उत्साहजनक मनोनयन

पहिलो चरण अन्तर्गत निर्वाचन हुन गइरहेका ३२ जिल्लामा आइतबार शान्तिपूर्ण रुपमा उमेद्वारी मनोनयन सम्पन्न भएको छ । हिमाली तथा उच्च पहाडी भेगमा पर्ने ३२ जिल्लामा प्रतिनिधि सभा तर्फ ३७ र प्रदेश सभा तर्फ ७४ निर्वाचन क्षेत्र छन् । क्षेत्रफल ठूलो भए पनि जनघनत्व कम भएका यी जिल्लामा विगतमा पनि थोरै उमेदवार हुने गर्दथे । यस पटक वामवन्थी र लोकतान्त्रिक ध्रुविकरण भएका कारण उमेद्वारहरुको संख्या विगतमा भन्दा अझ थोरै छ । एकातिर एमाले – माओवादी र साना बामपन्थी पार्टीवीच तालमेल भएको छ भने अर्कातिर कांग्रेस , राप्रपा र नयाँ शक्ति वीच तालमेल भएको छ । मुख्य प्रतिस्पर्धा पनि यी नै दुई गठवन्धनबीच हुने देखिएको छ । उमेद्वार थोरै भएका कारण निर्वाचन आयोगलाई मत पत्र छाप्न तथा मतगणना गर्न सहज हुने देखिएको छ भने मतदातालाई पनि चुनाव चिन्ह खोज्न अलमलिनु पर्ने अवस्था छैन ।
प्रतिनिधि सभाका १ सय ६५ र प्रदेश सभाका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये पहिलो चरणमा थोरै क्षेत्रमा मात्रै निर्वाचन हुन गइरहेको छ । थोरै क्षेत्रमा हुन गइरहेको भए पनि पहिलो चरणको निर्वाचनको आफ्नै महत्व छ । उमेवद्वारी मनोनयन पछि चुनावको सुनिश्चितता भएको छ । अर्कोतिर दलहरुले पनि उमेदवार चयन प्रक्रियालाई गम्भीर रुपमा लिएको देखिएको छ । चुनाव जित्ने नाममा लोकतन्त्रको मर्म समेत नबुझेकालाई पनि उमेदवार बनाएर विगतमा ठूला दलहरुले गम्भीर गल्ती गरेका थिए । तर यस पटक प्रमुखदलहरुले यो गल्ती दोहो¥याएनन् । उदाहरणका लागि मनाङ जिल्लाको हकमा वाम गठवन्धनले अघि सार्न लागेका एक आकांक्षीको बारेमा निकै ठूलो टिकाटिप्पणी भइरहेको थियो । तर उमेद्वार मनोनयनका क्रममा त्यो गल्ती सच्याएको देखियो । प्रमुखदलहरुले प्रतिनिधि सभाका लागि खडा गरेका उमेद्वारहरुको सूचि हेर्दा लोकतन्त्रको संस्थागत विकासका लागि मद्दत पुग्ने देखिन्छ । जुन पार्टीले चुनाव जिते पनि संविधान र लोकतन्त्रको मर्म बुझेका नेताहरु संसदमा पुगे भने मुलुकको हित हुन्छ । संविधान र लोकतन्त्र संस्थागत हुन मद्दत पुग्छ । प्रमुखदलहरुले दोस्रो चरणको निर्वाचनका लागि उमेद्वार तय गर्दा पनि यो मर्मको ख्याल गर्नु पर्छ ।
लोकतन्त्रको मुल मर्म भनेकै आवधिक निर्वाचन हो । लोकतन्त्रको सुन्दर पक्ष भनेकै यही हो । निर्वाचन भनेको लोकतन्त्रको नियमिति प्रक्रिया हो । तर यस पटकको निर्वाचनलाई लोकतन्त्रको नियमित प्रक्रियाका रुपमा मात्रै हेर्न मिल्दैन । करिव ७० वर्ष लामो संघर्ष पछि जनताले आफ्ना लागि आँफै संविधान निर्माण गर्ने अवशर पाएका हुन् । एउटै मागका लागि जनताले यति लामो कालखण्डसम्म संघर्ष गरेको इतिहास विश्वको अन्य मुलुकमा सायदै छैन । संविधान सभाद्धारा निर्मित संविधान अन्तर्गत पहिलो पटक प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन सम्पन्न हुन गइरहेको छ । त्यसकारण यो निर्वाचन संविधान र लोकतन्त्रको जग हो । जग हाल्ने काम शान्तिपूर्ण र उत्साहजनक रुपमा संम्पन्न भयो भने पछि इट्टा थप्ने क्रममा समस्या हुँदैन । लोकतन्त्रको जग बलियो बनाउने दिशामा आसन्न निर्वाचन उन्मुख छ भन्ने कुरा पहिलो चरणको मनोनयनले देखाएको छ । मनोनयन लगत्तै उमेद्वार तथा दलका कार्यकर्ताहरु प्रचार प्रसारमा जुटेका छन् । प्रचार प्रसारका लागि करिव एक महिनाको समय अवधी छ । पहिलो चरणमा हुन गइरहेका निर्वाचन क्षेत्रका भूगोल निकै ठूला छन् । समान्यतः एक महिनाको अवधीमा उमेद्वारहरु जनताका घरदैलोमा पुग्न सक्ने अवस्था छैन । घर दैलोमा पुग्ने भनेका कार्यकर्ताहरु नै हुन् । कार्यकर्ताबीच विगतमा जस्तो भौतिक भिडन्त हुन नदिन दलका नेताहरु सचेत हुनु पर्छ । साथै एउटादलको उमेद्वारले तडक भडकपूर्ण प्रचार प्रसार ग¥यो भने अर्को दलको उमेद्वार पनि वाध्य हुन्छ । पैसा खर्च गर्ने प्रतिस्पर्धामा उमेद्वारहरु लागे भने लोकतन्त्रले आशातित प्रतिफल पाउँदैन । यस तर्फ प्रमुखदलका शीर्ष नेताहरु सचेत हुनु जरुरी छ । पैसा खर्च गरेर चुनाव जित्ने नजरी बस्यो भने राजनीतिमा भ्रष्टाचार मौलाउँछ । इमान्दारहरु ओझेलमा पर्छ । यस मामिलमा नेता मात्रै होइन कार्यकर्ताहरु पनि सचेत हुनु जरुरी छ ।

प्रतिक्रिया