नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमबार दिन दहाडै भएको हत्याले राजधानी काठमाडौंको शान्ति सुरक्षाको अवस्थाप्रति गम्भीर प्रश्न उठेको छ । बानेश्वर खरिबोटस्थित आफ्नो निवासबाट निजी गाडी चढेर निस्क“दै गर्दा अपरान्ह करिब ३ बजे गोली प्रहार गरी उनको हत्या भएको हो । सुरक्षा संयन्त्रको निगरानी रहेको ठानिने बानेश्वरजस्तो व्यस्त ठाउ“मा करिब १५ मिनेटको समय लगाएर हत्या गरी फरार हुन अपराधीहरू सफल भए । अपराधीहरूले चाहे भने जुनसुकै बेला, जुनसुकै ठाउ“मा जो सुकैको हत्या गर्न र सजिलै फरार हुन सक्छन् भन्ने पछिल्लो नजीर हो निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनको हत्या । यसअघि पनि बुद्धनगरको व्यस्त स्थानमा सर्वोच्च अदालतका न्यायाधीश रणबहादुर बमको गोली हानी हत्या गरिएको थियो । त्यसो त लाजिम्पाटको व्यस्त ठाउ“मा सञ्चार उद्यमी जमिम शाह, कालोपुलमा सांसद मिर्जादिलसाद बेगको गोलिहानी ठाउ“को ठाउ“ हत्या गरी सजिलै फरार हुन अपराधीहरू सफल भएका थिए । सञ्चार उद्यमी युनुस अन्सारीमाथि जेलभित्रै गोली प्रहार गरी सजिलै उम्कन अपराधी सफल भएको थियो । यी त राष्ट्रियरुपमा चर्चामा आएका घटना मात्रै हुन् । चर्चामा नआएका घटनाहरू निकै धेरै छन् । लुटपाट चोरी तथा हत्याका घटनाहरू निरन्तर जारी छन् । मुलुकमा अपराधीहरूको सन्जाल निकै बलियो छ र उनीहरूले चाहेमा कसैको पनि ज्यान सुरक्षित छैन भन्ने महसुस जनताले गर्ने अवस्था हुनु भनेको गम्भीर खतरा हो ।
राज्यको मुख्य कर्तव्य भनेको जनताको जिउधनको सुरक्षा हो । आफ्नो जिउधनको सुरक्षा होस् भनेर नै जनताले राज्यलाई कर बुझाउ“छन् । जनताले तिरेको त्यही करले नै राज्यले सुरक्षा निकायको व्यवस्था गरेको हुन्छ । तर, सुरक्षा निकायमा रहनेहरू आफ्नो कर्तव्यप्रति उदासीन र जिम्मेवारी बहन गर्न असक्षम सावित भएको देखिएको छ । यो मामिलामा सरकार गम्भीर हुनु जरुरी छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीमा बढ्दो राजनीतिक हस्तक्षेप नै शान्ति सुरक्षा राज्यको नियन्त्रण बाहिर जानुको मुख्य कारण हो । सुरक्षा निकायमा रहनेहरूको मात्रै पनि दोष छैन । आफ्नो दलगत स्वार्थलाई केन्द्रमा राखेर सुरक्षा निकायका जनशक्तिको सरुवा बढुवा गरिदि“दा उनीहरूमा व्यावसायिकताले भन्दा चाकडी प्रथाले प्राथमिकता पायो । यसैगरी आफ्नो व्याक्तिगत स्वार्थका लागि नेताहरूले गुन्डाको संरक्षण गर्ने प्रवृत्ति पनि शान्ति सुरक्षा नियन्त्रण बाहिर जानुको मुख्य कारण हो । उदाहरणका लागि केही वर्षअघि मोस्ट वान्टेड सूचीमा रहेका कुमार घैंटे प्रहरीको इन्काउन्टरमा मारि“दा कांग्रेस नेता अर्जुननरसिंह केसी र जगदीशनरसिंह केसीले सदनमा चर्को विरोध मात्रै गरेनन् युवा नेता गगन थापाले घैंटेको शवमाथि कांग्रेसको चारतारे झन्डा ओढाए । यो घटनाले घैंटेको इन्काउन्टरमा संलग्न प्रहरी अधिकृतको मनोबल गिर्न पुग्यो । कांग्रेस नेता केसीले त तत्कालीन एसएसपी सर्वेन्द्र खनाललाई यतिसम्म चुनौति दिए कि, ‘म जसरी पनि गृहमन्त्री बन्छु, त्यसबेला तेरो हविगत के होला हेरौ“ला ।’ दिनेश अधिकारी ‘चरी’ प्रहरीको इन्काउन्टरमा मारि“दा एमालेबाट त्यसरी नै प्रहरीमाथि गम्भीर चेतावनी दिइयो । अहिले पनि मुख्यदलका शक्तिशाली नेताका अघिपछि हि“डिरेहका थुप्रै मोस्ट वान्टेड डनहरूलाई देखेको नदेखै गर्न प्रहरी वाध्य छ । राजनीतिमा भित्रिएको डन संस्कृतिलाई दलहरूले त्याग्नुपर्छ ।
यसैगरी मुलुकमा डन संस्कृतिको सुरुआतमा निर्माण व्यवसायीहरूको पनि मुख्य भूमिका छ । सबै निर्माण व्यवसायीहरूलाई एउटै डालोमा राखेर मुछ्न मिल्दैन । तर, जब राज्यले विकास निर्माणका लागि ठूलो रकमको टेन्डर आह्वान गर्छ तब निर्माण व्यवसायीहरूले एक अर्कालाई निषेध गर्न हतियारसहित गुन्डा परिचालन गर्छन् । जसका गुन्डा शक्तिशाली छन् उसैले मात्रै टेन्डर हाल्न सक्ने अवस्था मुलुकको धरातलीय यथार्थता हो । टेन्डर हाल्ने क्रममा गुन्डाहरूबीच दोहोरो भिडन्त हुने र मान्छेको ज्यानसमेत जाने गरेका घटना धेरैपटक दोहोरिने गरेका छन् । यो विकृति उन्मुलन नभएसम्म निर्माण व्यवसायीहरूको ज्यान खतरामुक्त छैन । यसैगरी पछिल्लो समय राजनीतिक दललाई चन्दा दिन र डनहरू पाल्न सबैभन्दा ठूलो बाध्यतामा निर्माण व्यसायीहरू नै परेको देखिएको छ । छोटो समयमा धनी भएका ५० जना नेपालीहरूको सूची केलाउने हो भने धेरैजसो निर्माण व्यवसायीहरू नै छन् । यसको असर चक्रवर्ती देखिएको छ । पहिलो कुरा त विकास निर्माणको अधिकांश बजेट भ्रष्टाचारमा सकिने गरेको छ । दोस्रो कुरा विकासका संरचनाहरू धरापजस्ता भएका छन्, तेस्रो कुरा निजी सुरक्षाकर्मी नराखे सार्वजनिक रूपमा हि“डडुल गर्नै नसक्ने अवस्थामा इमानदार निर्माण व्यवसायीसमेत पुगेका छन् । सोमबार हत्या गरिएका निर्माण व्यवसायी गौचन निकै इमानदार मानिन्छन् । व्यवसायीहरू असुरक्षित हुनु भनेको निकै संवेदनशील पक्ष हो । व्यवसायीहरू असुरक्षित भए भने मुलुकको आर्थिक गतिविधि ठप्प हुन्छ, रोजगारीको संभावना समाप्त हुन्छ ।
प्रतिक्रिया