कम्बोडियामा राहुललाई स्वर्ण

काठमाडौं । कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपालका राहुल थोकर लामाले स्वर्ण पदक जितेका छन् । शनिबार भएको पुरुष ५५ केजी तौल समूहमा आयोजक कम्बोडियाका सामनाङ पिसेथलाई नकआउट गर्दै राहुलले स्वर्ण पदक जितेका हुन् ।

कुन खेमरको एमेच्योर विधामा प्रतिस्पर्धा गरेका राहुलले ३ राउन्डको खेलमध्ये दोस्रो राउन्डमै पिसेथलाई नकआउट गरेको कम्बोडियामा रहेका नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिले जानकारी दिए ।

पहिलो राउन्डमा पिसेथ हावी भए पनि दोस्रो राउन्डमा संयमित भएर खेलेका राहुलले लगातार पञ्च प्रहार गर्दै नकआउट गरे । विदेशी भूमिमा पहिलोपटक प्रतिस्पर्धा गरेका राहुलले गत जुनमा नेपालमै भएको इन्डो–नेपाल मुवाँथाइ च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेका थिए ।

आफ्ना खेलाडीले स्वर्ण पदक जितेपछि निकै खुसी देखिएका टोलीका प्रशिक्षकसमेत रहेका अध्यक्ष कक्षपतिले लगातारको मिहिनतपछि यो सफलता हात पारेको बताए । प्रतियोगितामा आइतबार नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

ससिन्द्र रञ्जितले ६५ केजी तौल समूहमा, अनिशा खड्काले ६७ केजीमा र सलोन सारा लेप्चा जैसीले ७१ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।  तीनै नेपालीको प्रतिद्वन्द्वी कम्बोडियाली खेलाडी रहेको प्रशिक्षक कक्षपतिले जानकारी दिए । अनिशाले गत मार्चमा थाइल्यान्डमा भएको १४औँ विश्व मुवाँथाईं च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

?

 

प्रतिक्रिया