रोहितले बनाए तेस्रो दोहोरो शतक

चन्डिगढ । रोहित शर्माले एकदिवसीय क्रिकेटमा तेस्रो दोहोरो शतक पूरा गरेका छन् । उनकै कीर्तिमानी तेस्रो दोहोरो शतकको मद्दतमा घरेलु टोली भारतले चन्डिगढमा जारी दोस्रो एकदिवसीय क्रिकेटमा श्रीलंकामाथि १ सय ४१ रनको फराकिलो जित निकालेको हो ।

नियमित कप्तान विराट कोहली विवाहका कारण श्रीलंकाविरुद्ध एकदिवसीय शृंखलामा अनुपस्थित छन् । उनको स्थानमा रोहितले नै कप्तानी सम्हालेका थिए । पहिलो एकदिवसीयमा बिर्सन लायक ब्याटिङ गर्दा भारतले लज्जास्पद हार बेहोरोको थियो ।

तर, दोस्रोमा रोहितकै कीर्तिमानी २ सय ८ रनको अविजित पारीमा भारतले पहिलो हारको बदलासमेत लियो । भारतले निर्धारित ५० ओभर नै खेल्दै ४ विकेटको क्षतिमा ३ सय ९२ रनको विशाल स्कोर खडा ग¥यो ।

रोहितले १ सय ५३ बलमा १३ चौका र १२ छक्काको वर्षा गरे । रोहितले बुधबार भएको खेलमा पछिल्लो सय रन भने ३५ बलमै पूरा गरेका थिए ।एकदिवसीय क्रिकेटमा तेस्रोपटक दोहोरो शतक बनाउने रोहित एक मात्र ब्याट्सम्यान हुन् । उनले सन् २०१३ मा पहिलोपटक अस्ट्रेलियाविरुद्ध २ सय ९ रन बनाएका थिए ।

सन् २०१४ मा उनले श्रीलंकाविरुद्ध नै कोलकाताको इडेन गार्डेनमा २ सय ६४ रन बनाएका थिए ।  भारतका लागि श्रेयश आयर (८८) र शिखर धवन (६८) ले पनि अर्धशतक बनाए ।  भारतले पहिलो इनिङमा ४ विकेट गुमाएर ३ सय ९२ रन बनाएको छ । श्रीलंकाको लागि थिसरा परेराले ३ र सचित पाथिरानाले १ विकेट लिए पनि अन्य बलर महँगो सावित भए ।

जवाफी ब्याटिङमा उत्रेको श्रीलंकाले ५० ओभर नै खेल्दै ८ विकेटको क्षतिमा २ सय ५१ रन मात्र बनाएपछि हार बेहो¥यो ।  उसका लागि एन्जोलो म्याथ्युजले अविजित १ सय ११ रनको शतकीय पारी खेले पनि जित दिलाउन सकेनन् ।  असेला गुनारत्नेले ३४ र निरोसन डिकवालाले २२ रन बनाए ।

भारतको बलिङमा युजभेन्द्र चाहलले ३ र जस्प्रित बुमराहले २ तथा भुवनेश्वर कुमार, हार्दिक पांड्या र वासिंगटन शुन्दरले समान १–१ विकेट लिए । प्रतियोगितामा दोहोरो शतक बनाएका रोहित म्यान अफ दी म्याच चयन भए । ३ खेलको शृंखलामा भारत र श्रीलंकाले १–१ खेल जितेको छ ।

 

प्रतिक्रिया