निर्वाचनको मिति निजिकिँदै जाँदै छ । पहिलो चरणको निर्वाचन अब निकै नजिक आइसकेको छ लगत्तै दोस्रो चरणको पनि । निर्वाचन आयोगले यसपटक मतदाता शिक्षालाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाएको छ । गत स्थानीय तहको निर्वाचनमा बदर भएका मतको आधारमा आयोगले यसपटक मतदाता शिक्षालाई बढी प्रभावकारी बनाउने आश्वासन दिएको छ । स्थानीय निर्वाचनमा देशभरका ग्रामीण क्षेत्रमा मात्र नभएर सहरी क्षेत्रमा पनि प्रशस्तै मत बदर भएका थिए । पहिलो चरणको निर्वाचनमा मतदाता शिक्षाका लागि आयोगले २० हजार कर्मचारी परिचालन गरेको छ । २ साता ढिलो सुरु भएको मतदाता शिक्षा अभियान सर्वसाधारणसम्म पुग्ने कुरामा आशंका गर्ने पर्याप्त ठाउँ र आधार छन् । स्थानीय तहको निर्वाचनको तुलनामा देशभर पर्याप्त मतदाता थपिएका छन् । स्थानीय निर्वाचनमा मतदान गरेका धेरै मतदाता पनि मतदानका विषयमा स्पष्ट रहेको देखिएको अवस्था छैन ।
आयोगले प्रभावकारी मूल्यांकन र अनुगमन नगर्दा मतदाता शिक्षाको जिम्मा पाएका संघसंस्थाले झारा टार्ने काम मात्र गरेको देखिन्छ । आसन्न निर्वाचनमा पनि त्यो अवस्था दोहोरिने सम्भावना टड्कारो देखिएको छ । आयोगका पदाधिकारीको भाषणले मात्र मतदाता शिक्षा सर्वसाधारणसम्म पुग्न सक्दैन । गाउ“मा अहिले वर्षभरि लगाएको बाली थन्क्याउने वेला छ । सर्वसाधारण खेतबारीको काममा व्यस्त छन् । उम्मेदवारहरू मतदाता भेट्न खेतबारी र काम गरिरहेको ठाउँमा पुग्नुले पनि सर्वसाधारणको व्यस्ततालाई झल्काउँछ । आयोगले खटाएका ती २० हजार कर्मचारी मतदाता रहेको ठाउँसम्म पुग्न कति दिन लाग्छ ? ती कर्मचारीले कति मतदातालाई शिक्षा दिन भ्याउलान् ?
निर्वाचन आयोगले मतदाता शिक्षाका नाममा गर्ने विज्ञापन पनि प्रभावकारी देखिएको छैन । केही सीमित क्षेत्र र तरिकाबाट गरेको विज्ञापन सबै मतदातासम्म पुग्न सक्दैन । आममतदातालाई कसरी छोटो समयमा मतदानसम्बन्धी उनीहरूले बुझ्ने गरी शिक्षित बनाउन सकिन्छ भन्नेतिर आयोगको ध्यान नपुगेकै हो । या त आयोगले यसलाई सामान्य रूपमा लिएको पनि हुनसक्छ । आयोगले मतदाता शिक्षाका नाममा जुन रूपमा बजेट खर्च गरेको छ, त्यो सर्वसाधारणसम्म पुगेको छैन ।
आयोगले मतदाता शिक्षाको जिम्मा दिएका संघसंस्था तथा व्यक्तिहरू पनि त्यति जिम्मेवार देखिएका छैनन् । जबसम्म मतदाता शिक्षा प्रभावकारी हुँदैन, त्यसवेलासम्म निर्वाचनको निष्पक्षता शंकाको घेरामा नै रहने कुरालाई नकार्न सकिन्न । अझै पनि समय छ निर्वाचन आयोगले मतदाता शिक्षालाई प्रभावकारी बनाउन ठोस कदम चाल्न सक्छ । हाम्रो जस्तो पिछडिएको समाजमा निर्वाचनको सुन्दर पक्ष भनेको मतदाता शिक्षा पनि हो । त्यसैले आयोगले वेलैमा यसतर्फ ध्यान दिनु जरुरी देखिन्छ ।
प्रतिक्रिया