साहित्य

कथा : प्रारब्ध

सौर्य अनलाइन २०७४ पुष १ गते ११:४९ मा प्रकाशित

सुमित्रा न्यौपाने

बसन्ती हरेक सोमबार पशुपति वृद्धाश्रम जान्थिन् । वृद्धाश्रमका वृद्धवृद्धा उनका साथी बनेका थिए । भजन किर्तनमा सामेल हुन्थिन् । सुखदुःखका कुरा सुन्थिन् । सुनाउँथिन् । सालका राम्रा दुनाटपरी बनाउँथिन् । पशुपतिको पूजापछि वृद्धाश्रममा प्रसाद बाँड्दा उनलाई रमाइलो लाग्थ्यो । भगवान्को नाममा सेवा गर्न पाएकोमा मख्ख पर्थिन् । वृद्धाश्रमको एउटा भवनको नाम नै ‘बसन्ती ब्लक’ राखिएको थियो । सो भवन निर्माणका लागि चन्दा उनैले दिएकी थिइन् । बसन्तीकी बालशखा चम्पा सोही वृद्धाश्रममा बस्थिन् । बसन्ती र चम्पा लगभग एकै उमेरका थिए । विचार, स्वभाव र व्यवहारले दुवैलाई साथी बनाएको थियो ।

गर्भसँग आठ वर्ष पु¥याएर बसन्तीको बिहे जानकीनगरमा भएको थियो । हर्कलाल उनका पति थिए । उनी दुईदशक पार गरिसकेका थिए । जवान लोग्नेसँग आँखामा आँखा जुधाउने हिम्मत धेरैपछि गरिन् बसन्तीले । कर्कशा र चोथाले सासूको बुहार्तन खप्नुखपेकी थिइन् । सास पनि चर्को फेर्ने साहस हँुदैनथ्यो उनीसँग । १४ वर्षको उमेरमा पहिलो रजस्वला भइन् बसन्ती । सासूको अनुहार हँसिलो भयो । नातिको मुख हेरेर मर्ने धोको थियो उनलाई । १५ वर्षको उमेरमा पहिलो सन्तान छोरी जन्माइन् बसन्तीले ।

सासूको मृत्यु भयो । नातिको मुख हेर्ने धोको पूरा भएन । घरको सारा जिम्मेवारी बसन्तीमाथि थपियो । १० वर्षको अन्तरालमा पाँचौँ सन्तानको रूपमा छोरो जन्माइन् । बुढेसकालको साहरा । स्वर्गको बाटो खुलाउने दूत । कुल दीपक । संस्कार थाम्ने सन्तान । दुवैजना खुसी थिए । छोरो जन्मदासम्म दुई छोरीको मृत्यु भइसकेको थियो । दुवै कुपोषणले मरेका रे !

पाँच जनाको परिवार । कम आय । गाउँको बसाइँ । छोराछोरी हुर्काउन कठिन थियो । सुगरले थलिएका लोग्ने धेरै बाँचेनन् । सन्तान हुर्काउने जिम्मा बसन्तीको मात्र । धेरै दुःख गरिन् बसन्तीले । भोकभोकै काम गरिन् । एकसरो कपडाले वर्ष बिताइन् । दुःखलाई दुःख भनिनन् । निद्रा खटाउन गाह्रो मानिनन् । विगत बिर्सिन् । वर्तमानसँग लडिन् । भविष्यको कल्पनामा रमाइन् । छोराछोरीको खुसीलाई सुख सम्झिइन् ।

बैंसमै लोग्ने गुमाएकी थिइन् । तामाका मुना जस्तै हुर्किएका थिए छोराछोरी । विद्यालय भर्ना गराइन् । पढ्न तीनै जना अब्बल निस्किए । विद्यालयका सबै शुल्क मिनाहा हुन थाले । अतिरिक्त क्रियाकलापहरूमा विद्यालयको इज्जत बढाए उनीहरूले ।

छोरा अनुज छात्रवृत्ति पाएर बेलायत पुगेको थियो । छोरी एसिया डिभी परेर अमेरिका गएकी थिई । कान्छी छोरी एरिया अस्टे«लियामा बस्थी । अनुज र एसियाको घरबार उतै बसिसकेको थियो । एरिया अविवाहित नै थिई । बसन्तीका दःुखका दिन सकिएका थिए ।

मिहिनेति थिए बसन्तीका सन्तानहरू । काठमाडौंको गौशालामा चार तले घर बनिसकेको थियो । काम गर्ने मधुसहित काठमाडौं आएकी थिइन् बसन्ती । गाउँ छोडेको पनि १५ वर्ष भइसकेको थियो ।
बसन्ती घरको चौथो तलामा बस्थिन् । पहिलो तलाका सटरहरू भाडामा थिए । दोस्रो र तेस्रो तलामा जागृति विकास बैंक थियो । भाडाबापत आउने पैसा बैंकको खातामा जम्मा हुन्थ्यो ।

बसन्तीका काठमाडौंमा आफ्ना भन्ने वृद्धाश्रमका बूढाबूढी थिए । आफ्नै घरमा बस्ने धेरैलाई चिन्दिनथिन् उनी । कसैसँग आवतजावत हँुदैनथ्यो । सबै आआफ्ना काममा ब्यस्त । बोल्ने फुर्सद हुँदैनथ्यो कसैलाई । बसन्ती कहाँ जान्थिन् ? के गर्थिन् ? कसैलाई चासो थिएन । नजिक भएर पनि टाढा थिए उनीहरू । न बसन्तीको दोष थियो, न बहालवालाको । बजारीया संस्कार धानेका थिए सबैले ।

चम्पाले बसन्तीको निकै ख्याल गर्थिन् । सोमबार भेट नभएमा मंगलबार फोन गरिहाल्थिन् । यसपटकको सोमबार बसन्ती वृद्धाश्रम गइनन् । चम्पाले फोन लगाइन् । सन्चो विसन्चो सोधिन् । वृद्धाश्रम नआउनुका कारण खोजिन् । घरमा अस्ट्रेलियाबाट छोरीका साथीहरू आएका रहेछन् । एक हप्ते भ्रमणमा आएका रे ! अविवाहित भएर पनि एउटै कोठामा सुतेको देखेर अनौठो लागेछ बसन्तीलाई । ब्वाय फ्रेन्ड र गर्ल फ्रेन्ड रे ! हाम्रो संस्कार विपरीत । न जातभात खोज्नु पर्ने । न सिन्दुर हाल्नुपर्ने । न जग्गे घुम्नुपर्ने । घतलाग्दा कुराहरू सुनाइन् बसन्तीले ।

मधु गाउँ गएकी थिई । फर्किएकी थिइन । बसन्तीको खुबै ख्याल गर्थी । सन्चो विसन्चो सोध्थी । खाना कर गरेरै खुवाउँथी । छोराछोरीको पनि मन जितेकी थिई मधुले । ऊ नभएका बेला थपिएका पाहुनाले केही धपडी भएको थियो वसन्तीलाई ।
चम्पा र बसन्ती खुबै मिल्थे । एकै घरका दिदीबहिनीजस्ता । मायाममता थियो । दुःखसुख साटासाट गर्थे । चम्पाका पनि आफ्ना भन्ने कोही थिएनन् । उनी निःसन्तान थिइन् । औषधिमूलो भएर पनि उनलाई सन्तान भएनन् । लोग्ने मरेपछि उनी एक्लिएकी थिइन् आफ्नो सबै वृद्धाश्रमलाई दान गरेकी थिइन् । आश्रममा बस्न थालेको पनि १४ वर्ष पुगेछ । आफ्नै घर ठानेकी थिइन् आश्रमलाई । हरेक वृद्धावृद्धलाई परिवारका सदस्य । यही थियो उनको एक मात्र सहारा । बसन्ती दिदी खास थिइन् उनकी ।

वृद्धाश्रम हुने खाने र हुँदा खाने दुबैको छहारी थियो । केही दिन अघिमात्र वृद्धाश्रममा एउटी वृद्धा थपिएकी थिइन् । वृद्धभत्ताका लागि लगाइएको औँठाछापले उनलाई घरबारविहीन बनाएको थियो । आफ्नो छोराले गरेको घात सम्झेर उनी इन्तु न चिन्तु थिइन् । विश्वासको अभाव दिनदिनै खट्कँदो थियो । आफ्ना भनेका पनि आफ्नै देखिन थालेका थिए । धनको मुख कालो हुन थालेको थियो ।

मधु घरबाट अभैm फर्केकी थिइन । बसन्तीलाई खाना खान मन लाग्न छोडेको थियो । हातखुट्टा करकरी खान थालेका थिए । टाउको भारी हुँदै गएको थियो । शरीर कमजोर बन्दै थियो । छोराछोरीलाई बताएकी थिइनन् । सन्चो विसन्चोको धेरै कुरा लुकाउँथिन् उनीहरूलाई । पिर मान्लान् कि भन्ने डर थियो । छोराछोरी सधैँ हाँसेको हेर्न चाहन्छन् सबैका बाबुआमाहरू । घरमा तलमाथि गर्न पनि गाह्रो हुँदै गएको कुरा चम्पालाई मात्र थाहा थियो ।

साँझको खानापछि बसन्तीलाई वान्ता भयो । शरीर थर्थरी काँप्यो । हनहनी ज्वरो बढ्यो । चट्चटी पसिना आयो । वरपरका सबै सामान धुम्न थाले । भुइँचालो आएजस्तो भयो । अन्ततः सन्तुलन बिग्रियो । बेहोस भइन् उनी । मोटो शरीर भुइँमा पछारियो ।

बिहान सात बजेतिर दूध लिएर सीताराम आए । घन्टी बजाए । घर सुनसान थियो । बसन्तीलाई बोलाए । उनी बोलिनन् । दूधको भाँडो बोकेर ढोकामा पुगे । ढोका खुलै थियो । ‘बसन्ती दिदी, ए ! बसन्ती दिदी, … ।’ आवाज आएन । उनी सोझै भान्साकोठातिर लागे । बसन्तीको अचेत शरीर लतमन्न ढलेको थियो । बोलाए । झक्झकाए । मुर्छित थिइन् उनी । आत्तिए । चिच्याउँदै तल ओर्लिए । दोस्रो तलामा बैंकका सुरक्षागार्ड मोहित भेटिए । सीतारामले उनैको सहयोगमा टिचिङ अस्पतालसम्म पु¥याए ।

डक्टरहरूले तुरुन्तै उपचार गर्न मानेनन् । धरौटीको अभावमा उनको उपचारमा ढिला भइरहेको थियो । तिजौरी र बैंकमा भएको पैसाले काम दिएन । बैंकका मेनेजरले उपचारको बन्दोवस्त मिलाइदिए । सघन उपचार कक्षमा उनको उपचार सुरु गरियो ।

दुई दिनपछि मात्र वसन्तीको होस आयो । हात खुट्टा राम्ररी चलेनन् । बोली फुटेन । मुखबाट ¥याल बगिरहन थाल्यो । शरीरको तापक्रममा नियमितता थिएन । घरी निकै तातो हुन्थ्यो घरी निकै चिसो । बोल्न खोज्थिन, सक्दिनथिन् । हातको इशारा कामयाव भएको थिएन । आँखाले चारैतिर केही खोजिरहेको आभाष हुन्थ्यो । उनको खोजाइ चम्पा हुन सक्थिन् । एसिया हुन सक्थिन् । एरिया हुन सक्थिन् र हुन सक्थ्यो अनुज ।

सोमबार पनि बसन्ती वृद्धाश्रम गइनन् । चम्पाले फोन गरिन् । बसन्तीको फोन बन्द थियो । चम्पालाई शंका भयो । उनी घर आइपुगिन् । सम्पूर्ण खबर सुनेपछि अस्पताल पुगिन् । बसन्ती अचेत अवस्थामा ढलेकी थिइन् । बैंकका पियन कुरुवा बसेका थिए ।

चम्पा आत्तिइन् । बसन्तीका खुट्टा छामिन् । हात अठ्ठाइन् । कपाल मुसारिन् । आँखामा आँसु रोकिन मानेनन् । चम्पाका दुई थोपा आँसु बसन्तीका निधारमा टप्किए । उनी चलमलाइन् । आँखा खोलिन् । चम्पालाई ठम्याउने कोशिस गरिन् । सायद ठम्याउन सकिनन् । बसन्तीको खोजी एसियाको थियो । अनुजको थियो । एरियाको थियो ।

चम्पाले अनुजलाई फोन गरिन् । दिदीहरूलाई फोन आपैmँ गरे अनुजले । विदेशको नियम कानुन । भन्ने बित्तिकै टिकट मिलेन । कागजपत्र मिलाउँदामिलाउँदै समय लाग्यो उनीहरूलाई । टर्कीको विमान नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना ग्रस्त अवस्थामा थियो । धावन मार्गबाट हटाउन प्राविधिक टोली दुई दिनदेखि प्रयासरत थियो ।

सफलता मिलेको थिएन । बंगलादेशको टोली झिकाइएको थियो । आइपुगेको थिएन । विमान यात्रा तीन दिनदेखि पूर्णरूपले बन्द थियो । हातमा टिकट थियो । मनमा छट्पटी । आमाको सम्झनाले तड्पाइरहेको थियो । शंका उपशंका उठ्थ्यो मनमा घरीघरी ।

बसन्ती गल्दै थिइन् । सम्पत्तिलाई पर्दाको सहारा मानिन्छ । छोराछोरीलाई जिउँदो र मर्दाको सहारा मानिन्छ । बसन्ती पाँच–पाँच सन्तान जन्माएर पनि एक्ली थिइन् । तिजौरीमा पैसा थन्काएर पनि रित्तो भएकी थिइन् । न पैसा काम लागिरहेको थियो न सन्तान नै साथमा थिए ।

उमर्को लाग्न थाल्यो । डक्टरहरूलाई उछिनिन् बसन्तीले । लामो सास तानिन् । खुट्टा तनक्क पारिन् । चम्पालाई च्याप्प समाइन् । घाँटी घ्वार्र–घ्वार्र गरेको केही बेरमै प्राण पखेरु उडेर गयो । बसन्तीको मृत शरीर चम्पाको काखमा थियो । चम्पा चिच्याइन् । छटपटाइन् । के गरौँ, गरौँ भयो । केही गर्न सकिनन् ।

अनुजको फोन आयो । उठाउन सकिनन् । फोनको घन्टी एकोहोरो बज्न थाल्यो । अनुज, एशिया र एरियाका फोनका घन्टीहरू रोइरहेजस्तो लाग्यो । मन दह्रो पारेर अनुजलाई अशुभ समाचार सुनाइन् चम्पाले । फोनका घन्टी बन्द भए । मुर्दाशान्ति छायो केही बेर ।

बसन्तीको मृत्यु भएको दुई दिन भइसकेको थियो । मृत शरीर कुरेर बसेकी थिइन् चम्पा । अस्पतालले बसन्तीको शव उठाउन दबाव दियो । विमानस्थल चालु भइसकेको थिएन । फेरि अर्को बाध्यता बन्यो चम्पाको । शव अस्पताबाट उठाउनुपर्ने भयो । मर्दा काँध थाप्ने छोराछोरी काम लागेनन् । बैंकमा थुपारिएको पैसाले बचाउन सकेन बसन्तीलाई ।
चम्पाका आफ्ना कोही थिएनन् । बसन्तीसँग सबै थियो । छोराछोरी थिए । घर बंगला थियो । न खानको दुःख न लगाउनको । सबै भएर पनि एक्ली थिइन् । न पैसा काम लाग्यो न छोराछोरी ।

दूधवालाले नदेखेको भए उनी त्यही बंगालामा सड्थिन् । कुहिन्थिन् । दुर्गन्धित हुन्थिन् । धन्न अस्पतालसम्म पु¥यायो भाग्यले । चम्पासँग भेट गराइदियो भगवान्ले । छोराछोरीको सपनाले एक्लाएको थियो । विदेश मोहले छुट्टाएको थियो उनलाई । वसन्तीसँग आफूलाई तुलना गरिन् चम्पाले । केही फरक देखिनन् । सम्पत्ति, छोराछोरीकी रित्ती थिइन् चम्पा । बसन्ती छोराछोरी र सम्पत्ति भएर पनि रित्ती देखिइन् ।

छोराछोरीको सल्लाहमा शव आर्यघाट पु¥याइयो । वृद्धाश्रमका कर्मचारीले सहयोग गरेका थिए चम्पालाई । दाहसंस्कार सुरु भयो । फूल चढाइन् । माला पहि¥याइन् । चितालाई नमन गरिन् । बसन्ती चितामा लम्पसार थिइन् । केही बेरमा धँुवा बन्दै थिइन् । पञ्चतत्वबाट निर्मित शरीर प्रकृतिसँग मिल्दै थियो ।

बसन्तीकी नजिककी आफन्त चम्पा थिइन् । पण्डितले वाच्य बोले । सुनको टुक्रा मुखमा राख्न पठाए । बसन्तीको नाकको फुली निकालियो । बन्द भएको मुखमा जवरजस्ती राखिदिइन् चम्पाले । आगो समातेर तीनपटक परिक्रमा गरिन् चितालाई । छोराको जिम्मेवारी पूरा गर्दै थिइन् चम्पा । दागबत्ती दिइन् । दुई थोपा आँसु तप्प चुह्यो । आँसुले तेलको काम गरेभैmँ भयो । चिता दनदनी दन्कन थाल्यो । धुँवाको मुस्लो मडारिँदै माथिमाथि उड्न थाल्यो । केही बेरमा बसन्तीको जड शरीर धुँवा बन्दै हावामा विलिन भयो ।

 

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय