हुँदै नातिनीसम्मको देह बाध्यता र त्यसको सामाजिक परिवेशलाई समावेश गरेका छन् ।
उपन्यासमा एक १४ वर्षे बालिकाले आफ्नो मन नहुँदा नहुँदै एक छाकका लागि अस्मितालाई बेच्नुपरेको विषयसमेत उपन्यासमा चित्रण गरिएको छ । उनी भन्छन्, ‘मैले यो समस्यालाई त्यसै लेखेको मात्र होइन कि यो समस्यालाई राज्य सरकारले हेरोस् र वादी समुदायको समस्या हल गरोस् भन्ने ध्येयले उपन्यास लेखेको हुँ ।’
त्यसैगरी, भारतमा देह व्यापारका लागि बेचिएर उद्धार गरी नेपाल फर्काइएका केही वादी युवतीको कथासमेत उपन्यासमा छ । उपन्यासमाथि टिप्पणी गर्दै कवि तथा उपन्यासकार प्रोल्लास सिन्धुलीयले धर्म र संस्कृतिका नाममा वादी महिलाले देह व्यापार गर्न बाध्य हुनुपर्ने अत्यन्तै निकृष्ट कुप्रथा अन्त्यका लागि राज्यले उचित कदम चाल्नुपर्ने बताए ।
उपन्यासकार अमर न्यौपानेले उपन्यासमा लेखकले संवेदनशील विषयलाई उठाएको बताउँदै भने, ‘हामीले पनि यो पीडालाई समाचारमार्फत जानकारी पाएका थियौँ । तर यो उपन्यास पढेपछि त्यहाँको पीडालाई बुझ्ने मौका पाएँ ।’ उनी थप्छन्, ‘वादीको पीडा यति धेरै रहेछ कि एउटी महिला जसले आफ्नो अस्मिता पैसामा साट्नलाई ग्राहक नपाएपछि आत्महत्या गर्छिन् । यो विषयले मलाई धेरै भावुक बनायो ।’
सामाजिक रुपमै वादी महिलाका श्रीमानले आफ्नै श्रीमतीका लागि ग्राहक खोज्नुपर्ने यो सामन्ती प्रथा अन्त्य गर्न सरकारले निकै संवेशनशील ढंगले पहलकदमी लिनुपर्नेमा न्यौपानेले जोड दिए । निबन्धकार कुमारी लामाले पुस्तकमाथि टिप्पणी गर्दै भनिन्, ‘वादी प्रथामा केही परिवर्तन आए पनि पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । यसको अन्त्यका लागि चेतना सँगसँगै संरचना परिवर्तन आवश्यक रहेको छ ।’
उपन्यासमा नारीलाई केही कमजोर बनाउन खोजिएको उनले दाबी गरिन् । उनी भन्छिन्, ‘उपन्यास समग्रमा उपन्यास राम्रो छ । उपन्यास धेरै अध्ययन गरेर लेखिएको छ तर केही ठाउँमा चाहिँ महिलालाई कमजोर बनाउन खोजिएको छ । वादी प्रथा अन्त्य गर्ने मनस्थिति बनाएकी आधुनिक युगकी एक वादी युवतीलाई पनि अन्तिममा देह व्यापार नै राम्रो हो भन्नेमा पु¥याएका छन् लेखकले ।’
वादी समुदायलाई सरकारले अहिले पनि विभेद गरिरहेको लामाले बताइन् । पुस्तक साङ्ग्रिला प्रकाशनले बजारमा ल्याएको हो ।
प्रतिक्रिया