शुक्र, प्रतिमा र सुवास छनोट

काठमाडौं । शुक्रबहादुर राई छैटौँ सिएमएस फाल्डो सिरिज नेपाल च्याम्पियनसिपको उपाधि जित्न सफल भएका छन् । प्रतियोगिताबाट ३ स्पर्धाका विजेता शुक्रबहादुर राई, प्रतिमा शेर्पा र सुवास घिसिङ भियतनाममा आगामी मार्चमा हुने फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुन सफल भएका छन् ।

गोकर्ण गल्फ क्लबमा बुधबार भएको अन्तिम चरणको खेलमा ४ ओभर ७६ स्कोर गर्दै शुक्रले समग्रमा ११ ओभर २२७ स्कोरका साथ उपाधि जितेका हुन् । उनले २ ओभर ३८ मा फ्रन्ट नाइनको खेल सकाए ।

पहिलो र चौथो होलमा बर्डी प्रहार गरे पनि शुुक्रबहादुरले दोस्रो होलमा बोगी र साताैं होलमा ट्रिपल बोगी खेप्न बाध्य भए । यसपछि १५औँ र १७औँ होलमा १–१ सट गुमाउँदा ब्याक नाइन पनि २ ओभर ३८ मा पूरा गरे ।

७ ओभर ७९ स्कोरसहित समग्रमा २३७ स्कोर जोडेका बिपिन तामाङ दोस्रो भए । ८१ अंकसहित समग्रमा २४९ को नतिजामा सुरेश तामाङ तेस्रो भए । महिलातर्फ डिफेन्डिङ च्याम्पियन प्रतिमा शेर्पाले कसमिरा शाहलाई ३७ स्ट्रोकको भारी अन्तरमा हराउँदै उपाधि रक्षा गरिन् ।

प्रतिमाले ४ ओभर ७६ स्कोर गरी समग्रमा १४ ओभर २ सय ३० को नतिजामा ३७ स्ट्रोकको सहज जित हात पारिन् । उनले दोस्रो, आठाैं र नवौँ होलमा बोगी प्रहार गर्दा चौथौ र सातौँ होलमा बर्डीको सफलतासँगै फ्रन्ट नाइन १ ओभर ३७ मा पूरा गरिन् ।  ब्याक नाइन भने ३ ओभर ३९ मा सकाउने क्रममा १०आैं, १२औँ, १४औँ र १७औँ होलमा बोगी खेप्दा १८औँ होलमा बर्डी प्रहार गरिन् ।

९१ स्कोर जोडेकी कसमिरा शाह समग्रमा २६७ सहित दोस्रो र २९२ स्कोरसहित प्रतिभा राई तेस्रो भइन् । प्रतियोगिताको १२ देखि १६ वर्ष उमेरसमूहतर्फ भारतीय खेलाडी मोनीष शाहलाई १ स्ट्रोकले हराउँदै सुवास घिसिङ उपाधि जित्न सफल भए । उनले ४ ओभर ७६ स्कोरसहित समग्रमा २३२ अंक जोडे । फ्रन्ट नाइन इभन पार ३६ मा पूरा गरेका सुवाषले दोस्रो होलमा १ सट खेर फाले पनि चौथो होलमा बर्डी प्रहार गरे ।

यसपछि, १०औँ होलमा बर्डी प्रहार गरे पनि १४औँ र १७आैं होलको बोगी तथा १५आैं होलको ट्रिपल बोगीले ब्याक नाइन ४ ओभर ४० मा पूरा गरे । १ ओभर ७३ स्कोरसहित समग्रमा २३३ को नतिजामा मोनीष शाह दोस्रो र २३८ स्कोरसहित विनोद तामाङ तेस्रो भए । नेपाल गल्फ संघ र गोकर्ण फरेस्ट रिसोर्टद्वारा संयुक्त रूपमा आयोजित ३ दिने प्रतियोगिताको प्रमुख प्रायोजक आइएसएमई प्रालि हो ।

विजेतालाई नेपाल गल्फ संघका अध्यक्ष टासी घले, पूर्वअध्यक्ष मधुकर याकथुुम्बा, विदेशी प्रशिक्षक किम बाल्डवीन, संघका उपाध्यक्ष पवित्र कार्की, काठमाडाैँ जिल्ला गल्फ संघका अध्यक्ष मदन राणा र रोयल नेपाल गल्फ क्लबका क्याप्टेन नरेन्द्रकुमार राईले पुरस्कार वितरण गरे । प्रतियोगितामा काठमाडाैं उपत्यकालगायत पोखरा, धरान र भारतका गरी २३ खेलाडीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया