विदेशी ‘डिग्री–होल्डर’ विवेकको दावी :कम खर्चमा देश घुम्न सक्ने बनाउँछु

काठमाडौं १६ असार । भविष्य बनाउन विदेशिने युवाहरूको जमात यति ठूलो छ कि कोही विदेश त्यागेर नेपाल फर्कियोभन्दा अचम्म मान्नुपर्ने अवस्था छ । तर, विदेशमा हुर्केबढे पनि करियर बनाउन नेपाललाई चुन्ने युवाहरूको ससानो जमात पनि नेपालमा तयार भइसकेको छ । विवेक प्याकुरेल यहि सानो जमातमा पर्छन् जो, सानैदेखि विदेशमा रहे । विदेशी डिग्री लिएर भविष्य खोज्दै नेपाल फर्किए । विदेशमा भन्दा नेपालमै ‘संभावना’ देखेर फर्किएका विवेकको उमेर जम्मा २८ वर्षको छ र उनले यतिबेला पाँच वटा चेन होटल विस्तार गरिसकेका छन् । उनले ‘नाना’ ब्रान्डमा बजेट चेन होटलको रूपमा पाटन, पोखरा र चितवनमा होटल विस्तार गरिसकेका छन् । यस्तै नवलपरासीमा प्रिमियम जंगल रिसोर्ट खोलेको पनि वर्ष दिन पुगिसकेको छ ।

जागिरको क्रममा मलेसियामा रहेका बुबासँग चार कक्षा पढ्दै गर्दा गएका विवेकले १२ कक्षासम्म मलेसियामै पढे । थप अध्ययनका लागि अस्ट्रेलिया पुगेका विवेकले युनिभर्सिटी अफ साउथ अस्ट्रेलियामा स्नातक र युनिभर्सिटी अफ मेल्भर्नबाट इन्टरनेसनल रिलेसनमा स्नातकोत्तर डिग्री लिए । विदेशमा नेपाली भनेर चिनाउन खोज्ने तर नेपाली राम्रोसँग बोल्नसमेत नआउँदा नेपाल आउन मन लागेको उनी सुनाउँछन् ।  नेपाल आएपछि उनले एक वर्ष ‘नेपा स्कूल अफ सोसल साइन्स एन्ड ह्युमनिटिज’ कलेजमा पढाए । आइएनजिओमा काम गर्ने अफरसमेत उनले स्वीकारेनन् । किन त रु उनी भन्छन्, ‘मेरो आँखा त होटल नानामाथि थियो ।’ ठमेलमा सन् १९९२ मा खोलिएको होटल नाना विवेकको पारिवारिक होटल थियो । उनले पारिवारिक होटललाई नयाँ अवधारणाबाट विस्तार गर्न चाहे । ‘मलाई त केही इन्नोभेटिभ काम गर्न मन थियो,’ उनले सुनाए । विवेकको ‘प्यासन’ होटल बिजनेसमा देखियो ।

त्यसपछि उनी नेपालको विभिन्न ठाउँ घुम्न निस्किए । यसरी घुम्दा कम बजेट भएकाहरूलाई लक्षित सस्तो, सुरक्षित र सुविधायुक्त होटल नभएको उनलाई महसुस भएको रहेछ ।  कि निकै महँगा होटल भेटिने कि त सस्तो भनिए पनि सुविधा नभएका होटलहरूको अनुभव सँगालेका विवेकले आफ्नै होटलको चेन बिस्तार गरेर बजेट होटलका रूपमा विकास गर्ने कन्सेप्ट बनाएको उनले सुनाए । दुई वर्षअघि ठमेलको २४ रुमको नाना होटलकै चेनको रूपमा सौराहा, पोखरा र पाटनमा उनले ब्रान्ड विस्तार गरे । बजेट होटलसँगै उनले नवलपरासीमा प्रिमियम जंगल रिसोर्टको पनि सुरुआत गरे ।  नवलपरासीको नारायणीको किनारामा ७० रोपनीमा फैलिएको नाना होलिडे होम प्रिमियम होटल हो । अमलटारीमा रहेको होलिडे होममा ११ वटा झुपडी घर बनेका छन् तर लक्जरी स्टाइलमा । होलिडे होमका प्रत्येक झुपडीमा दुई वटा बेडरुम, एउटा बाथरुम, एउटा बैठक कोठा, किचन र एउटा रूफ टप मचान रहेको छ ।

होलिडे होमले हात्ती सफारी, जिप सफारी, जंगल सफारी, थारू कल्चर, थारू गाउँ अवलोकन, फिसिङ, क्याम्प फायरका साथै एकदिन लुम्बिनी घुम्नेसम्मका प्याकेज सुविधा दिँदै आएको छ ।यहाँ एक सय जना अट्ने कन्फरेन्स हलको पनि सुविधा रहेको छ । प्याकुरेलले सरकारी तथा गैरसरकारी संघ संस्थालाई लक्षित गरेर होटल तथा हलको व्यवस्थापन गरेका छन् । प्रिमियम होटल विदेशी तथा स्वदेशी पर्यटक लक्षित छ । होटलको शुल्क २ देखि ५ हजारसम्म तय गरिएको छ ।
पोखरामा एक अपार्टमेन्टसहित ८ वटा कोठा भएको होटल खुलेको ६ महिना मात्र भयो । पाटनमा नेवारी संस्कृति झल्कने गरी एक अपार्टमेन्टसहित १६ कोठाको नाना याला चेन खोलिएको छ । ‘नाना’ बजेट चेनअन्तर्गतका सबै होटलमा जम्मा ९ सयदेखि १ हजार ८ सय ५० रूपैयाँसम्ममा आन्तरिक तथा बाह्य पर्यटक सबैले बस्न पाउँछन् । ‘एउटी नेपाली चेली एक्लै नेपाल घुम्न चाहिन् भने सुरक्षित रूपमा यात्रा गर्नसक्ने र निर्धक्क बस्न सक्ने होटलहरू बनाउन चाहन्छु’ विवेक लामो दुरीको सपना देखिरहेका छन् ।

उनी सुरक्षित पर्यटकीय वातावरणसहितको होटल सञ्जाल फैलाउन चाहन्छन् । होटलमा हुने असुरक्षाप्रति उनी सजग देखिन्छन् । कसैले आफ्नो परिवार लिएर घुम्न चाहेमा होटल नानाबाट ट्राभलसहित अन्य सुबिधा पाउने उनले जानकारी दिए । बजेट होटल भनिए पनि सुविधामा कुनै पनि कटौती नगरिएको उनी बताउँछन् । पाँच वर्षमा काठमाडौं वरिपरिका पर्यटकीय क्षेत्रहरूमा बजेट होटलको बिस्तार विवेकको अबको योजनाभित्र पर्छ । नगरकोट धुलिखेलजस्ता काठमाडौंबाट नजिकका पर्यटकीय आकर्षणहरूमा र पूर्वी नेपालका विभिन्न क्षेत्रमा चेन बिस्तार गर्नु नै उनको मुख्य योजना हो । उनी आन्तरिक पर्यटकलाई ‘टार्गेट’ गर्छन् । ठूला भनिएका होटलहरूले दिने सुविधा नै बजेट होटलले दिनसके मध्यम वर्गहरू आफ्नो नियमित ग्राहक हुन सक्ने उनको भनाइ छ । त्यसमाथि स्थानीय संस्कृति प्रवद्र्धन गर्ने किसिमको ‘एम्बियन्स’ तयार पार्नु पनि उनको ‘इन्नोभेटिभ आइडिया’ हो ।

प्रतिक्रिया