ठमेलवासीको अनुकरणीय प्रयास

मुलुकको मुख्य पर्यटकीय बजार ठमेल क्षेत्रलाई सवारीसाधन मुक्त बनाउने स्थानीय व्यवसायी तथा सरकारी प्रयास सफल भएको छ । यो सफलता सँगै असन क्षेत्रलाई पनि सवारीसाधन मुक्त बनाउने प्रयासमा स्थानीय जनता तथा व्यवसायी जुटेका छन् । स्थानीयवासीको यो प्रयासलाई प्रहरीले पनि साथ सहयोग गरेकोले अब छिट्टै ठमेलदेखि असनसम्मको क्षेत्र सवारी साधन मुक्त हुने निश्चित जस्तै छ । यसको देखासिखी आसपासका टोलहरूले पनि गर्नेछन् । यो प्रयासलाई अत्यन्त सराहनीय मान्नुपर्छ । मुलुकको मुख्य सहर काठमाडौं हो, काठमाडौंको पनि मुख्य सहर भनेको ठमेलदेखि टेकु र भोटाहिटीदेखि नरदेवीसम्मको क्षेत्र हो । यसलाई कुनै कालखण्डमा ३ सहर नेपाल मध्येको कान्तिपुर सहरका रूपमा चिनिन्थ्यो । विश्व सम्पदा सूचीमा रहेका धेरै ऐतिहासिक तथा पर्यटकीय धरोहरहरू यस क्षेत्रमा छन् । हजारौँ वर्षअघि, जुन बेला मोटरहरू चल्दैनथे, त्यो बेलामा निर्माण भएको सहर हो यो । मेला तथा जात्राका बेला रथ मात्रै छिर्नसक्ने परिकल्पनागरी निर्माण भएको सहर हो यो । बाटो तथा घरहरू पनि त्यहीअनुसार निर्माण भएका छन् । यस्तो सहरभित्र मोटर गुडाउनु सवर्था उचित थिएन । तर, पूुर्वजहरूले ध्यान नपु¥याउँदा यस क्षेत्रमा सवारी साधनको चाप बढ्यो । साँघुरो बाटोमा सवारी साधनको चापका कारण पदयात्रीसमेत निसासिनु पर्ने अवस्था आयो । दशकौं पहिले चाल्नुपर्ने कदम थियो यो । ढिलै भए पनि स्थानीय बासिन्दा बिउँझिएका छन् ।
नेपाल भ्रमणमा आउने मध्यम आर्थिक स्तरका प्रायः सबै पर्यटक एकपटक ठमेल पुग्ने गर्छन् । राजधानी काठमाडौं आउने हरेक नेपाली एकपटक ठमेल तथा असन क्षेत्र पुग्ने गर्छन् । राजधानीवासीले आवश्यक उपभोग्य समान तरकारीदेखि नुनसम्म खरिद गर्ने मुख्य बजार पनि असन नै हो । असन क्षेत्रमा पुगेपछि जुनसुकै वस्तु पनि खरिद गर्न पाइन्छ भन्ने मान्यता छ । जसका कारण असन क्षेत्र भिडको पर्याय नै बन्ने गरेको छ । कहीँकतै मान्छेको ठूलो भीड देखियो भने ‘असन जस्तै’ भनिन्छ । मान्छेको यस्तो भिड हुने साँघुरो क्षेत्रमा सवारी साधन गुडाउनु सर्वथा गलत हो । प्रदूषणको मुख्य कारक भनेका सवारी साधन हुन् । सवारी साधन गुड्न छाडेपछि राजधानी काठमाडौंको मुख्य सहरी क्षेत्र प्रदूषण मुक्त हुनेछ । पर्यटकीय बजार विस्तार हुनेछ । सवारी साधन गुड्न नपाएपछि ग्राहकहरू आउँदैनन् कि ? भन्ने आशंका मुख्य सहरी क्षेत्रका व्यवसायीहरूमा नभएको होइन तर पर्यटकहरू बढ्नेछन् ।
स्थानीय जनता जागरुक भए भने असहज लाग्ने काम पनि सहज रूपमा सम्पन्न हुन्छ भन्ने उदाहरण ठमेल तथा असन क्षेत्रले प्रस्तुत गरेको छ । यो मौकामा सरकारले काठमाडौंको चक्रपथभित्र मोटरसाइकल निषेध गर्ने अवधारणालाई कार्यान्वयनमा ल्याउने प्रयासको थालनी गर्नुपर्छ । घन्टौं सवारी जाम तथा दुर्घटनाका मुख्य कारक मोटरसाइकलहरू नै हुन् । तत्काल यो अवधारणा कार्यान्वयन गर्न संभव नभए पनि जनचेतना जगाउनु पर्छ । अब नयाँ थपिने मोटरसाइकलहरूलाई चक्रपथभित्र प्रवेशको अनुमति नदिने हो भने १० वर्षभित्र यो अवधारणा कार्यान्वयन हुन्छ । सडक विस्तार गर्न सकिने ठाउँ छैन तर बर्सेनि कहालीलाग्दो रूपमा सवारी साधनहरू भित्रिरहेका छन् । ट्राफिक जामकै कारण एम्बुलेन्समा सवार बिरामीको ज्यान जाने गरेका घटना हप्तौँजसो हुने गरेका छन् । निजी तथा साना सवारी साधनहरूमा धेरै कर लगाउने र त्यो रकमले सार्वजनिक ठूला सवारी साधन सञ्चालनमा ल्याउने अवधारणा बनाउने हो भने राजधानीको ट्राफिक समस्या समाधानमा ठूलो मद्दत पुग्छ ।

प्रतिक्रिया