धादिङमा शनिबार बिहान भएको भयावह सडक दुर्घटनामा ३१ जनाले ज्यान गुमाए । सप्तरीबाट राजधानी आउँदै गरेको बस गजुरीस्थित घाटबेंसी भन्ने ठाउँमा सडकबाट त्रिशूली नदीमा खस्दा अधिकांशको घटनास्थलमै र केहीको उपचारका लागि अस्पताल लैजाने क्रममा र केहीको उपचारका क्रममा मृत्यु भएको हो । मर्नेहरू अधिकांश एकै गाउँका र एकै परिवारका ५ जनासम्म रहेका छन् । बसमा ५५ जनाभन्दा बढी यात्रु रहेको प्रत्यक्षदर्शीको भनाइ छ । एकाबिहानै भएको दुर्घटनामा बस त्रिशूली नदीमा खसेपछि पौडिन जान्ने केही यात्रुले पौडिएर ज्यान बचाएका छन् । तर, अधिकांश यात्रु निद्रामा रहेकाले पनि दुर्घटनापछि मात्र ब्युझिएको घाइतेहरूले बताएका छन् । ३० सिट क्षमता भएको बसमा ५५ जना यात्रु हुनु, यात्रुले पटकपटक गति कम गर्न आग्रह गरे पनि चालकले नमान्नु, मादकपदार्थ खाएर सवारी चलाउनु जस्ता दुर्घटनामा तत्काल देखिएका कारणहरू हुन् । तर, यी कारणहरू पर्याप्त नहुन सक्छन् ।
नेपालमा यस्ता ठूला सडक दुर्घटना नौला होइनन् । प्रत्येक राजमार्गमा हरेक महिना यस्ता भयावह दुर्घटना हुँदै आएका छन् । दुर्घटनापछि एउटा छानबिन समिति बनाउने र कारण जे आए पनि त्यसलाई पोको पारेर थन्क्याउने परम्परागत मनोरोग दिनप्रतिदिन हुने दुर्घटनाको मुख्य कारण हो । हरेक निकायको आफ्नो आफ्नो जिम्मेवारी हुन्छ । सडक सुरक्षाको मुख्य जिम्मा ट्राफिक प्रहरीको हो र नालायक ट्राफिक व्यवस्थापनकै कारण अनाहकमा सयौं सर्वसाधारणले ज्यान गुमाउनु परेको तीतो यथार्थलाई नकार्न सकिन्न । राजमार्गको हरेक १० देखि १५ किलोमिटर क्षेत्रमा ट्राफिक गस्तीहरू छन् । संसारको अभ्यासलाई हेर्ने हो भने ट्राफिकको यो उपस्थिति अत्यन्तै बाक्लो हो । ती ट्राफिकको काम चालकसँग रकम असुल्ने मात्रै हो त ? सर्वसाधारणले देखेको त्यो मात्रै हो । किनकी राज्य संयन्त्रले कहाँ के काम गर्दै छ भनेर जान्ने अधिकार प्रत्येक नागरिकलाई छ ।
यात्रु सुरक्षाका लागि ट्राफिकले अहिलेसम्म देखिने कुनै काम गरेको देखिएको छैन । ३० जनाको सिट भएको बसमा ५५ जना हाल्दा पनि नदेख्नु भनेको विमानस्थलबाट ३३ किलो सुन ल्याउँदा नदेखे जस्तै हो । गल्लीगल्लीमा मापसे जाँच गर्ने ट्राफिकले रात्रिबसको चालकले टन्न मादकपदार्थ सेवन गरेको नदेख्नु कतिसम्मको लापर्बाही हो । गृहप्रशासनले यसको जवाफ दिनु नै पर्छ । राजनीतिक, प्रशासनिक, सामूहिक वा व्यक्तिगत स्वार्थका लागि सर्वसाधारणको ज्यान लिने अधिकार सरकारलाई हुन्न । जुनबेलासम्म सरकारले सडकमा बस्ने ट्राफिकलाई जिम्मेवार र उत्तरदायित्व बोध गर्ने बनाउन सक्दैन, त्यस बेलासम्म सडक दुर्घटनामा सर्वसाधारणले ज्यान गुमाउने क्रम चलि नै रहन्छ ।
प्रतिक्रिया