शेक्सपियरको जन्मघरमा लघुकथा विमोचित

sexpiyarकाठमाडौँ, ९ भदौ । साहित्यकार विलियम शेक्सपियरको जन्मघर स्टार्टफोर्ड अपन एभनमा ‘आजका लघुकथा’ नामक पुस्तकको शुक्रबार विमोचन गरिएको छ ।

लघुकथा समाज नेपालका अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक कृष्ण बजगाईं, नेपालबाट आएका साहित्यकार वासुदेव अधिकारी र छविरमण सिलवाल, बेलायतका साहित्यकार डा. रुपक श्रेष्ठ र विजय सापकोटाबाट संयुक्त रुपमा उक्त पुस्तकको विमोचन गरिएको थियो ।

सो अवसरमा स्रष्टाहरुले नेपाली साहित्य लेखन विश्वका अन्य साहित्यभन्दा कम नभएको बताउँदै त्यसको अन्तर्राष्ट्रिय विस्तारका लागि सबैले आआफ्ना ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिए ।

श्रीओम श्रेष्ठ ‘रोदन’ले सम्पादन गरेको‘आजका लघुकथा’मा तेह्र लघुकथाकारका पैँसट्ठी लघुकथा समाविष्ट छन् ।

लघुकथा समाजले प्रकाशन गरेको उक्त लघकथासंग्रहमा राजनीति, प्रेम, यौन, भ्रष्टाचार, शोषण, अन्याय, अत्याचार, विसंगति आदि विषयलाई विषय बनाइएको संयोजक बजगाईँले जानकारी दिए ।

तीजमा ‘मध्यधार’को चर्चा

बेलायतमा रहेर साधनारत कथाकार सञ्जु बजगाईँको कथासंग्रह ‘मध्यधार’को परिचर्चा गरिएको छ । तीजका अवसरमा बुधबार लन्डनको एजवेयरमा लाभेन्डर बुक क्लबद्वारा उक्त पुस्तकको चर्चा गरिएको थियो ।

कथासंग्रह दोभान प्रकाशनद्वारा प्रकाशन गरिएको हो । सो अवसरमा समीक्षक सिलवालले बजगाईँका कथामा प्रवासी जीवनको यथार्थको प्रतिबिम्ब पाइने बताए ।

कथामा नारी संवेगको मार्मिक चित्रण पाइए पनि कथाको धरातल फरक किसिमको भएकाले बजगाईँका कथामा भिन्नै स्वाद भएको सिलवालले बताए ।

कथाकार बजगाईँले नारीका समस्या र परिवर्तित विशेषतालाई आफूले कथामा प्रस्तुत गरेको बताए । कथाकारले आफूले देखेभोगेकै यथार्थको कलात्मक अभिव्यक्ति भएको स्पष्ट गरे।

बुक क्लबका संयोजक राजेश्वरी घिमिरेले बजगाईँको लेखन प्रवासमा रहेका नेपाली महिलाका लागि प्रेरणादायी बन्ने बताएा । कार्यक्रममा रञ्जु थापालगायतले कथा संग्रहमाथि आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।

यसअघि ‘समुद्र र सपना’ कथासंग्रह प्रकाश गरिसकेकी बजगाईँको यो दोस्रो कथासंग्रह हो । संग्रहमा डायस्पोरिक विषयवस्तुका साथमा नारी संवेगात्मक, सामाजिक, पारिवारिक एवम् मनोवैज्ञानिक विषयवस्तुका गरी पन्ध्र कथा समेटिएका छन् ।

प्रतिक्रिया