भक्तपुरका औषधि पसल र क्लिनिक मापदण्डविपरीत

aausade pasal bkktभक्तपुर । जिल्लामा सञ्चालित अधिकांश औषधि पसल तथा क्लिनिकहरू मापदण्डविपरीत चलेको पाइएको छ । पसल तथा क्लिनिक सञ्चालनका लागि सरकारी प्रावधान अनुसार दर्ता गर्नुपर्नेलगायत नियम भए पनि अधिकांश पसल दर्ताविनै चलिरहेका छन् । कतिपय दर्ता भएका पसल तथा क्लिनिकहरूले सरकारी मापदण्ड नै पूरा गरेका छैनन् भने कतिपयले नवीकरणसमेत नगरेको जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरले जानकारी दिएको छ । भक्तपुरका ग्रामीण मात्र नभई सहरी क्षेत्रमै सञ्चालित यस्ता पसलहरूले मूल्यसूचीसमेत नराखेको अनुगमनका क्रममा पाइएको कार्यालयले बताएको छ ।

उपभोक्ता संरक्षण ऐन २०५४ अनुसार वस्तु र सेवाको मूल्यसूची उपभोक्ताले सहजरूपमा देख्ने गरी टाँस्नुपर्ने प्रावधान छ । उपभोक्ताले लिएको वस्तुको परिमाणअनुसार दर खुलाएर बिल दिनुपर्ने भए पनि अधिकांश मेडिकलले बिलसमेत नदिने गरेको सूर्यविनायकका एक सेवाग्राहीले गुनासो गरेका छन् । भक्तपुरका अधिकांश मेडिकल, क्लिनिक, अस्पताल र निजी स्वास्थ्य संस्थानहरूले न त मूल्यसूची राखेका छन, न त कुनै पनि सामग्रीको मूल्यको जानकारी नै दिन्छन् ती सेवाग्राहीले भने ‘निजी क्लिनिक, अस्पतालले मूल्यसूची नराख्दा वर्षौंदेखि हामी ठगिँदै आएका छौँ ।’जिल्लाका विभिन्न स्थानमा गैरकानुनी रूपमा स्वास्थ्य संस्था सञ्चालनमा आए पनि जिल्ला जनस्वास्थ्य कार्यालयले बेमौसमी बाहेक नियमति प्रभावकारी अनुगमनसमेत गर्न सकेको छैन ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयले अनुगमन तथा कारबाही गर्न नसकेपछि यस्ता गैरकानुनी संस्थाले अवैध रूपमा लाखौँको रकम असुली गरिरहेको भक्तपुरका स्थानीय राकेश श्रेष्ठले बताएका छन् । अनुगमन र कारबाही पनि नहुने भएपछि जिल्लाका मुख्य सहर भक्तपुर, सूर्यविनायक, मध्यपुरथिमी चाँगुनारायणका साथै नयाँबस्तीका चोक र गल्लीमा विनादर्ता अवैध रूपमा औषधि पसल, अवैध गर्भपतन सेवासहितको स्वास्थ्य क्लिनिक, डेन्टल क्लिनिक एवं अस्पताल सञ्चालनमा आएका छन् ।धेरै औषधि पसलले पसल सञ्चालनका लागि आवश्यक पर्ने प्रमाणपत्रसमेत भाडामा ल्याएको खुलासा भएको छ । भाडामा ल्याएको औषधि पसलको प्रमाणपत्र झुन्ड्याएर औषधि बिक्री गर्ने एवं विभिन्न विशेषज्ञ र चिकित्सकको नाम झुन्ड्याएर बिरामीलाई समेत ठगी गर्ने क्रम भक्तपुरमा बढेको स्वास्थ्यकर्मी स्वयं नै बताउँछन् ।

तर, यसको रोकथामका लागि सम्बन्धित निकायले चासो दिएको छैन । औषधि पसलमा प्रमाणपत्र झुन्ड्याए पनि ती व्यक्ति कहिल्यै भेटिँदैनन् । औषधिको सामान्य ज्ञानसमेत नभएका व्यक्तिलाई पसलमा राखेर औषधि बिक्री गर्ने गरेको समेत पाइएको स्थानीयको आरोप छ ।औषधिमा मनोमानी मूल्य लिने, सामान्य ज्ञान पनि नभएका व्यक्तिले नै बिरामीको स्वास्थ्य परीक्षण गरेर औषधि दिने र कतिपय क्लिनिकले अनुमतिविना आफूखुसी शैया राखेर अवैध रूपमा गर्भपतन गराउने गरेको खुल्न आएको छ ।यस्ता औषधि पसल, क्लिनिक एवं स्वास्थ्य संस्थाले जिल्ला जनस्वास्थ्य कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान भए पनि अहिलेसम्म भक्तपुरमा ९० प्रतिशत यस्ता संस्थाहरू जिल्ला जनस्वास्थ्यलगायत सम्बन्धित निकायमा दर्ता नभएको कार्यालयले जानकारी दिएको छ । यद्यपि, जनस्वास्थ्य कार्यालय भक्तपुरसँग भने जिल्लामा कति यस्ता गैरकानुनी संस्था, पसल र क्लिनिक सञ्चालित छन भन्ने एकिन विवरण छैन । ०७० सालको स्वास्थ्य निर्देशिकाले जनस्वास्थ्यलाई २५ शैयासम्मको स्वीकृति दिन सक्ने अधिकार दिए पनि भक्तपुरमा सञ्चालित १ सयभन्दा बढी यस्ता स्वास्थ्य संस्था दर्ता नगरी सञ्चालन भइरहेको कार्यालयले आँकलन गरेको छ ।

दर्तावाला क्लिनिक एवं स्वास्थ्य संस्थाले जनस्वास्थ्य कार्यालयमा मासिक प्रतिवेदन पेस गर्नुपर्ने प्रावधान रहे पनि सो नियमलाई समेत भक्तपुरका क्लिनिक सञ्चालकहरूले पालना गरेका छैनन् । यस्ता स्वास्थ्य संस्थाले आम्दानीको ५ प्रतिशत कर बुझाउनुपर्ने प्रावधान छ । तर, जनस्वास्थ्य कार्यालयको उदासीनता र व्यवसायीको अटेरीका कारण बर्सेनि करोडौँ रूपैयाँको कर छली भइरहेको छ । अधिकांश औषधि पसलले अनुमतिपत्रविनै एक्स रे, डेन्टल क्लिनिक र ल्याब चलाएका छन् । सरकारी स्वास्थ्य निकायबाट निःशुल्क पाइने क्षयरोगका औषधिसमेत सञ्चालकले बिक्रीका लागि राखेको पाइएको छ । सामान्यतया सरकारी निकायबाट निःशुल्क पाइने औषधि व्यवसायीले दुरूपयोग गरी बिक्रीका लागि राख्ने गर्छन् । औषधि पसल सञ्चालकले गम्भीर प्रकृतिका औषधिहरूको छुट्टै भण्डारण तथा बिक्री वितरणको अभिलेख राख्नुपर्ने प्रावधान छ ।

‘लागू तथा मनोद्वीपक’ कोटामा पर्ने यस्ता औषधिहरू लागूऔषध प्रयोगकर्ताले दुरूपयोग नगरुन् भन्ने उद्देश्यले चिकित्सकको सिफारिसपछि मात्रै किन्नेको अभिलेख राखी बेच्न दिइन्छ । तर, पसल सञ्चालकमध्ये अधिकांशले अभिलेख नराख्ने र खुलमखुला बिक्री गर्दै आएका छन् । नियमित अनुगमन र कारबाहीको अभावमा औषधि व्यवसायी तथा निजी स्वास्थ्य सेवा प्रदायकहरू नियन्त्रणबाहिर छन्् ।

प्रतिक्रिया