टोकियो २१ भदौ । जापानको एक विमानमा चरा ठोकिएपछि सोही विमानस्थलमा आकस्मिक अवतरण गरेको समाचार छ । उडेको केही मिनेटमै सो विमान अवतरण गरेको थियो । जापानको टोकियोस्थित हानेदा विमानस्थलबाट मंगलबार बिहान न्युयोर्कका लागि उडेको सो विमानमा उडेको केही क्षणमै चरा ठोक्किन पुगेको र त्यसका कारण विमानको इन्जिनमा नै असर परेको अनुमान गरिएको छ ।
हानेदा विमानस्थलबाटै बिहान उडेको बोइङ–७७७ विमानमा चरा ठोक्किएपछि इन्जिनमा असर परेको थियो । सो विमान उक्त विमानस्थलमा आकस्मिक अवतरण गरेको र त्यस क्रममा देब्रेतर्फको इन्जिनबाट धुवाँ पनि निस्केको बताइएको छ । उक्त एउटा इन्जिनको प्रयोगगरी विमान आकस्मिक रूपमा विमानस्थल पुगेको विमानचालक दलका सदस्यले जानकारी दिएका छन् । सो विमानले २ सय ५० जना यात्रु बोकेको थियो ।
जापानको सरकारी टेलिभिजन एनएचकेले दिएको जानकारीअनुसार सो विमानमा रहेका सबै जना चालक दलका सदस्य र यात्रुहरू सकुशल रहेका छन् । कसैलाई पनि चोटपटक नलागेको समाचारहरूमा जनाइएको छ । अहिले नै के कति कारणले इन्जिन फेल भयो भन्ने बारेमा त केही भनिएको छैन । तैपनि विमानमा चरा ठोक्किएको कारण इन्जिनमा असर परेको हुनसक्ने अनुमान गरिएको प्रारम्भिक समाचारमा जनाइएको छ ।
प्रतिक्रिया