नेपालको इतिहासमै न्यायपालिकाको शाख नराम्ररी खस्केको अवस्थामा न्यायाधीश गोपालप्रसाद पराजुली सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त भएका छन् । कानुन व्यवसायीबाट तत्कालीन पुनरावेदन अदालतको न्यायाधीशका रूपमा न्यायालय छिरेका पराजुलीलाई सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुने बेलामा अपेक्षाकृत बढी नै अवरोधको सामना गर्नुपरेको थियो । पराजुली प्रधानन्यायाधीश भने तुलनात्मक रूपमा धेरै सहज र स्वाभाविक रूपमा भए । यसपटक संसदीय सुनुवाइ समितिमा पराजुलीविरुद्ध उजुरै परेन । यद्यपी, उनको उमेरसम्बन्धी विवाद नउठेको भने होइन । विपक्षी दलका नेता केपी शर्मा ओलीले फाइल अध्ययन गर्नुपर्ने भनेर उनको नियुक्तिमा अवरोध गर्ने छनक दिए पनि अन्त्यमा उनले सहज स्वीकार गरे । त्यसैले उनी सर्वोच्च अदालतको परम्पराअनुरूप वरिष्ठतम न्यायाधीशका हैसियतमा प्रधानन्यायाधीश नियुक्त भए ।
धेरै अदालतभित्रैको र केही बाहिरको समेत कारणले अहिले नेपालको न्यायपालिकाको शाख सबैभन्दा तल पुगेको छ । विशेष गरी न्यायपालिकामाथि पछिल्ला केही समयमा भएको राजनीतिक आक्रमण र भागबन्डाले अदालत र न्यायाधीशहरूको शाख गिरेको हो । न्यायपालिकालगायत मुलुकमा देखिएका बेथितिका लागि राजनीतिक नेतृत्व पक्कै पनि बढी दोषी छ तर, न्यायपालिकाको शाख गिर्नुमा भने न्यायाधीशहरू पनि उत्तिकै जिम्मेवार छन् । न्यायिक मन राख्नुको साटो निश्चित आग्रह राखेर मुद्दा हेर्न बस्ने र मुद्दैपिच्छे बेग्लाबेग्लै व्यवहार गर्ने प्रवृत्तिले अहिले न्यायालय बढी नै आलोचित हुन पुगेको हो । प्रधानन्यायाधीश पराजुलीसामु मुख्य चुनौती न्यायालयको शाख पुनःस्थापित गर्नु नै हो । न्यायालयको भौतिक सुविधा र कार्यशैली दुवैमा आमूल परिवर्तन आवश्यक छ । अदालतको कामकाजमा आधुनिक प्रविधि र कार्यशैली प्रयोग गर्नु अर्को आवश्यकता रहेको छ । न्यायाधीशहरू विशेष गरी प्रधान न्यायाधीश पूर्वाग्रही हु“दा व्यक्ति कति मर्कामा पर्न सक्छ भन्ने विषयमा त पराजुली स्वयं भुक्तभोगी छन् । यसैले उनले आफूबाट त्यस्तै व्यवहार हुने वा त्यस्तो आग्रहपूर्ण रहन सक्ने अवस्था आउन दिनु हु“दैन ।
उदात्त महत्वाकांक्षा नराखी यथासम्भव न्यायपालिकाको अभ्यास र चिन्तनलाई पारदर्शी तथा स्वच्छ बनाउन इमानदार प्रयास गरेमा थोरै समयै पनि न्यायालयको छवि उज्यालो हुनसक्छ । सर्वोच्च अदालतमा मुद्दा धेरै लामो समयसम्म फैसला नहु“दा न्याय खोज्नेहरू अन्यायमा पर्छन् । यस्तै अदालतमा प्रयोग हुने शब्दावली पनि सामान्य साक्षर जनताले सजिलै बुझ्दैनन् । मुद्दा छिटो बुझेर निर्णय गर्ने तथा स्पष्ट शब्दमा फैसला लेख्ने न्यायाधीश मानिएका पराजुलीले यस्ता विषयमा महŒवपूर्ण सुधार गर्न सक्छन् । सुधारलाई गति दिन उनले केही महिना मात्र पदावधि बा“की भएको सँधैं सम्झनुपर्छ भने न्यायिक क्षेत्रलाई स्वच्छ बनाउने प्रयत्न गर्दा त्यसलाई बिर्सनुपर्छ । प्रधानन्यायाधीश पराजुलीलाई साँच्चै नै असल न्यायाधीश हुन र न्यायपालिकालाई सही बाटोमा ल्याउन सफलता मिलोस् । शुभकामना !
प्रतिक्रिया