विराट–अनुष्काको विवाह इटालीमा


एजेन्सी

मुम्बई । बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली विवाहका लागि इटाली पुगेको बताइएको छ ।

उनीहरूको विवाहलाई लिएर बलिउडमा निकै हल्ला चलेको छ । हिन्दूस्थान टाइम्सका अनुसार अनुष्का र विराटको विवाह यही महिना इटालीमा हुँदै छ । यी समाचारका बारे यो जोडीले अहिलेसम्म आधिकारिक रूपमा केही बताएका छैनन् ।

इटालीको टसकेनीमा अवस्थित एक रिसोर्टमा अनुष्का र विराटको विवाह हुने समाचारमा जनाइएको छ । जहाँ पञ्जाबी परम्पराअनुसार उनीहरूको विवाह हुनेछ । त्यसपछि २६ डिसेम्बरमा विराटले मुम्बईमा विवाह पार्टी दिनेछन् । इटालीमा हुने विवाहमा अभिनेता शाहरूख खान र आमिर खान सहभागी हुने बताइएको छ ।

त्यस्तै, क्रिकेटर सचिन तेन्दुल्कर र युवराज सिंहलाई विवाहको निमन्त्रणा आइसकेको बताइएको छ । यसबाहेक विवाहमा विराटका गुरु राजकुमार शर्मा तथा फिल्म निर्देशक आदित्य चोपडा तथा मनिष शर्मालाई पनि विवाहमा बोलाइएको छ । यसमा दुवै परिवारका सदस्यको उपस्थितिका साथै विराटका बाल्यकालका साथी पनि विवाहस्थलमा पुग्नेछन् ।

प्रतिक्रिया