विद्युत् उत्पादनमा प्राधिकरण र निजी क्षेत्र समान हैसियतमा

रमेश लम्साल

काठमाडौँ, २५ मंसिर । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रका जलविद्युत् आयोजनाको उत्पादन बराबरी हैसियतमा पुगेको छ ।

निजी क्षेत्रले व्यावसायिक उत्पादन शुरु गरेको थापा खोला र सर्दी खोला जोडिएपछि प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन बराबरी हैसियतमा पुगेको हो ।

मुस्ताङमा आयोजनास्थल रहेको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केही दिन पहिलेबाट राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

यस्तै कूल चार मेगावाटको सर्दी खोला जलविद्युत् आयोजनाले व्यापारिक उत्पादन शुरु भएको छ ।

मुस्ताङको थासा गाउँपालिका–१ टुकुचेमा निर्माण भएको थापाखोला जलविद्युत् आयोजनाबाट १३.६ मेगावाट विद्युत् उत्पादन भएको छ ।

माउण्ट कैलाश इनर्जी प्रालिले निर्माण गरेको १३.६ मेगावाट क्षमताको सो आयोजनाले गत भदौदेखि परीक्षण उत्पादन थालेको थियो ।

परीक्षण उत्पादन सफल भएपछि गत हप्तादेखि केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनाका सुदीप खड्काले बताए ।

म्याग्दीको नारच्याङस्थित तातोपानी साना जलविद्युत् आयोजनाको सवस्टेशनमार्फत केन्द्रीय प्रसारण लाइनमा जोडिएको हो ।

आयोजनाले उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न टुकुचेदेखि म्याग्दीको दानासम्म प्रसारण लाइन र दुईवटा सवस्टेशन बनाएको छ ।

ती दुई निजी क्षेत्रका आयोजना जोडिएपछि ६७ जलविद्युत् केन्द्रले राष्ट्रिय प्रणालीमा ४७.८ मेगावाट बराबरको योगदान गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

प्राधिकरणका अनुसार प्राधिकरण र निजी क्षेत्रको विद्युत् उत्पादन समान ४७८ मेगावाट पुगेको छ ।

यसअघि कूल ६५ आयोजनाबाट ४६० मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो ।प्राधिकरणको बराबर नै समान हैसियतमा पुगेपछि निजी क्षेत्रसमेत उत्साहित भएको छ ।

निजी क्षेत्रले हाल तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजना निर्माण गरिरहेको छ । उदारीकरणको शुरुपछि नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले समेत प्रवेश पाएको थियो ।

खिम्ती र भोटेकोशी विदेशी लगानीमा निर्माण भए पनि त्यसलाई नेपालका ऊर्जा उद्यमीले निजी क्षेत्रको पहलका रुपमा अथ्र्याउने गरेका छन् ।

त्यसमध्ये ४५ मेगावाट क्षमताको भोटेकोशी हाल बन्द अवस्थामा छ । बाढी पहिरो र ‘गोरखा भूकम्प’को चपेटामा परेको सो आयोजना विगत तीन वर्षदेखि बन्द रहेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इं प्राधिकरणकै हैसियतमा निजी क्षेत्र पनि पुग्नु आफूहरुका लागि खुशीको विषय भएको बताउँछन् ।

हाल निर्माणका क्रममा रहेका केही आयोजना राष्ट्रिय प्रसारणमा जोडिएपछि प्राधिकरणको भन्दा बढी हिस्सा निजी क्षेत्रको नै हुने देखिन्छ ।

प्राधिकरणले निर्माण गरेको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको हाल परीक्षण उत्पादन भइरहेको छ ।

सो आयोजनाले केही दिनपछि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ ।

यस्तै कुलेखानी तेस्रो जलविद्युत् आयोजना चालू आवको अन्त्यसम्म सम्पन्न गर्ने गरी निर्माण भइरहेको छ ।

यस्तै प्राधिकरणको अर्को आयोजना त्रिशूली थ्रि ‘ए’ को उत्पादन कहिलेदेखि शुरु गर्ने भन्ने विषयमा कुनै आधिकारिक जानकारी दिइएको छैन ।

बराम्चीको विद्युत् पुनः जोडियो

गोरखा भूकम्पबाट क्षतिग्रस्त सिन्धुपाल्चोकको बरम्ची साना जलविद्युत् आयोजनाबाट ३१ महिनापछि पुनः उत्पादन शुरु गरेको छ ।

खोलामा पानी घटेका कारण हाल करिब दुई मेगावाट विद्युत् उत्पादन भई लामोसाँघुमा रहेको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ ।

निजी क्षेत्रको युनिक हाइडेल प्रालिले निर्माण गरेको सो आयोजना ४.२ मेगावाट क्षमताको छ ।

जुगल गाउँपालिकाअन्तर्गत बरम्ची खोलामा सञ्चालित क्षतिग्रस्त उक्त आयोजनालाई मर्मत गरी २०७३ साउन ४ गते सञ्चालनमा ल्याइए पनि बाढी र पहिरोले तीन दिनपछि आयोजनालगायत सर्वसाधारणको जग्गा जमिनसमेत पुरेको थियो ।

आगामी पुसदेखि राधीको आइपिओ

निजी क्षेत्रले निर्माण गरेको राधी जलविद्युत् कम्पनीले आगामी पुस ३ गतेदेखि साधारण शेयर आइपिओ निष्कासन गर्ने तयारी गरेको छ ।

कम्पनीले लमजुङमा सञ्चालित ४.४ मेगावाटको राधी जलविद्युत् आयोजनाको सर्वसाधारणका लागि छुट्याइएको १५ प्रतिशत शेयर निष्कासन गर्ने तयारी गरेको जनाएको हो ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको कम्पनीले रु छ करोड ६४ लाख बराबरको छ लाख ६४ हजार ५५० कित्ता शेयर निष्कासन गरेर बाँडफाँड गरिने जनाएको छ ।

साधारण शेयरमध्ये दुई प्रतिशत कम्पनीमा कार्यरत कर्मचारीका लागि र पाँच प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

राधीको शेयर खरिद गर्नेले न्यूनतम ५० कित्तादेखि अधिकतम तीन हजार ८०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया