मतदातालाई सलाम !

असारे झरी, टन्टलापुर घाम र खेतीको चापाचाप भए पनि मतदानमा देखिएको उत्साहले लोकतन्त्रप्रति नेपाली जनताको प्रतिबद्धता पुनः पुष्टि गरेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन हुुँदा एउटा माओवादी समूह नेपाल कम्युनिस्ट पार्टी मात्र विरोधमा थियो । दोस्रो चरणको निर्वाचन बिथोल्न माओवादीको त्यही समूहका साथै राष्ट्रिय जनता पार्टी पनि लागेको थियो । तर, प्रदेश नम्बर ३, ४ र ६ जनताले पहिलो चरणमा देखाएजस्तै उत्साह दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशमा पनि देखियो । लगभग पहिलो चरणामा जत्तिकै ७१ प्रतिशतको हाराहारीमा मत खसेको अनुमान छ । हुनत, केही अप्रिय घटना पनि भए । विस्फोटक पदार्थ प्रयोग गरेर मतदातालाई तर्साउने प्रयासमा लागेका एक जनाको त आफैँले बोकेको बम विस्फोट भएर मृत्यु पनि भयो । सोलुखुम्बुको एउटा वडामा उमेदवारी नै परेन । यति सबै भएर पनि छिनमै चर्को घाम र छिनमै झम्के झरी हुँदा पनि मतदाताको उत्साह शिथिल भएन । हिँडडुल गर्न नसक्नेहरूले बोकिएरै गएर पनि मतदान गरिछाडे । यसैले ‘कुनै पनि हालतमा चुनाव हुन दिन्नाैँ भन्ने राजपाका नेताहरूले पनि ‘निर्वाचन सकियोस् आन्दोलन गर्दै गरौँला’ भन्नुपरेको होला । यति मात्र होइन अब त नेपालीलाई लोकतन्त्रको अर्ती दिने विकसित मुलुकका दूतहरूको पनि चित्त बुझ्नुपर्ने हो ।

अब प्रदेश नम्बर २ का ८ जिल्लामा मात्र स्थानीय तहको निर्वाचन हुन बा“की छ । पक्कै पनि त्यहाँ अब घोषित मितिमा निर्वाचन हुने नै छ । पहिलो र दोस्रो चरणमा नेपाली मतदाताले देखाएको उत्साहजनक सहभागिता हेर्दा स्थानीय तहको तेस्रो चरणको निर्वाचन पनि निर्वाध हुनसक्ने देखिन्छ । यसबीच सरकारसँग केही समय पनि छ व्यवस्थापनका लागि । शान्तिसुरक्षाका विषयमा पनि सरकारले यस अवधिमा गर्ने कामले आगामी निर्वाचनहरूलाई प्रभावित गर्नेछ । एकातिर सार्वजनिक स्थान र व्यक्तिको घरघरमा बम राखेर र विस्फोट गराएर आतंक मच्चाउने समूह देखापरेको छ भने अर्कातिर आफ्ना कार्यकर्तालाई शान्तिपूर्ण विरोध प्रदर्शन गर्दा पनि सार्वजनिक अपराधमा मुद्दा चलाइएको गुनासो राजपाका नेताहरूले गरेका छन् । समाजमा अराजकता मच्चाउनेमाथि कानुनबमोजिम कारबाही गर्न सरकार हिचकिचाउनु हुँदैन तर सरकारले पनि कानुनको दुरुपयोग गर्नु हुँदैन ।
अब सरकारको ध्यान प्रदेश नम्बर २ को निर्वाचनमा केन्द्रित हुनुपर्छ । स्थानीय निकायको तेस्रो चरणको निर्वाचनलगत्तै सरकारले प्रदेश र संघको निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्छ । दुवै तहको निर्वाचन एकै दिन र एकै चरणमा गर्न सके साधन, स्रोत र समयको वचत हुनेछ । सरकारले त्यस्तो सम्भावनामा पनि व्यापक विमर्श गरोस् । स्थानीय निर्वाचनको दोस्रो चरणमा पनि मतदाताले आफूलाई अब्बल सिद्ध गरेका छन् । लोकतान्त्रिक अभ्यासप्रतिको नेपाली मतदाताको प्रतिबद्धता संसारका कुनै भेगका जनताको भन्दा कमजोर छैन ।

प्रतिक्रिया