गुरमितको ‘डेरा’ को मासिक आम्दानी १३ अर्ब !

ram-rahim-den_650x400_71504847985नयाँदिल्ली २७ भदौ । आश्रमभित्रका साध्वी युवतीहरूलाई बलात्कार गरेको साथै अनैतिक र स्वेच्छाचारी यौन उच्छृंखलता प्रदर्शन गरेको आरोपमा जेलसजाय पाएका कथित धर्मगुरु गुरमित राम रहीम अहिले जेलमा छन् । डेरा सच्चा सौदा नामक संस्थालाई रहीमले व्यक्तिगत फाइदाका लागि प्रयोग गर्ने गरेको र यसैको आडमा अनेकौँ आपराधिक कुकृत्यहरू गर्दै आएको रहस्य क्रमशः सार्वजनिक भइरहेको छ । हिन्दू धर्मदर्शनलाई विकृत तुल्याउनमा गुरमित राम रहीमजस्ता भारतका कथित साधुसन्तहरूको जिम्मेवारी पनि कम छैन । धर्मका नाममा भारतमा केकस्ता अपराध र अनैतिकता फस्टाइरहेका छन् भन्ने कुराको कुख्यात उदाहरण हो– गुरमित राम रहीम ।

उनले बैंक खाता नखोलीकनै अपारदर्शी कारोबार गर्ने गरेको र व्यवस्थित तथा वैधानिक अभिलेखविना नै भक्तहरूको आस्था, विश्वास र श्रद्धाको दुरूपयोग गर्दै प्रतिमहिना झन्डै १३ अर्ब रूपैयाँ असुल्ने गरेको थाहा भएको छ ।  सो रकम हरियाणा, पञ्जाब र राजस्थानमा रहेका डेरा सच्चा सौदाका ९० लाख स्थायी सदस्यहरूबाट मासिक रूपमा असुल्ने गरिएको रहस्य खुलेको छ । दैनिक भास्करका अनुसार त्यस्ता सदस्यहरूमध्ये २५ हजार सरकारी कर्मचारी थिए । सदस्य बनेका सरकारी कर्मचारीले आफ्नो कमाइको १० प्रतिशत रकम अनिवार्य रूपमा गुरमितको डेरामा बुझाउनुपर्ने नियम थियो । यही अकूत सम्पत्तिका आडमा उनले अनेकौँ आपराधिक तत्वलाई बढावा दिएको र आमजनतालाई त्रासमा राखेर आफ्नो चंगुुलमा पार्दै आएको रहस्य खुलेको छ ।

डेरासँग सम्बन्धित १ जना अफिसरले बताएअनुसार डेरामा भारतको कानुनभन्दा भिन्नै कानुन छ । गुरमितले पैसा जम्मा गर्नका लागि प्रतिमहिना १ लाखभन्दा बढी कमाइ भएका व्यक्तिहरूलाई सदस्य बनाउने गर्दथे र उनीहरूको कमाइको १० प्रतिशतका दरले १ जना व्यक्तिबाट मासिक १० हजार रूपैयाँ न्यूनतम उठाउने गर्थे । गुरमितले रकम जम्मा गर्नका लागि तीनवटै राज्यमा सेवाको नाममा दान प्रतियोगितासमेत चलाउँथे । यो प्रतियोगितामा जुन राज्य अगाडि हुन्थ्यो, त्यहाँका अफिसरहरूलाई विशेष कार्यक्रमका बेला सम्मान गरिन्थ्यो ।

डेरामा हरेक वर्ष ३ वटा विशेष कार्यक्रम हुने गर्थे । १५ अगस्तमा बाबाको जन्मोत्सव, २३ सेप्टेम्बरमा गद्दी दिवस र अर्को शाह सतनामको जन्मोत्सव । यी कार्यक्रमका बेला झन्डै ३० लाख व्यक्तिहरू डेरामा जुट्ने गर्थे । डेरामा पैसा असुल्नका लागि अनेकौँ तरिका लगाइन्थ्यो । राम रहीमको ध्याउन्न नै कसरी मान्छेसँग पैसा झार्न सकिन्छ भन्नेमा केन्द्रित हुन्थ्यो । हिन्दूस्तान डट कमले दिएको समाचारअनुसार सिरसास्थित डेरा मुख्यालयमा छापा मार्ने क्रममा सुरक्षाकर्मीहरूले त्यहाँ अवैध गर्भपतन गराउने क्लिनिक भेटिएको बताएका छन् । उक्त क्लिनिकमा कस्ता महिलाको गर्भपतन गरिन्थ्यो भन्ने अनुसन्धान भइरहेको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया