२१ उम्मेदवारको जमानत जफत


बाबुराम बास्तोला
संखुवासभा, २८ मंसिर । संखुवासभामा प्रतिनिधि र प्रदेशसभामा उम्मेदवारी दिएका २७ जना उम्मेदवार मध्ये २१ जनाको जमानत जफत भएको छ । संखुवासभामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा गरी तीन ओटा सिटका लागि २७ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।

प्रतिनिधिसभातर्फ ११ जना उम्मेदवारमध्ये विजयी बाहेक एक जनाको मात्रै जमानत जोगिएको छ । वाम गठबन्धनका राजेन्द्र गौतम ३२ हजार ७ सय ६९ ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका दीपक खड्काले ३१ हजार ६ सय ३९ ल्याए । बाँकी नौ जनाको जमानत जफत भयो ।

प्रतिनिधिसभामा सबैभन्दा कम स्वतन्त्र उम्मेदवार गुप्तबहादुर श्रेष्ठले १७ मत ल्याए भने दलको तर्फबाट उम्मेदवारी दिएका ग्रिन पार्टी नेपालका टंकबहादुर न्यौपानेले सबैभन्दा कम ३७ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी ऋषि दहालले बताए ।

यसैगरी, प्रदेशसभा ‘क’ मा विजयी उम्मेदवारबाहेक एक जनाले मात्र जमानत बचाएका छन् । वाम गठबन्धनका पूर्णप्रसाद राईले १६ हजार ६ सय ७७ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी कांग्रेसका टंकप्रसाद राईले १४ हजार ६ सय ३२ मत ल्याएका थिए ।

आठ जनाले प्रतिस्पर्धा गरेको यो प्रदेशमा सबैभन्दा कम ग्रिन पार्टी नेपालका समीर काफ्लेले ३८ मत ल्याएका छन् । यसैगरी, प्रदेशसभा ‘ख’ मा विजयी उम्मेदवार र निकटतम प्रतिद्वन्द्वीले मात्रै जमानत बचाएका छन् । यहाँबाट वाम गठबन्धनका तुलसीप्रसाद न्यौपानेले १७ हजार पाँच सय १४ मत ल्याएर जित्दा कांग्रेसका दीपककुमार लिम्बुले १६ हजार १ सय ४० मत ल्याएर जमानत बचाएका छन् ।

आठ जनाले प्रतिस्पर्धा गरेको यो प्रदेशमा राष्ट्रिय जनमुक्ति पार्टीका यामकुमार लिंखाले सबैभन्दा कम ३९ मत ल्याएका छन् । जमानत जोगाउन खसेको कुल सदर मतको १० प्रतिशत मत ल्याउनुपर्नेमा प्रतिनिधि तथा प्रदेशसभा सदस्यमा ६ जनाले मात्र जमानत बचाएको जिल्ला निर्वाचन अधिकारी ऋषि दाहालले बताए ।

प्रतिक्रिया