१६२ स्थानीय तह, जहाँ बैंक जान चाहँदैनन्

Nepal-Rastra-Bank-750
काठमाडौं २९ असार । देशका १ सय ६२ स्थानीय तहमा शाखा खोल्न वाणिज्य बैंकहरू अनिच्छुक देखिएका छन् । पूर्वाधार अभावको कारण देखाउँदै बैंकहरू ४९ जिल्लाका एक नगरपालिका र १ सय ६१ गाउँपालिकामा शाखा खोल्न तयार नभएका हुन् । ७ सय ४४ स्थानीय तहमध्ये हालसम्म ३ सय ३२ मा मात्रै ‘क’ वर्गका बैंक पुगेका छन् । त्यसमध्ये २ सय ५० तहमा बैंकका शाखा खोल्न वाणिज्य बैंकहरू तयार देखिएका छन् ।
किन जान चाहँदैनन् बैंक र
पूर्वाधार, सुरक्षा र जनशक्ति अभावका कारण बैंकलाई विकट स्थानीय तहमा शाखा खोल्न समस्या रहेको बैंकरले जनाएका छन् । बैंकका शाखा खोल्न सडक, विद्युत्, इन्टरनेटलगायत पूर्वाधार चाहिन्छ । सयभन्दा बढी स्थानीय तहमा आवश्यक पूर्वाधार छैनन् । सबै तहमा सुरक्षा निकायको उपस्थितिसमेत भइसकेको छैन । बैंकहरूलाई तत्काल जनशक्तिको पनि अभाव रहेको नेपाल बैंकर एसोसिएसनका अध्यक्ष अनिलकेशरी शाहले बताए । ‘पूर्वाधार, सुरक्षा र जनशक्ति अभावका कारण सबै तहमा बैंकका शाखा खोल्न गाह्रो छ,’ उनले भने, ‘सरकार र राष्ट्र बैंकको पूर्ण सहयोग र अनुदानविना त्यस्ता ठाउँमा शाखा पुर्‍याउन सकिँदैन ।’
जसरी पनि बैंकका शाखा पुर्‍याउनैपर्छ नारायणप्रसाद पौड्याल प्रवक्ता, नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकले बैंकरहरूलाई कुन–कुन स्थानीय तहमा कुन–कुन बैंकका शाखा खोल्ने भन्नेबारे सहमति गरेर प्रस्ताव गर्न निर्देशन दिएको थियो । त्यसअनुसार उनीहरूले २५० स्थानीय तहमा शाखा खोल्नप्रस्ताव गरेका छन् । तर, १६१ तहमा जानलाई उनीहरू अझै तयार छैनन् । राष्ट्र बैंकले स्थानीय तहमा बैंकका शाखा पुर्‍याउन मौद्रिक नीतिमार्फत सुविधा तथा सहुलियत घोषणा गरेको छ । अब थप छलफल गरेर सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याइने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया