दिगाे विकासका लागि महिला साक्षरता

babukaji karkiनेपालको संविधान २०७२ मा व्यवस्था गरेका विविध मौलिकहकहरूको सुनिश्चितताको लागि शिक्षित हुनु पहिलो शर्त हो । महिलासम्बन्धी मौलिकहकको सुनिश्चितताको लागि साक्षरता प्रतिशतमा वृद्धि गर्न विशेष ध्यान जानुपर्ने भएको छ । विज्ञान र प्रविधिको द्रुत गतिमा विकास र विस्तार भइराखेको वर्तमान २१औँ शताब्दीमा पनि विश्वमा ७५ करोड ९० लाख जनता निरक्षर पौढ छन् । जसमा करिब हरेक ३ निरक्षर मध्ये २ जना महिला पर्छन् । ०६८ सालको जनगणनाअनुसार नेपालको साक्षरता प्रतिशत ६५ दशमलव ९ प्रतिशत छ जसमध्ये पुरुष ७५ दशमलव १ र महिला ५७ दशमलव ४ प्रतिशत साक्षर छन् ।

महिला र पुरुषबीचको साक्षरताको खाडल करिब १८ प्रतिशत रहेको देखिन्छ । साक्षरताले मानवको अन्तर्निहित प्रतिभा प्रष्फुटन गरेर सक्षमता ल्याउँदछ । सक्षमताले पौरखी हातहरूलाई परिमार्जित र परिस्कृत गरेर हरेक व्यक्तिको जीवनमा आमूल परिवर्तन गर्छ । उसमा सूचना र प्रविधिको जानकारी राख्ने क्षमतामा वृद्धि हुुन्छ । साक्षरताले आत्मबल र आत्मविश्वासमा बढोत्तरी भई एक सफल र सबल नागरिकका रूपमा जीवनयापन गर्न अहं भूमिका खेल्दछ । साथै साक्षरता सहज आधुनिक जीवनको अपरिहार्य कुञ्जी हो । आर्थिक, सामाजिक, सांस्कृतिक रूपान्तरण गरी देश विकास गर्न साक्षरता प्रतिशत उच्च हुनु पहिलो सर्त हो ।

मानव विकास सूचकांकलाई उच्च राख्न आवश्यक सर्तहरू स्वास्थ्य शिक्षा, विद्यालय भर्नादर, मातृ शिशु मृत्युदर, पोषण आदिको आधारशिला पनि साक्षरता हो । अन्तर्राष्ट्रिय राष्ट्रियस्तरमा प्रतिबद्ध सबै खाले विकासका लक्ष्य हासिल गर्न साक्षरता आधारभूत र अनिवार्य सर्त हो । त्यसकारण राज्यले आफ्ना नागरिकलाई यथाशक्य छिटो साक्षर बनाउन विभिन्न योजना, अभियान र कार्यक्रम ल्याउनुपर्ने हुन्छ । विकासको तगारोको रुपमा रहेको निरक्षरता र गरिबी एक अर्काको परिपूरक हुन् । सहज र सफल जीवन जीउन कम्तीमा साक्षरताको विकल्प छैन । अशिक्षाका कारणले विपन्नता अन्धविश्वास, बेरोजगार, परालम्बी तथा कमजोर स्वास्थ्य आदि नकारात्मक प्रवृतिले महिलालाई बढी गाँजेको हुन्छ ।

जबसम्म महिला र पुरुषलाई शिक्षामा पहुँच उनीहरूको क्षमताका आधारमा सुनिश्चित गरिन्न तवसम्म विकासको गति तीव्र नहुने यथार्थता हो । त्यसमा पनि यो दुरी पिछडिएको जातजाति, सो दुर्गम तथा निर्धनहरूको बसोबास क्षेत्रमा अधिक छ । नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यस्तो विषम परिस्थितिमा साक्षरतालाई सुगमतापूर्वक निरक्षरको पहुँचभित्र ल्याउन निश्चय नै ठूलै अठोट चाहिन्छ । महिला जनसंख्या बढी भएको हाम्रोजस्तो देशलाई नयाँ नेपाल बनाउन महिला साक्षरतालाई विशेष महत्व दिएर सघन कार्यक्रम ल्याउनुपर्ने हुन्छ । आधा आकाश ढाकेका महिलाको सशक्तिकरण नगरिकन समृद्ध समाजको अपेक्षा गर्न सकिन्न । युनेस्कोले यसवर्षको अन्तर्राष्ट्रिय साक्षरता दिवस महिला र सशक्तिकरणका लागि साक्षरतामा केन्द्रित गरेको छ । सशक्तिकरण भन्नाले प्राप्त सूचनाहरूको सही जानकारी गरी निर्णय गर्ने क्षमताको विकास गर्नु हो ।

किनकि महिलाले समान अधिकार र अवसरको उपयोग जबसम्म गर्न पाउँदिनन् तबसम्म दिगो विकासको कल्पना पानीको फोकाजस्तै हुन्छ । भनिन्छ १ जना पुरुष शिक्षित भए आफूमा मात्रै सीमित हुन्छ तर १ जना महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छन् त्यसकारण महिला शिक्षित हुनु भनेको पारिवारिक सक्षमता आउनु हो, आयआर्जन बढेर आत्मनिर्भर बन्नु हो, इलममा बढोत्तरी गरी सम्पन्नतातिर लम्कनु हो । आफ्नो हक, अधिकार र कर्तव्यप्रति सजग र सचेतभई स्वाभिमानिपूर्वक आत्मनिर्भर जीवनयापन गर्न कम्तीमा साक्षरताको विकल्प छैन । नेपालमा पनि महिला साक्षर र सशक्तिकरणका कार्यक्रम ल्याउने धेरै निकाय र संघसंस्था छन् । जसमा अनौपचारिक शिक्षा केन्द्र सानोठिमीले अग्रहणी भूमिका खेल्दै आएको छ ।

केन्द्रले महिला सशक्तिकरणका लागि विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । उदाहरणार्थः महिला साक्षरता प्रथम द्वितीय, आयआर्जन समूहमार्फत आफूले अंगालेका र संभाव्य पेसारुलाई परिस्कृत गरेर आत्मनिर्भर बनाई आफ्नो खुट्टामा उभिन सक्ने सक्षमता प्रदान गर्ने नीति लिएको छ । त्यसैगरी आयआर्जनमा वृद्धि गरी महिलाको जीवनस्तर उठाउन, आफ्ना कुराहरू निर्धक्कसँग राख्न अभ्यस्त बनाउन र संगठित भई हक र अधिकार सुनिश्चित गर्ने खालका कार्यक्रमहरू सामुदायिक अध्ययन केन्द्रमार्फत आयआर्जन समूह गठन गरी सञ्चालन गरेको छ । त्यस्तै स्वास्थ्य र सरसफाइसम्बन्धी जनचेतना फैलाउने कार्यक्रमहरू पनि सञ्चालन गरेको छ । विगत २ वर्षदेखि राष्ट्रव्यापी साक्षरता अभियान सञ्चालन गर्दे आएको छ । अभियानमा महिला सहभागितालाई प्रोत्साहित गरेको छ ।

साक्षरता कक्षा केन्द्र तोक्ने स्वयंसेवक एवं स्थानीय निरीक्षक नियुक्ति तथा व्यवस्थापनमा समेत महिला सहभागीताको सुनिश्चित गरेको छ । जसको फलस्वरूप महिला सहभागिता ८० प्रतिशतभन्दा बढी भएको प्रारम्भिक प्रतिवेदनले पुष्टि गरेको छ । आधारभूत साक्षरता सीप हासिल गरेपछि महिलाको निरन्तर शिक्षाका लागि अनौपचारिक प्रौढ विद्यालयहरू विकास र विस्तार हुने क्रममा छन् । जहाँ महिलाले एसएलसीसम्म पढ्न पाउने अवसर पाउँछन् । त्यस्तै सामुदायिक अध्ययन केन्द्रमार्फत पायक पर्ने ठाउँमा आयआर्जन समूह गठन गरी उत्पादन वृद्धि र प्राप्त आर्जनलाई सामूहिकरूपमा वचत गर्ने अभ्यास गराउँदै आएको छ । सामाजिक रूपान्तरण गरेर समृद्ध नयाँ नेपाल बनाउने सपना यथार्थतामा बदल्न आधा आकाश ओगटेका महिलाहरूको सशक्तिकरणको विकल्प छैन ।

साक्षरता सशक्तिकरणको पहिलो खुड्किलो हो । यसै वास्तविकतालाई आत्मसात गरेर अनौपचारिक शिक्षा केन्द्रले महिलालाई विशेष ध्यान दिएर कार्यक्रम सञ्चालन गर्दे आएको छ । साक्षरता अभियानका स्वयंसेवक, स्थानीय निरीक्षक तथा पढ्न आउने निरक्षर समेतमा महिलालाई प्राथमिकता दिनुपर्ने प्रावधान राखेको छ । जसको फलस्वरूप महिला साक्षरतामा उल्लेख्य वृद्धि भएको छ । मातृ तथा बालमृत्यु दर घटेको छ । राज्यका विभिन्न निकाय र कार्यक्रममा महिलाको पहुँच क्रमिकरूपमा बढेको छ । साक्षरता शिक्षित एवं सचेत महिला आमा भएको परिवारको बालबालिकाको पढाइको स्तर स्वभावैले बढ्न जान्छ । उल्लिखित कार्यक्रमहरू निश्चय नै हात्तीको मुखमा जिरा भएको छ ।

कार्यक्रमको सफलताको लागि पर्याप्त साधनस्रोतको तर्जुमा, प्रभावकारी कार्यान्वयन एवं सेवाग्राहीको अनुगमन निरीक्षण कार्य प्रगतिको आधारमा पुरस्कारको र दण्डको व्यवस्था गर्ने कार्यमा सबैको साथ सहयोग भएमा निश्चय नै हामी आफ्नो लक्ष्यमा पुग्न सक्छौँ । त्यसकारण महिला साक्षरतालाई प्रत्येक नेपालीले घरघरबाट सुरु गरेर पारिवारिक साक्षरतालाई प्रोत्साहित गर्नुपर्दछ । अरूले के ग¥यो भन्दा पनि मैले के गरेँ भन्ने कुराले महत्व राख्छ । त्यसकारण यो संसारलाई बदल्नु छ भने आफैँ बाट सुरु गरौँ । यही वास्तविकतालाई मध्यनजर राखेर भविष्यमा पनि महिला सशक्तिकरणलाई प्रवद्र्धन गर्ने खालका कार्यक्रमलाई प्रोत्साहित गर्नु भनेको समृद्ध नयाँ नेपाल बनाउन होस्टेमा हैसे गर्नु हो भन्दा अन्यथा नहोला ।

प्रतिक्रिया