कथा : महानगरभित्र

Matrika pokhrelबिहानको करिब १० बज्दै थियो ।
म दरबारमार्गमा सडक पार गर्ने मौका कुरिरहेको थिएँ । त्यसैबेला कसैले पछाडिबाट मेरो पाखुरामा च्याप्प समातेपछि म झस्किँदै पछिल्तिर फर्किएँ ।

‘हजुर, नमस्कार !’ एउटा युवक मुसुक्क मुस्कुराइरहेको थियो ।

परिचितजस्तो अनुहार लागे पनि मैले राम्ररी ठम्याउन सकिनँ । तर, उसको हाँसो र उसले मप्रति देखाएको मुक्त व्यवहारले ऊ मेरो नजिकको मान्छे हो भन्ने बुझ्न बेर लाग्दैनथ्यो ।

‘मलाई चिन्नु भएन कि क्या हो हजुरले ?’ मेरो हात झट्कार्दै भन्यो उसले ।

उसको सोधाइपछि म झनै अल्मलिरहेको थिएँ । छैन भनौँ भने अत्यन्त परिचितजस्तो लागिरहेको थियो उसको अनुहार । चिनेँ भनौँ भने मैले राम्ररी ठम्याउन सकेकै थिइनँ ।

‘म उहीँ क्या साइला दमाइको छोरो तिलक !’ म अक्मकाउँदै गर्दा आफ्नो परिचय उसले हत्तपत्त दियो ।

मैले उसको सबै पहिरन हेरेँ । भैरे दमाइको छोरो । यो कसरी हुन सक्छ । ऊ मेरो गाउँको अत्यन्त गरिबको छोरो । घाँटीमा सुनको सिक्री थियो । हातमा अत्यन्तै महँगो लाग्ने घडी । उसले लगाएका जुत्ता र कपडाहरू सबै महँगाजस्ता लाग्थे ।

‘हजुर, जाउँ, मेरो गाडी ऊ त्यहीँ छ । एउटा रेस्टुरेन्टमा गएर चिया कफी खाउँ । मैले हजुरलाई धेरै समयदेखि खोजिरहेको थिएँ । मैले हजुरको फोन नम्बर पनि प्राप्त गर्न सकिनँ । आज भेट भयो । मेरो त भाग्य नै रहेछ नि !’ उसले एकैपटक धेरै कुरा भनी सिध्यायो । म भने अन्योल र असमन्जस अवस्थामा गुज्रिएको थिएँ । पोहोरको दसैँमा घर जाँदा तिलकको बुबा साहिँला दमाइले आफ्नो छोरालाई भेटेर घर जान भनिदिनु प¥यो भनी आग्रह गरेको कुरा मेरो मानसपटलमा चलचित्रको दृश्यभैmँ घुमिरहेको थियो ।

‘मलाई त केही थिएन हजुर, ऊ काठमाडूमै छ भनेर देख्नेहरूले भनेकै थिए । उसको चिन्ताले तिलककी आमाको हाड र छाला मात्र बाँकी छ । उ, गएको यतिका वर्ष भइसक्यो । हजुरले खोजी गरेर पठाइदिए ठूलो गुन सम्झने थियौँ ।’ यति भनेर साहिँला दमाईले एक थोपा आँसु भुइँमा खसाएको थियो ।

तिलकले भनेको नमानौँ भने फेरि उसलाई भेट्न नपाइने डर । उसले भनेको मानुँ भने त्रिचन्द्र कलेजमा कक्षा छुट्ने डर । म यही द्विविधामा एकछिन रुमल्लिएँ ।

‘के सोचिरहनु भएको जाउँ न हिँड्नुस् !’ उसले मेरो हात समातेर झक्झक्यायो ।

मैले पनि त्रिचन्द्रमा आजको कक्षा छाडिदिने विचार गरेँ र उसको पछिल्तिर लागेँ । ऊ मेरो अघिअघि लाग्यो र केही पर बाटोको किनारमा पार्किङ गरिराखेको कारको ढोका खोल्यो । उसले मलाई पछिल्लो सिटमा बस्न हातले इसारा ग¥यो ।

कार अत्यन्तै अत्याधुनिक र नयाँ मोडेलको थियो । उसले कारलाई नारायणहिटी दरबार अगाडिबाट पूर्वतर्फ नागपोखरीतिर मोड्यो ।
मेरो मनभित्र उसका बारेमा विभिन्न तर्कनाहरू खेलिरहेका थिए ।

‘ऊ कसैको निजी ड्राइभर भयो होला या कुनै मोटर वर्कसपमा काम गर्छ होला ।’ म उसले चलाइरहेको कारको पछिल्तिर बसेर यस्तैयस्तै सोच्दै थिएँ ।

‘तिमी कहाँ बस्छौ ?’ मैले कुराको पोयो खोल्ने विचार गरेँ ।

पहिलेपहिले उसलाई तँ भनेरै सम्बोधन गर्थें । गाउँको दलित केटो त्यसमाथि मेरो कान्छो भाइको उमेरको मान्छे । तर, उसको रवाफ देखेर आज तँ भन्ने आँट गर्नै सकिनँ । तिमी भनेर सम्बोधन गरेँ ।

‘मेरो बारेमा एकछिन पछि हजुरले सब थाहा पाइहाल्नुहुन्छ नि !’ उसले नागपोखरीबाट बालुवाटारतिर गाडी मोड्दै भन्यो ।

बालुवाटार नपुग्दै मलाई उसले एउटा रेस्टुरेन्टभित्र लिएर गयो । रेस्टुरेन्टभित्र पस्ने बित्तिकै उसले २ जना मात्र बस्न मिल्ने एउटा सेक्रेट कोठाको माग ग¥यो ।

‘किन चाहियो र सेक्रेट कोठा, आखिर कोही मानिसहरू त छैनन् ।’ मध्यान्ह हुन लागेको बेला खाली रेस्टुरेन्ट देखेर मैले उसलाई भनेको थिएँ ।

मैले भन्दानभन्दै रेस्टुरेन्टको स्टाफले एउटा सेक्रेट कोठा देखाइदियो ।

‘यो आफ्नै भाइहरूले चलाएको रेस्टुरेन्ट हो क्या दाइ !’ उसले स्पष्टीकरण दियो ।

‘के इच्छा छ हजुरलाई ? मम, पिज्जा, सेकुवा ।’ उसले मेनु पल्टाउँदै भन्यो ।

‘होइन, म त भर्खरै खाना खाएर आएको । मलाई त केही पनि खाने इच्छा छैन । तिमीले आफूलाइ मात्र मगाउ ।’ मैले आफ्नो स्थिति बताइदिएँ ।

‘होइन, चिसो, तातो केही त लिनै पर्छ ।’ मलाई उसले कर गर्न थाल्यो ।

‘हुन्छ, मचाहीँ एक कप कफी खान्छु । अरू तिमीलाई के इच्छा छ लेउ ।’ मैले उपाय खोजेँ ।

‘मेरो त खाना खाने बेलै भएको छैन । खाना खाँदा दिउँसोको १२–१ बज्छ । बिहानै हेभी ब्रेकफास्ट लिन्छु र जिममा जान्छु ।’ मेनुबाट आँखा नउठाइकन उसले भन्यो ।

५ वर्ष पहिले उसलाई मैले पहाडमै भेटेको थिएँ । मेरी आमा त्यसबेला बिरामी भइरहनु हुन्थ्यो । त्यसकारण म आफ्नो घर पहाड गइरहन्थेँ । त्यसैले ऊसँग मेरो निरन्तर भेट भइरहन्थ्यो ।

‘तर ५ वर्ष पहिलेको तिलक र अहिलेको तिलकमा आखिर यत्तिका फरक कसरी भइरहेको छ ?’ म आपैmँ यो प्रश्नमा रुमल्लिरहेको थिएँ ।
यसै बीचमा उसको गोजीमा मोबाइलको घन्टी बज्यो ।

‘सानुमैयाँ ! म आइपुग्न अरू एक घन्टा लाग्छ है !’ यति भन्दै उसले मोबाइल स्विचअफ ग¥यो र टेबलमा राख्यो ।

टेबुलमा राखेको उसको मोबाइलमा आँखा पर्ने बित्तिकै ५ वर्षअघिको अर्को सम्झनाले मलाई तान्यो । त्यसबेला टचस्क्रिन मोबाइलको सुरुआत भएकै थिएन । मैले भर्खरै नोकियाको नयाँ सेट लिएर गाउँ गएको थिएँ । त्यसबेला मसँग भएको मोबाइल देखेर ऊ अचम्मित भएको थियो । अझ त्यसबाट टाढाटाढाका मानिसहरूसँग त्यसबाट कुरा गर्न सकिन्छ भन्ने थाहा पाएपछि उसको कुतूहलता देखेर मलाई निकै रमाइलो लागेको थियो । यतिबेला टेबुलमा राखेको उसको अत्याधुनिक सेट देखेर म भित्रभित्रै लोभिइरहेको थिएँ । सम्पूर्ण क्रियाकलापहरूले उसको समग्र जीवनशैली अत्यन्तै उच्चस्तरको रहेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

तिलक मसँग केही कुरा गर्न चाहिरहेको छ भन्ने आभास उसका केही भागभंगीमाहरूले मलाई दिइरहेका थिए ।

‘काठमाडौंमा तिमी के गरेर बसिरहेका छौँ ?’ उसको समस्यालाई बुझेर मैले नै कुरो सुरु गर्ने विचार गरेँ ।

‘यस्तै त हो नि दाजु ! सडकतिर घुमेर दिन बिताएको छु ।’ हल्का हाँसो हाँसेर हल्कै जवाफ दियो उसले ।

‘सडकमा घुमेर खान पाउनु पनि ठूलै भाग्री हो नि !’ मैले पनि हल्कै कुरा गरेँ ।
‘पुगेकै छ दाजु !’

‘भने पछि ठूलै प्रगति गरेछौ जस्तो छ ।’

‘सामान्य छ ।’

‘के गर्छौ त ?’

यिनै संवादका बीच मेरो पछिल्लो प्रश्नपछि ऊ अलिक हड्बडायो ।

मतिर हेर्दै ऊ अलिअलि मुस्कुराउने प्रयत्न गथ्र्याे ।

त्यसपछि ऊ लामो समय मौन देखियो । मेरो प्रश्नपछि उसको अनुहारमा एउटा त्रासको लहर दौडियो ।

हाम्रो अघिल्तिरको टेबुलमा कफीका २ वटा कप आइपुगे । ऊभित्र केही कुराहरू गुम्सिएर रहेका छन् र ती कुराहरू खोल्न उसलाई सकस परिरहेको छ भन्ने मैले अन्दाज गरिरहेको थिएँ ।

उसको मौनताको कारण खोजीरहेकोे थिएँ म । उसको स्वभाव मौन बस्न रुचाउने खालको थिएन । यो कुरा म राम्रोसँग जान्दथेँ । सानैदेखि चञ्चले स्वभावको थियो ऊ ।

‘ए ! घरमा तिम्रो बुबा निकै बिरामी हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ । अहिले कस्तो छ ?’ म ऊबाट छलफलको गति बढाउन चाहन्थेँ ।
‘अहिले त ठिकै छ अरे !’ ऊ फेरि छोटो उत्तर दिएर अडियो ।

‘दाइलाई आज म मेरो घर देखाउन लान्छु । तर, त्यसका लागि दाइसँग मैले केही कुरा गर्नु छ ।’ यति कुरा गर्दागर्दै उसको अनुहार लज्जावती झारभैmँ ओइलायो ।

‘ए ! तिमीले काठमाडुमा घर बनाइसक्यौ ?’ मलाई पनि अचम्म लाग्यो ।
काठमाडुमा आएर मैले कलेज पढाउन थालेको पनि दुईदशक भइसकेको थियो । बल्लबल्ल भक्तपुरको दुवाकोटमा ३ आना जग्गा जोड्न मात्र सकेको थिएँ । मेरो लागि घर बनाउनु त धेरै टाढाको कुरा भयो । उसले घर बनाएको कुरा गर्दा म साँच्चै अचम्मित भएँ ।
‘कहाँ बनायौ घर ?’ उसको कुरा सुनेपछि मेरो उत्सुकता पनि बढ्दै गयो ।

‘लाजिम्पाटमा’ उसले फेरि छोटकरीमै कुरो टुंग्यायो ।

‘लाजिम्पाटजस्तो भिआइपी ठाउँमा तिलकको घर ?’ मलाई भित्रैदेखि उसको घर हेर्ने कुतूहलता जागेर आयो ।

‘मैले मेरो घरमा मेरो पारिवारिक अवस्थाका बारेमा धेरै कुरा ढाटेको छु । मैले मेरो ससुरालीतिर सबैलाई म ठकुरी जातको मानिस हुँ भनेर परिचय गराएको छु । मेरी पत्नीदेखि सबै जना मेरो कुरामा ढुक्क छन् । हजुरले यो कुरालाई मिलाएर कुरा गरिदिनु पर्ला है ! म हजुरलाई मेरो ठूलोबुबाको छोरो दाजु भनेर परिचय गराउँछु ।’ सकसका साथ उसले आफ्ना कुरा राम्रोसँग भनिनसक्दै टाउको झुकायो ।
‘कसकी छोरी विवाह ग¥यौ ?’ म उसको बारेमा थप कुरा जान्न हतारिएको थिएँ ।

‘राणाकी ! ’
‘कति वर्ष भयो विवाह भएको ?’
‘चार वर्ष !’

‘बच्चाहरू कति भए ?’
‘दुई वटा । छोरा र छोरी ।’

संक्षेपमा यिनै संवादहरू भए उसका र मेरा बीचमा ।
‘हजुर, जाउ न त !’ ऊ उठ्यो ।

ऊसँग जाउ भने भूmठो बोल्नुपर्ने, जान्न भन्नलाई पनि ऊ निकै कर गर्ने मुडमा देखिन्थ्यो । म एकछिन रनभुल्लमा परेँ ।

प्रतिक्रिया