नेपालमा समाजवाद निर्माण वामएकता र पुष्पलाल

लोककृष्ण भट्टराई

Lok

नेपाल विश्व सभ्यताको पहिलो राष्ट्र र समाज हो भन्ने कुरा धेरै प्रमाणित भइसकेको छ । नेपालमा शिव, वुद्धको सभ्यतापछि सामन्तवादले पूर्णघर वा शासन गरेको कुरा निर्विवाद छ । अंग्रेजले भारत कब्जा गरेपछि नेपाली सभ्यताको पक्षमा राम शाह, पृथ्वीनारायण शाह, अमरसिंह थापा, भीमसेन थापा, वीर बलभद्र कुँवर, बहादुर शाहहरूले आफ्नो सम्पूर्ण जीवन नेपाली सभ्यता र राष्ट्रियता निर्माण गर्न लगाएकै हुन् । अंग्रेजले सुगौली सन्धिमा नेपाललाई पराजित गरेपछि, जंगबहादुर अंग्रेजको पिछलग्गु भएर नेपाली समाजमा उदाए । जंगबहादुरको वंशजले नेपालमा १ सय ४ वर्ष शासन गरे । जसले नेपाली सभ्यतालाई अनदेखा गर्दै ब्रिटिस साम्राज्यवादसँग आत्मसमर्पण गरे ।

जसबाट आज पनि नेपाली समाजको विश्वको पहिलो शिव संस्कृति र वुद्ध संस्कृति पछाडि परेको महसुस भएको छ । मानिस स्पार्टाकस विद्रोह, जिनज्याक रुसो, अल्बर्टआइन्स्टाइन वा चाल्स डार्बिनको सिद्धान्तको पछाडि अहिले लागेका छन् । तर, यो विश्वमा तिनको सिद्धान्तभन्दा अघि नै शिव, जनक, विश्वामित्र, वेदव्यास, गार्गी, वशिष्ठ, पतञ्जली, धन्वन्तरी, यज्ञवल्क्य, चारवाक ऋषिहरू र गौतम वुद्धजस्ता हाम्रो देशका विद्वान र विदुषिहरूले विश्वको र भौतिकवादको व्याख्या गरिसकेको हो । यिनैको व्याख्यालाई आधार मान्दै विश्वमा माक्र्सवाद जन्मेको कुरा निसंकोच भन्न सकिन्छ । तर, आजका मानिस यी कुरामा विश्वास गर्न कठिन मान्लान् तर सत्य यहि हो । मानव सभ्यताको भ्रुण नेपाल र नेपाली माटो बाट उब्जिएको निसंकोच भन्न सकिन्छ ।

नेपाल विश्व सभ्यताको पहिलो देश र माटो भएको कुरा संसारका सबैजसो देशका विद्वान, विदुषिलगायतले मानिआएका छन् । विगत वर्ष अस्ट्रेलियाको सिड्नीमा भएको जी–२० को सम्मेलनमा टर्कीका प्रेसिडेन्ट ऋषिप टाइप इरेट्गनले सभ्यताको पहिलो देश भनि संवोधन गरेका थिए । विश्वको पहिलो मन्दिर र मूर्ति पशुपतिनाथको मूर्ति हो यो कुरा पनि विश्वका सबै संस्कृतिविद् र विद्वानहरूले मानिसकेका छन् । यो करिब ८ हजारदेखि १९ हजार वर्ष पुरानो भएको कुरा अनुमान गर्न सकिन्छ । इतिहास र भूगोलमा समेत सयौँ प्रकारका हावापानी भएको देश नेपाल हो भन्ने कुरामा विश्वका जो कुनै विद्वान विदुषिले मानिसकेका छन् । नेपालमा समाजवादी आन्दोलनका पौराणिक र आधुनिक आयाम छन् । पौराणिक कुरा गर्दा वुद्ध, वेदव्यास, भृगु, विश्वामित्र र कपिल ऋषि आदी हुन् ।

आधुनिक कालमा भन्दा पुष्पलाल र विपी कोइरालालाई समाजवादी आन्दोलनको दार्शनिक मान्न सकिन्छ । विपीभन्दा पुष्पलालको समाजवाद गरिब, निमुखा, दलित, पिछडिएका जनजाति, आर्थिकरूपले पछाडि परेका सर्वहारा वर्गको पक्षमा छ । बिपीले पनि पहिला केही मध्यमवर्गीय समाजवादको सिद्धान्त लिन खोजेका थिए । तर, बिपीको लिगेसी बोकेको पार्टी नेपाली कांग्रेसले भने ०४६ सालपछि बिपीको मध्यमवर्गीय समाजवादी आचरण र सिद्धान्तलाई सयका सय पच्छ्याएन । उदारवादी अर्थतन्त्रको नाउँमा निजीकरण–फेरी निजीकरण–फेरी पनि निजीकरण यसको (कांग्रेस) नीति रह्यो । पुष्पलालको लिगेसी बोकेका नेकपाका विभिन्न समूह (एमाले, माओवादी केन्द्र, अन्य साना पार्टीहरू) ले पनि रेमिटेन्स अर्थ व्यवस्थाको जमेर विरोध गर्न सकेका छैनन् ।

यद्यपि कम्युनिस्ट पार्टीको पहिलो निर्वाचित सरकार र तत्कालीन प्रधानमन्त्री क.मनमोहनले पुष्पलालको नीतिलाई आत्मसात गर्दै आफ्नो गाउँ आफै बनाउँ, वृद्ध भत्ता, विधवा भत्ता, एसएलसीसम्मको निःशुल्क शिक्षा, ग्रामीण सिँचाइ र कृषि सडक निर्माण, पुँजी निर्माण, उत्पादन र वितरणका कार्यक्रम ल्याउन खोजेकै हो । क.पुष्पलालले जनगणतन्त्र निर्माणका लागि समाजवाद निर्माणको पहिलो चरण नयाँ जनवादी कार्यक्रम नेपाली जनतालाई दिएका हुन् । संयुक्त तथा संशक्त जनआन्दोलन नेपाली कांग्रेससहित सबै मिलेर गर्ने उनको आव्हान हँुदै हो । त्यसै बमोजिम ०४६ साल र ०६२÷६३ को जनआन्दोलन सफल भयो । तर, क.पुष्पलालले भनेका थिए,  ‘मानिस सत्तामा पुगेपछि विलासी हुन्छ, त्यसलाई नियन्त्रण गर्ने वातावरण बनाइएन भने त्यो समाज अगाडि बढदैन ।’

आज नेपालमा हामी कम्युनिस्ट र कांग्रेसका नाममा सत्तामा पुगेकाहरूले आफ्नो धरातल बिर्सिएर गरिब, असाहाय, दीनहिन जनतालाई बिर्सिन लागेका छाँै । यसको विरोधमा पुष्पलालका अनुयायीहरू जुन कुनै पार्टीमा भए पनि आपूmले आफ्नै पनि गलत प्रवृतिको स्वविरोध गर्नु जरुरी छ र आपूmले आपूmलाई सच्याउनु जरुरी छ । पार्टीहरू विशेषगरी कम्युनिस्टहरूले र यसका नेता कार्यकर्ताहरूले सिद्धान्तलाई आफ्नो आचरण र व्यवहारमा उतार्नु पर्दछ ।

०४६ सालको जनआन्दोलनपछि कांग्र्रेसलाई सामन्तवादका बचेखुचेका आर्थिक आधार भत्काएर समतामुलक आत्मनिर्भर आर्थिक व्यवस्था निमार्णतर्फ जान हामीले प्रस्ताव राख्दा र चुनाव पनि मिलेर लडौँभन्दा राजा पञ्च र सामन्तवादसँग कांग्रेस लहसिन पुग्यो । त्यसपछि यो धु्रवीकरणलाई चिर्न तत्कालीन अवस्थामा वामएकता हुनुपर्ने थियो । जसअनुसार तत्कालीन माले र माक्र्सवादी तथा केही वाम मिलेर एमाले बन्यो । तर, चुनावमा जाँदा तत्कालीन एकता केन्द्र, नेमकिपा, मानन्धर समूह र अन्य वामलाई पनि एमालेले कार्यगत एकतामा ल्याएर चुनावमा जानुपर्ने थियो । त्यो विभिन्न कारणले हुन सकेन । ०४८ सालको चुनावको नतिजा हेर्दा पनि सबै कम्युनिस्ट पार्टीहरूको पपुलर मतगन्दा कांग्रेसको भन्दा बढी छ । त्यसबेला एक वाम एक ठाउँ गरेर चुनावमा गएको भए वाम पार्टीहरूको बहुमत ०४८ सालमै आउँथ्यो । त्यसबाट आमुल आर्थिक सामाजिक सुधार गर्न सकिन्थ्थो ।

त्यसो नहुनाले नेपालको त्यसबेलाको एक वाम समूह सशस्त्र जनयुद्धमा गयो । यो घटना नहुन सक्थो । शान्तिपूर्ण रूपमा नेपालमा गणतन्त्र आउन सक्थ्यो । वाम समूहले दुईतिहाई मत ल्याएर राजतन्त्र शान्तिपूर्ण रूपमा फालिन्थ्यो । पछि ०६२÷६३ को जनआन्दोलन वा ०४६ सालको जनआन्दोलन दुवै शान्तिपूर्ण हुन् र दुवै आन्दोलन मध्ये एउटाले राजतन्त्रको शक्ति खोस्यो र अर्कोले राजतन्त्र हटायो । ०६२÷६३ को जनआन्दोलनपछि संविधानसभाको निर्वाचनमा वा त्यसभन्दा पनि पछि २ ठूुुला कम्युनिस्ट पार्टीहरू एमाले र एमाओवादी मिलेको भए र अन्य साना वामसँग सहकार्य गरेको भए यो भन्दा अझ राम्रो संविधान आउन सक्थ्यो तर त्यो भएन । फेरी पनि दलाल रेमिट्यान्समा आधारित अर्थ व्यवस्था हावी भयो । इतिहासमा वामएकता नहुँदा कत्रो धनजनको खती बेहोर्नु प¥यो । हामीले त्यसको लेखाजोखा गरेर आपूmलाई सुधार गर्नै पर्दछ ।

समाजवाद निमार्णको परिभाषा नगरी कतिसम्म कमाउन दिने भन्ने कुृरा नतोकी समाजवाद निमार्णतर्फ अगाडि बढ्न सकिन्न । ल्याटिन अमेरिकामा वामपार्टीहरूको लोकप्रियता बढ्नमा तत्तत् देशहरूका वामपार्टीहरूले सिद्धान्त (घोषणा पत्र) र व्यवहारमा कतिसम्म कस्तो सम्पति कसरी आर्जन गर्ने भन्ने स्पष्ट उल्लेख गरेका छन् र त्यसलाई पालना पनि गरेका छन् । जसले गर्दा त्यहाँ ऋणमा डुबेका राष्ट्र आज आर्थिक शक्ति भएका छन् । उदाहराणर्थ ब्राजिल हिजो विदेशी ऋणमा चुल्र्लुम्म डुबेको थियो । अमेरिकी माफियाले त्यहाँको अर्थ व्यवस्था र समाजलाई डामाडोल पारेका थिए । त्यसलाई लुला र डिल्मा रुसेफले सुधार गरेर युरोप र अमेरिकाबाहेकको आर्थिक जेन्ट चीन, भारत, रुस, ब्राजिल र दक्षिण अफ्रिका बन्न सक्यो । यद्यपि, अमेरिकन एकाधिकार पुँजिवादले त्यहाँको समाजवादी आन्दोलनलाई विस्थापन गर्न लुला र डिल्मा रुसेफलाई कथित भ्रष्टाचारको मुद्दा लगाएका छन् ।

तर, त्यहाँ फेरी पनि जनता यिनको पक्षमा उठ्दैछन् । हामी नेपाली वामपार्टीहरूले पनि समाजवाद निमार्णको कसीमा सम्पतीको सिलिङ नतोक्ने हो र करको दायरा परिभाषा गर्न सकिएन भने हालको कर फस्र्याैट आयोग र लगाम बेगरका करका अधिकारीहरू हुनेछन् जसले राजस्व उठ्तीमा ठूलो असर पुग्नेछ । नांगो रूपमा भ्रष्टाचार बढ्नेछ । आर्थिक अराजकता बढन गई समाज नष्ट भ्रष्ट हुन सक्छ । त्यसैले सम्पतिको सिलिङ तोक्ने र कर छल्ने प्रवृति अन्त्य हुनुपर्दछ । त्यसका लागि भ्रष्टाचार निवारणका ठोस कानुन बनाउन सदनमा दुईतिहाई मतको आवश्यकता हुन्छ । त्यसका लागि पनि एक वाम एक ठाउँजस्तो एकता वा वामपार्टीबीच सहकार्य अपरिहार्य छ ।
नेपालमा अधिकांश समय राजा र राणाको शासन चल्यो ।

युरोप, अमेरिका, चीन वा भारतमा स्वतन्त्र भएर आर्थिक विकास हुनथाल्दा पनि नेपालमा सामन्ती अधिनायकवादी व्यवस्था नै रह्यो । यसले नेपाली समाजको आधुनिकीकरण र राष्टिय विकासमा ठूलो वाधा दियो । हामी कम्युनिस्ट पार्टीहरू र कांग्रेसका धेरै मानिस लाई जेल, प्रवास र भूमिगत बस्न वाध्य पा¥यो । यद्यपि ०७ सालपछि प्राप्त जनताका केही अधिकार ०१७ सालमा खोसिए । जेल परेपछि बिपी र कांग्रेसमा केही सुधार आयो । तर, ०४६ साल पछिको कांग्रेसमा सुधार आएन । आज नेपालमा वामएकता किन पनि आवश्यक छ भने कांग्रेस रेमिट्यान्स अर्थ व्यवस्थाको पक्षमा हिजोदेखि निर्धक्क साथ लागिरहेको छ । युवाहरूको विदेश पलायनले त्यो नेपाली समान्त र दलाल पुँजिपतिवर्गको पक्षमा काम गरेको छ । ०४६ सालपछि कांग्रेसले २० वर्ष शासन ग¥यो ।

उसले तथाकथित उदारवादी रेमिट्यान्समा आधारित अर्थ व्यवस्था आत्मसात गरेका कारणले हालको नेपाली अर्थ व्यवस्था तत्कालीन राजाले लिएको अर्थ व्यवस्थाभन्दा तल झ¥यो । राजाको पालामा धान चामल, जडिबुटी अन्य कृषि उपज विदेश निर्यात हुन्थ्यो र व्यापार घाटा पनि कम थियो । कांग्रेसले अहिले पनि त्यस्तो अर्थ व्यवस्थालाई सुधार गर्ने पक्षमा छैन । बरु कम्युनिस्ट पार्टीको एक फ्याक्सन माओवादी केन्द्रलाई हात लिएर अर्को फ्याक्सन एमालेलाई रोक्ने पक्षमा छ । र, त्यो गरिरहेको पनि छ । त्यसैले कम्युनिस्ट पार्टीको ठूलो समूह एमालेले बुद्धि पु¥याएर माओवादी केन्द्र र अन्य साना वामहरूलाई हात लिएर वामहरूको नेतृत्व गर्नु जरुरी छ । समाजवाद निमार्णका वारेमा माओवादी केन्द्रलाई दक्षिणपन्थी भासमा जान नदिन वैद्य, विप्लव वा अन्य वामसमूहलाई उग्र वामभासमा जान नदिई देशभक्तिपूर्ण आन्दोलनतर्फ डो¥याउन पनि पुष्पलाल र मदन भण्डारीलाई सम्झँदा तमाम वाम वुद्धिजीवी त्यसमा पनि एमाले नेतृत्व गम्भीर हुनु जरुरी छ । यसको अर्थ माओवादी केन्द्रको नेतृत्व र अन्य साना वामसमूहको नेतृत्व पनि उत्तिकै गम्भीर हुनु अनिवार्य छ ।

त्यसैले साना कम्युनिस्ट पार्टीहरू समाजवाद विरोधी दलहरूको गोटी नबनून् । यसका लागि एमालेले ठूलो पार्टीको नाताले अन्य कम्युनिस्टहरूलाई सकेसम्म एकीकरणको प्रयास गर्ने त्यसो नहुँदा बरु गुटलाई मान्यता दिएर वा कानुन बनाएरै सबै कम्युनिस्ट पार्टीहरू एउटै चुनाव चिन्हबाट चुनाव लड्नसके त्यसपछि समाजवाद निर्माणलाई अझ सजिलो हुने थियो वा सजिलो गराउन सकिन्थ्यो ।

प्रतिक्रिया