प्रहरीलाई मिक्स टिम उपाधि

काठमाडौं २६ मंसिर । नेपाल प्रहरी क्लबले हुवाइ नोभा टु आई इम्पेक्ट ठमेल ओपन टेबलटेनिस प्रतियोगिताअन्तर्गत मिक्स टिम इभेन्टको उपाधि सोमबार जितेको छ । प्रहरीले नेपाल एपिएफ क्लबलाई १७–५ ले पराजित ग¥यो । मिक्स टिममा समान ५–५ पुरुष र महिला खेलाडी थिए ।

मिक्स टिमको पुरुष सिंगल्समा प्रहरीका राष्ट्रिय च्याम्पियन श्यान्टु श्रेष्ठले एपिएफका अमरलाल मल्ललाई २–१, महिला सिंगल्समा राष्ट्रिय च्याम्पियन प्रहरीकी नविता श्रेष्ठले एपिएफकी सेलिशा खड्गीलाई ३–०, पुरुष डबल्समा प्रहरीका श्यान्टु र विनेश खनियाको जोडीले एपिएफका अमर र शिवसुन्दर गोथेको जोडीलाई २–१ ले हराए ।

मिक्स डबल्समा प्रहरीका दीप साउन र नविताको जोडीले एपिएफका पुरुषोत्तम वज्राचार्य र सिक्का सुवालको जोडीलाई ३–०, पुरुष सिंगल्समा प्रहरीका दीपले एपिएफका पुरुषोत्तमलाई २–१ तथा महिला सिंगल्समा प्रहरीकी एलिना महर्जनले एपिएफकी अन्जु सुवाललाई ३–० ले पराजित गरे । अर्को पुरुष सिंगल्समा भने एपिएफका शिवले प्रहरीका विनेश खनियालाई २–१ ले हराए ।

महिला डबल्समा प्रहरीका एलिना र मञ्जु सुवालको जोडीले एपिएफका सेलिशा र अनिता महर्जनको जोडीलाई पहिलो सेट ११–१ ले जितेपछि प्रहरी टिमले बाँकीका खेलहरू खेल्नुपरेन । मिक्स टिममा जुन टिमले अगाडि १७ अंक हासिल गर्छ उसैलाई विजेता घोषणा गर्ने प्रावधानअनुरूप बाँकी रहेका खेलहरू अगाडि नबढाइएको हो । मिक्स टिममा एक सेट जित्ने टिमलाई १ अंक दिने प्रावधान थियो ।

सोमबारै भएको दोस्रो क्लालिफायरमा एपिएफले नेपाल आर्मी क्लबलाई १७–१० ले पाखा लगाउँदै प्रहरीसँग उपाधि भिडन्त पक्का गरेको थियो । प्रहरीले भने आइतबारै पहिलो क्वालिफायरमा आर्मीमाथि १७–१० को जित दर्ता गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको थियो । ७ टिम सहभागी मिक्स टिममा आर्मीले तेस्रो स्थानमा चित्त बुझायो ।

शीर्ष ३ स्थान हात गर्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गरे । यसअघि, पुरुष सिंगल्समा प्रहरीका श्यान्टु पहिलो, प्रहरीकै दीप दोस्रो र एपिएफका पुरुषोत्तम तेस्रो भएका थिए । महिलामा प्रहरीकी नविता पहिलो, प्रहरीकै एलिना दोस्रो र आर्मीकी स्वेच्छा नेम्वाङ तेस्रो बनेका थिए । दुवै सिंगल्सका च्याम्पियनले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार हात पारे ।

यू–१६ सिंगल्सको ब्वाइजमा एपिएफका सन्योग कपाली, एपिएफकै एलेक्स महर्जन तथा यल स्पिनका डिकेन महर्जन तेस्रो भए । पहिलोदेखि तेस्रोले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार जिते ।  त्यसै स्पर्धाको गल्र्समा आर्मीकी दीक्षा दाहालले स्वर्ण, वज्र युनियनकी स्मृति पन्तले रजत र एपिएफकी अन्जु सुवालले कांस्य जिते ।  गल्र्सले पनि ब्वाइज सरहनै नगद पुरस्कार पाए ।

विजेतालाई हुवाइका कन्ट्री डाइरेक्टर जोयेस जु, हुवाईका निर्देशक पुल्कित भिम्सेरिया, टेबलटेनिसका पूर्वमुख्य प्रशिक्षकद्वय रमेशराज जोशी र वृजेन्द्र हमाल लगायतले पुरस्कृत गरे । इम्पेक्ट स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा गत १७ मंसिरदेखि सुरु प्रतियोगितामा ८० खेलाडीले विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया