राप्रपा अविश्वासी ?

प्रधानमन्त्री शेरबहादुर देउवा दोस्रोचरणको स्थानीय तहको निर्वाचनपछि मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा छन् । निर्वाचनका कारण स्थगन रहेको मन्त्रीमण्डल विस्तार कार्यका लागि देउवाले आफ्ना सहयोगी दलका नेताहरूसँग चरणबद्ध परामर्श आरम्भ गरेका छन् । मन्त्रीमण्डल विस्तार गर्ने कार्य कार्यपालिका प्रमुखको सामान्य कर्तव्यअन्तर्गत पर्ने भएता पनि मुलुकको दिनचर्या राजनीतिक परिवेशले वेष्ठित भएकाले चर्चाको विषयवस्तु नै बन्न नपर्ने मन्त्रीमण्डलसम्बन्धी विस्तार कार्यले नेपाली राजनीतिक वृत्त र समाचारमाध्यममा यस विषयले प्रमुख स्थान ओगट्दै आएको छ । मन्त्रीमण्डल विस्तारको क्रममा कांग्रेसका प्रमुख सहयोगी दल माओवादी केन्द्र चर्चामा नरहे पनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय राजनीतिमा विद्यमान भूमिकालाई लिएर सर्वत्र चासो देखिएको छ । मूलतः प्रत्येक पटकको सरकार गठन प्रक्रिया आरम्भसँगै विशेष गरेर राप्रपाको सर्वाधिक चर्चा सुनिन्छ ।

मुलुकमा पञ्चायती व्यवस्थाको अन्त्यसँगै जन्म भएको राप्रपा सुरुमा आफ्नो उपस्थिति कारगर नभए पनि समयको अन्तरालसँगै राप्रपाले आफ्नो उपस्थिति दर्बिलो बनाउँदै लग्यो । त्यस नवीन परिचयसँगै राप्रपाले केन्द्रीय राजनीतिमा आफ्नो हिस्सा माग्न थाल्यो । हिस्सा माग्ने क्रममा प्रतिशतको हिसाबमा तलमाथि पर्नासाथ राप्रपा केन्द्रीय राजनीतिमा कहिलेकाही“ निर्णायक त कहिले सहयोगी मात्रै देखिए । मधेस केन्द्रित दलहरूको संविधान संशोधन गर्ने मागलाई सम्बोधन गर्न संसद्मा दुई तिहाई बहुमत आवश्यक पर्ने हुनाले फेरि एकपटक सत्तारूढ दललाई राप्रपाको साथ र सहयोग अनिवार्य जस्तै देखिएको छ । केन्द्रीय राजनीतिको बजारमा दुई तिहाईरूपी सिक्काको माग र आवश्यकता जति खट्किरहन्छ त्यति नै राप्रपाको स्थिति प्रज्वलमय देखिन्छ । केन्द्रीय राजनीतिमा राप्रपा स्वयंले पनि आफूलाई ‘कम्पलसरी फ्याक्टर’ मान्दै आएका छन् । यही कारणले राप्रपाले अनेकाैँ पटक सत्ताको स्वाद चाखिसकेको छ । र, अब पनि उही स्वाद चाख्ने पर्खाइमा छन् । तर, यसपटक सत्तारूढ दलहरूले राप्रपालाई कम्पलसरी फ्याक्टर मान्न छाडेजस्तो छ । मुलुकको केन्द्रीय राजनीतिमा हालै विकसित नूतन परिस्थितिअनुसार संविधान संशोधनका लागि संसद्मा दुई तिहाई चाहिने आवश्यकता रहँदारहँदै सत्तारूढ दलहरू राप्रपाप्रति विश्वसनीय नदेखिएको समाचार बाहिर आउन थालेका छन् ।

समष्टिमा सत्ताको आरोह र अवरोहको क्रममा राप्रपाले सहयोगी वा धोखा जेजस्तो भूमिका निर्वाह गरेको छ त्यसको आधारमा राप्रपासँगै अविश्वसनीय बन्दै गएको भान हुन्छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको बेला संविधान संशोधन प्रस्ताव संसद्मा निर्णयार्थ प्रस्तुत गर्ने तयारी गर्दा त्यतिबेलाको सत्तारूढ दल राप्रपाका १० जना सांसद पार्टी ह्वीपलाई नमानेर अन्यत्र मोडिएर लापत्ता भएको घटनाले हाल राप्रपा अविश्वसनीय भएको हुनुपर्दछ ।सत्तारूढ दलका नेताहरू अहिले सार्वजनिकरूपमै भन्न थालेका छन् कि राप्रपा अविश्वासी पार्टी हो । सिद्धान्त, अनुशासनको आडमा हुर्कन नसकेको पार्टीमा कमान्ड पनि रह“दैन । राप्रपालाई निकट भविष्यमा विस्तार हुने सरकारमा उसैको मागबमोजिम यथोचित् स्थान दिएमा पनि भोलि संसद्मा मतदानको बेला मन्त्री स्वयं नै अनुपस्थित भएमा आश्चर्य मान्नुपर्दैन । राप्रपाको इतिहासमा दलबदलु चरित्र धेरैपटक देखिसकेको छ । उसको दलबदलु चरित्रबाट अरू दलको तुलनामा कांग्रेस र एमाले त पक्कै भलीभा“ती परिचित छन् । राप्रपाका वर्तमान अध्यक्ष कमलबहादुर थापाको अहिलकोे सकस पनि त्यही हुन सक्दछ । अध्यक्ष थापाले राप्रपालाई लोकतन्त्रमुखी र जीवन्त बनाउन अविश्वसनीयको दाग मेटाउन आगामी दिनमा केकस्ता रणनीति अवलम्बन गर्ने हुन त्यो त भविष्यले देखाउला । कमसे कम राप्रपा सत्तारोहणका लागि छट्पटाएको छैन भन्ने दृष्टान्त देखाउन अध्यक्ष थापाको सुझबुझयुक्त सन्तुलित कार्य अपेक्षित छ ।

प्रतिक्रिया